महायज्ञमा दानदाता बढ्दै

समाज

तुलसीपुर, २४ जेठ । चितवनको देवघाटमा अष्टधातु शिवमूर्ति निर्माण सहयोगार्थ तुलसीपुरमा जारी महायज्ञमा बिहीबारसम्म नगद र जिन्सी गरी करिब २० लाख संकलन भएको छ । महायज्ञमा बिहीबारसम्म नगद ५४ हजार ५ सय ४० र जग्गा, धातु गरेर करिब २० लाख बराबरको दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष प्रमोद अधिकारीले बताए ।
महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको उनले बताए । ‘महायज्ञमा नगद दान गर्ने दाताहरु भन्दा पनि जिन्सी सामान दिने दाताहरु बढी छन्, अष्टधातु निर्माणका लागि धातुहरु ल्याउने दाताहरु धेरै हुनुहुन्छ’ उनले भने । देवघाटमा निर्माण हुन थालेको शिवमूर्तिले पनि राष्ट्रको परिचय झल्काउने समेत बताए ।
देवघाट सबैको धरोहर भएको भन्दै महायज्ञबाट अपेक्षित रकम संकलन हुने विश्वास रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक ललितबहादुर वलीले बताए ।
‘हामी सबैको देवघाट, त्यसैमा निर्माण हुन लागेको अष्टधातु शिवमूर्तिले पहिचान दिनेछ’ उनले भने । अरनिको मैदानमा सञ्चालन भइराखेको महायज्ञमा ३ करोड बेलपत्र, पूजाअर्चना, रुद्री, ग्रहशान्ति, चौरासीपूजा, व्रतवन्ध, लक्ष्यवर्तिकालगायतका कार्य हुने मुल आयोजकले जनाएको छ ।

शिवालय मन्दिर निर्माणार्थ महायज्ञमा १० लाख

यसैबीच नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर–४ मजुवास्थित ठूलाखालीमा जारी महायज्ञमा करिब लाख बढी दान संकलन भएको छ ।
महायज्ञमा बिहीबारसम्म नगद र कलशबाट गरी ९ लाख ५६ हजार ९७ रुपैयाँ दान संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक सुदिप खड्काले जानकारी दिएका छन् ।
महायज्ञमा बिहीबारमात्रै ३ लाख २१ हजार ९७ रुपैयाँ संकलन भएको उनले बताए । शनिबारदेखि शुरु भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्ती निवासी धनबहादुर वलीले १ लाख ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै तुलसीपुर–४ मजुवाका चेतराज सिंह ठकुरीले २५ हजार ५ सय २५, सोही ठाउँकै गणेशबहादुर वलीले २३ हजार १ सय ५ रुपैयाँ दान गरेका छन् ।
धर्म संरक्षण एवं नेपालकै नमुना शिवालय मन्दिर निर्माणार्थ तथा मन्दिर स्तरोन्नतिका लागि आर्थिक संकलनार्थ महायज्ञको आयोजना गरीएको महायज्ञ मुल आयोजक समितिका संयोजक खड्काले बताए । शनिबारदेखि शुरु भएको महायज्ञ जेठ २६ गते आइतबारसम्म सञ्चालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *