सन्दर्भः विश्व श्रमिक दिवस …
तुलसीपुुर, १८ बैशाख । मंगलबार दिउँसो करिब १ बजेतिर टन्टलापुर घाममा तुलसीपुर उपमहानगरपालिका–१२ रझेनीकी २८ वर्षिय आशा चौधरी तुलसीपुरमा घर बनाउने काममा पुरुषसँगै काम गर्दै थिइन् ।
घर बनाउन लागि २÷३ जना पुरुषसँग उनी जस्तै अरु महिलाले सहयोगीको रुपमा काम गर्दै आएका छन् । बालुवा र सिमेन्ट घोल्ने, मसला बनाउने काम गर्दै आएकी आशाले दैनिक ५ सय कमाउँछिन् तर उनी जस्तै काम गर्ने पुरुषले भने ६ सय दैनिकमा कमाउने गरेका छन् ।
‘मिस्त्री कामबाहेक सबै काम गर्छु मसँगै म जस्तै समान काम गर्ने पुरुषले ६ सय कमाउनुहुन्छ तर मैले ज्याला महिला भएकै कारण दैनिक १ सय रुपैयाँ कम हुने गरेको छ’ उनले भनिन्– महिलाले काम गरेपनि विश्वास गर्ने गरिँदैन्, पुरुषले भने कम काम गरेपनि ज्याला बढी नै हुने गरेको छ ।
आशासँगै काम गर्ने तुलसीपुर–१२ कै २८ वर्षिय सीता चौधरीको पनि समस्या उस्तै छ । सीताले पनि मिस्त्री बाहेक अरु काम गर्छिन् । सीतासँगै काम गर्ने पुरुषले पनि उही काम गर्छन् । सीताले पुरुषसँगै पुरुषजस्तै समान काम गरेपनि ज्याला भने समान पाउन सकेकी छैनन् ।
उनी भन्छिन् ‘मिस्त्री काम गर्ने पुरुष बराबर दैनिक ज्याला पाउनुपर्छ भनेका छैनौँ तर अरु काम गर्ने अर्थात मेरो जस्तै काम गर्ने पुरुषको ज्याला र मेरो ज्याला किन फरक छ ? महिला भएकै कारण मैले पनि ज्याला कम पाउने गरेको छुु, महिला होस या पुरुष समान काम गर्नेको समान ज्याला हुनुपर्ने होइन र ? कि मैले गल्ती बोले ।’
सरकारले पछिल्लो समय श्रमिकको हकहितका लागि सामाजिक सुरक्षा कोषको योजना अघि सारेको छ तर व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।
समान कामको असमान ज्याला पाउने आशा र सीता त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । महिला पुरुष समान भनेर जति भाषणमा गरिन्छ त्यति व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन् ।
एक त काम गर्ने श्रमिककोे न्यूनतम ज्याला कायम हुन सकिरहेको छैन्, अर्कोतर्फ महिला पुरुषमा समान काममा पनि समान ज्याला कायम हुन सकिरहेको छैन् ।
ज्यालामा असमान, कम विश्वासलगायतका समस्या महिला श्रमिकले भोग्नु परिरहेको छ । श्रमिकको हकहितका लागि विभिन्न संगठन निर्माण भएका छन् तर ति संघ, संगठन राजनीति गर्ने थलोको रुपमा विकास हुने गरेका छन् ।
पुरुषको तुलनामा महिला पनि पछिल्लो समयमा विभिन्न श्रममा जोडिन थालेका छन् तर पनि महिला पुरुषबीचको विभेद कायमै हुँदा पुरुष सरह समान कामको समान ज्याला पाउन नसकेको महिला अधिकारकर्मी शुष्मा गिरीले बताईन् । ‘अब महिलाले पनि पुरुष बराबर ज्याला पाउनुपर्छ’ उनले भनिन् ।
थाहा छैन् दिवस
तुलसीपुर उपमहानगरपालिका–६ गाईडरका चित्रबहादुर बस्नेतलाई श्रमिक दिवस भनेको के हो केही थाहा छैन् । उमेरले सात दशक लाग्दै गरेका बस्नेतले लामो समय घर बनाउने काम गरिरहेका छन् तर श्रमिक दिवस कहिले आउँछ, कहिले जान्छ कुनै अत्तोपत्तो हुँदैन् ।
उनी भन्छन्– खै ठूलाबडाहरुले मनाउने तिहार होेला त्यो मलाई त कहिले थाहा पाको थिएन्, बाबुले भनेपछि थाहा पाए । टन्टलापुर घाममा पनि काममा व्यस्त रहेका बस्नेतले भने ‘हामीले ठूला–ठूला महल उठाउँछौँ तर हाम्रो जीवन उस्तै छ ।’
१६÷१७ वर्षदेखि काम गरिरहेको छु अबको करिब एक वर्षपछि वृद्धभत्ता खाने बेला हुँदैछ तर पनि निरन्तर श्रममै छु, बाध्यता छ बाबु नगरी हुँदैन् । यस्तै अर्का लालबहादुर चौधरी पनि उमेर पाँच दशक पूरा गरेका छन् ।
उनी पनि हामीले भेट्दा काममै थिए । उनले पनि श्रमिक दिवसको बारेमा आफूलाई केही थाहा नभएको बताए । ‘मलाई थाहा छैन् खै के हो श्रमिक दिवस, हामी त काम गर्ने मान्छे केही थाहा हुँदैन् बाबु ।
मानसिक समस्या बढी
वास्तविक मजदुरहरु भने पुरानै अवस्थामा गुज्रिरहेका छन् । न त उनीहरुको समस्याको पहिचान हुन सकेको छ, न त समाधान नै ।
दिनभर सिमेन्ट बालुवा,
माटो र ढुङ्गालगायत अन्य उपकरणहरुसँग जोडिएर काम गर्दा शारीरिक पीडासँगै मानसिक त्रास र भयरहित वातावरणमा काम गर्नुपर्ने बाध्यता श्रमिकहरुको छ ।
पारिवारिक र आर्थिक समस्याका कारण जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नेहरु अहिले पनि परम्परागत शैलीमा आफूहरुलाई जुगाड गरिरहेका छन् ।
काम लगाउने ठेकेदारहरुको डर क्रासमा काम गर्नुपर्ने, भनेको समयमा आफ्नो पारिश्रमिक नपाउने, स्वास्थ्यमा समस्या आई आराम गर्ने समय माग्दा कामबाट निकाल्नेजस्ता समस्या अहिले पनि श्रमिकको जस्ताको तस्तै छन् ।
चैत–बैशाखको चर्को घाममा दिनभर मरिमेटी काम गर्दासमेत कामको जस नपाउने गरेको महिला श्रमिक वसन्ता केसीको भनाइ छ । श्रम र ज्यालाकोे उचित सम्मान अहिले पनि श्रमिक समाजमा हुन नसकेको उनले बताईन् ।
‘काम गर्दा घरबाट फोन आयो र फोन उठायौँ भने साहुले गाली गर्छन्, उनले भनिन् ‘साहुको मोटरसाइकल बाहिर देखियो भने सबैले सास नफेरी काम गर्नुपर्छ, त्यहि पनि जस पाईदैन ।
बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म आराम खाना खाने समयभन्दा एकछिन पनि आराम गर्न नपाउने गरेको र श्रममै बढी मानसिक तनाव हुने गरेको उनले बताइन् ।
१७औँ शताब्दीमा मजदुरहरुको संघर्षले यो अधिकार प्राप्त गरेपछि सन् १८९० देखि मे १ मा श्रमिक दिवस मनाउन थालिएको हो । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईरहदा अझै पनि मजदुरका समस्या उस्तै छन् ।
श्रमिकको सहयोगले महल उठछन् तर श्रमिकहरुको जीवन उठ्न सकिरहेको छैन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन हुनुपर्ने भनिए पनि व्यवहारमा कार्यान्वयन हुन ज्यादै कठिन देखिएको छ ।
अधिकांश श्रमिकहरु श्रमिक दिवसको दिन पनि काम गर्न बाध्य छन् । श्रमिकहरुको न्यूनतम ज्याला सरकारले १३ हजार ४ सय ५० कायम गरेको छ तर कार्यान्वयनमा भने आउन सकिरहेको छैन् ।
रोजगारदाताहरु श्रमिकलाई सन्तुष्ट पार्न सकिरहेका छैनन् । सरकारले पछिल्लो समय श्रमिकको हकहितका लागि सामाजिक सुरक्षा कोषको योजना अघि सारेको छ तर व्यवहारमा कार्यान्वयन हुनेमा शंका छ ।