महङ्गी नियन्त्रण गर

सम्पादकीय

अहिले बजार महङ्गीले आक्रान्त भएको छ । बजारका सबै बस्तुमा अहिले मूल्यले आकास छोएको छ । नुनदेखि सुनसम्मको मुल्य अहिले दैनिक बढिरहेको छ । चाडपर्व नजिकिदै गर्दा अहिले बजारमा सबै चिजको मूल्य त्यतिकै मात्रामा बढेको छ ।
तर त्यसको नियमन र अनुगमनको कार्य भने भएको छैन । वर्षमा मौसमी रुपमा गरिने अनुगमनलाई कम्तिमा नियमित गर्न सकेमा बजारको भाउ स्थिर हुने र कालोबजारी कम हुने हुन्छ । त्यसतर्फ नियमन गर्ने निकाय गम्भीर भएर लाग्नुपर्छ ।
बजारलाई नियमित रुपमा गरिनुपर्ने अनुगमन चाडपर्व केन्द्रित मात्रै गरिनु हुँदैन । बजार अनुगमनलाई कम्तिमा महिनामा एकपटक मात्रै गर्न सक्ने हो भने बजारमा हुने कालोबजारी र विनाकारण मुल्य बढाउने व्यवसायीहरु कारवाहीको दायरामा आउने र बजारको मुल्य पनि नियन्त्रण हुने देखिन्छ ।
अनुकूल बनाएर गरिने अनुगमनको परिपाटीले उपभोक्ताको हितभन्दा पनि ब्यापारी र विक्रेताको हितमा बढी देखिन्छ । त्यो विगतका वर्षहरुमा देखिन्छ । त्यहि प्रवृत्ति यो वर्ष नियममन गर्ने निकायले देखाउनु हुँदैन ।
चाडपर्व नजिकिदै गर्दा एक÷दुई दिन अनुगमन गरे जस्तो गर्ने, त्यसको उपलब्धि केहि नदेखिने र कालोबजारीलाई केन्द्रित गर्ने व्यवसायीहरुलाई प्रोत्साहन पुग्ने कार्य गरिनु हुँदैन ।
त्यसले बजारलाई नियमन हैन नियन्त्रणभन्दा बाहिर जान सक्छ । तसर्थ बजार अनुगमन अनुकूलता मात्रै भन्दा पनि प्रतिकूल र आवश्यक समय–समयमा गर्नु उपयुक्त देखिन्छ । त्यसले मात्रै मूल्य नियन्त्रण गर्न सक्छ ।
विनाकारण दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिनु, चाडवर्प आइरहेका बेला त्योसँग जोडिएका वस्तुहरुको मूल्य तीन÷चार गुणा बढ्नुलाई स्थानीय सरकारले र सम्बधित निकायले ध्यान दिएर नियमन गर्नु आवश्यक छ ।
मूल्य वृद्धि भइरहेको खबर सार्वजनिक भइरहदा पनि त्यसमा सरकारी अनुगमन संयन्त्रको चासो र चिन्ता नदेखिनु राम्रो होइन । अनुगमन नहुँदा ब्यवसायीहरुले एकाएक मूल्य बढाएर बजारलाई जबरजस्ती महङ्गो बनाइरहेका छन् । यो तर्फ सबैको ध्यान जानुपर्छ ।
कालोबजारी गर्ने, नीतिभन्दा बाहिर गरेर कारोवार गर्ने, उपभोक्ता ठग्ने कोहिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ । दाङका बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्यात्तै बढाएका छन् । ब्यवसायीहरुले चाडपर्वको निहूमा उपभोक्ता ठगी गर्न सुरु साउनदेखि नै भएको छ ।
खुलेआम ब्यापारीहरुबाट विनाकारण मूल्य बढाउँदा र सिधा–सिधा उपभोक्ता ठगी गर्दा पनि नियमन गर्ने निकायसमेत मौन देखिनुले प्रोत्साहन गरेको देखिन्छ । मूल्य बढाएर कालोबजारी गर्नेलाई यो प्रोत्साहान हैन तत्काल कालोबजारी ऐन अनुसार कारवाही गर्नुपर्छ । मूल्य वृद्धि नियन्त्रण गरेर अनुगमन बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *