दाङ, ८ साउन । दाङका किसानहरु रासायनिक मल खोज्दै भैरहवासम्म पुग्न थालेका छन् । खेतीको समयमा दाङमा सहज रुपमा रासायनिक मल उपलब्ध नहुँदा मलको खोजीमा भैरहवासम्म पुग्ने गरेका छन् । खेतीपाती गर्ने समयमा मलको अभाव भएपछि किसानहरु मल पाउने आशामा भैरहवासम्म पुगेका हुन् ।
जिल्लाभित्र मलको अभाव भएपछि केही किसान भैरहवासम्म पुगेका हुन् । प्रदेशस्तरीय डिपो भैरहवामा मलका लागि पुगे पनि मल पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका–१२ का लिलबहादुर चौधरीले बताए ।
‘डिएपी मलको अभाव हुँदा भैरहवा पुगेको थिए तर भैरहवमा पनि मल पाउन सकिएन्’ उनले भने ‘जिल्लामा सहकारीले मल वितरण गरेपनि हामीहरुले मल पाउन सकेका छैनौँ ।’
यस्तै अर्का किसान तुलसीपुर–१३ का यामबहादुर रेउले पनि दाङमा मल पाउन नसकेपछि भैरहवा पुगेको बताए । ‘धानको बीउ रोप्ने भैसक्यो तर डिएपी मल पाउन सकेको छैनौँ, भैरहवा पुग्दा पनि मल पाइएन्’ उनले भने ‘सरकारले समयमै मल उपलब्ध नगराएपछि किसानले समस्या व्यहोर्नुपरेको छ ।’ साउन १५ लाग्दै गर्दा पनि मल अभावको समस्या समाधान हुन नसक्दा किसान चिन्तित बनेका छन् ।
‘सरकारले न मल दिन्छ न जल नै, किसान सधैँ विभिन्न समस्यामा छन्, कृषि उत्पादनदेखि बिक्री वितरणसम्म किसानले समस्या पाउने गरेका छौँ’ अर्का किसान रामबहादुर चौधरीले भने ‘सरकारले कृषि उत्पादन बढाउने लक्ष्य लिएपनि यि कुराहरुमा ध्यान नदिँदा सबैलाई घाटा हुने गरेको छ ।’
ढुवानी व्यवसायीको आन्दोलनका कारण मलको अभाव कारण देखाए पनि सरकारले बजेट निकासा ढिला र टेण्डरमा ढिलाई गरेका कारण मलको अभाव देखिएको हो ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले सरकारले जेठको अन्तिम सातामा मात्रै बजेट निकासा गरेर टेण्डर गरेका कारण मल अभाव देखिएको बताए ।
जिल्लामा अहिले मलको आवश्यक भएपनि अझै २/३ महिनापछि मात्रै मलको सहज हुने उनले बताए । ‘दाङमा युरिया मलभन्दा पनि डिएपी मलको अभाव देखिएको छ,यो तत्काल सहज बन्ने अवस्था देखिदैन्’ उनले भने ‘मलको आपूर्तिमा सरकारकै कमजोरी हो, समयमा नै रकम निकासा गरेको भए टेण्डर आह्वान पनि समयमै हुन्थ्यो तर अहिले त मंसिरसम्ममा मल आउने देखिन्छ ।’
देशभरका लागि चाहिने मल खरिद गर्ने अन्तर्राष्ट्रिय ग्लोबल कम्पनी ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल खरिद गर्ने गरेका छन् तर यसवर्ष ग्लोबल कम्पनीले मल खरिद नगरेको प्रमुख बस्नेतले बताए ।
‘७० प्रतिशत मल खरिद गर्ने कम्पनीले खरिद गरेन्, विगत २÷३ वर्षयता यस कम्पनीले खरिद गर्न छोडेको छ, बाँकी ३० प्रतिशत साल्ट्र टे«डिङले खरिद गरेको मल अहिले बजारमा बिक्री वितरण भइरहेको छ’ उनले भने ‘बजारमा साल्ट ट्रेडिङले खरिद गरेको मल छ , यसले माग अनुसारको मल आपूर्ति हुन सकेको छैन् ।
दाङका लागि आवश्यक १२ हजार मेट्रिक टन युरिया मल आएको छ भने डिएपी साढे तीन हजार मेट्रिक टन डिएपी मल बजारमा आएको छ । जिल्लामा युरिया मलको भन्दा डिएपि मलको अभाव बढी देखिएको छ ।
मल अहिले पनि प्रक्रियामै रहेको हुँदा मलको अभाव तत्कालै पूर्ति नहुने देखिन्छ । प्रक्रिया लामो समय हुने हुँदा अहिले यो वर्ष बजारमा पर्याप्त रुपमा मल पाइने छैन् । हिउँदसम्ममा पर्याप्त मल पाइने प्रमुख बस्नेतले बताए ।