मल अभावमा कांग्रेसको चासो

फिचर मुख्य खबर समाज

दाङ, ५ साउन । खेतीपाती गर्ने समयमा मलको अभाव भएपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले चासो देखाएको छ । किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले किसानका समस्यामा चासो देखाएको हो ।
कांग्रेसले मल आपूर्तिलाई सहज बनाउन माग गर्दै दाङका स्थानीय सरकारलाई आइतबार ज्ञापनपत्र समेत बुझाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ४ ले दाङमा खेती गर्ने समयमा किसानले मलको अभाव व्यहोर्नुपरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख माया आचार्यलाई ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएको हो  ।
ज्ञापनपत्रमा मलको सहज आपूर्ति नहुँदा किसानले धान रोप्न नपाएको भन्दै तत्काल समस्या समाधानका लागि ध्यान दिन आग्रह गरिएको छ । नेपाल कृषिप्रधान देश भएपनि किसानले सधैँ जल र मलको अभाव व्यहोर्नुपरेको भन्दै नेपाली कांग्रेसले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ का सभापति जगतबहादुर खड्काले बताए ।
‘किसानले न आफूले उत्पादन गरेका सामानको मूल्य पाउन सकेका छन्, न त उत्पादनका लागि चाहिने आवश्यक सामाग्री समयमै उपलब्ध हुन सकेको छ’ उनले भने ‘अब गाउँ–गाउँमा सरकार आउँदा पनि किसानले विभिन्न समयमा विभिन्न खालका समस्या भोग्नुपरेको छ, मलजस्तो संवेदनशील वस्तुमा सरकार गम्भीर बन्न सकेको छैन् ।’
कांग्रेसले नगर कार्यबाहक प्रमुख माया आचार्यलाई बुझाएको ज्ञापनपत्रमा मल अभावलगायतका किसानका समस्या तत्काल समाधान गर्न सरकारलाई ध्यानाकर्षण गरिएको छ ।
मलको आपूर्तिमा प्राथमिकतामा राखेर सरकारले काम नगरी आलटालमै बिताएको भन्दै ज्ञापनपत्रमा मलको दीर्घकालिन समस्या समाधान गर्नुपर्नेमा जोड दिएको सभापति खड्काले जानकारी दिए । त्यस अवसरमा नगरका कार्यबाहक प्रमुख आचार्यले किसानले समयमा मल पाउन नसक्नु सरकारको कमजोरी भएको स्विकार गरिन् ।
‘मल आपूर्तिका लागि सरकारले समयमा निर्णय गर्न नसक्दा किसानले अहिले समस्या भोग्नुपरेको छ, आगामी वर्ष यस्तो समस्या आउन दिने छैनौँ, अन्य भौतिक निर्माणलाई भन्दा पनि किसानका समस्यालाई प्राथमिकतामा राखेर सरकारले काम गर्नेछ’
उनले भनिन् ‘सरकारले कृषिबाटै समृद्धि चाहेको छ, अब अहिले किसानले खेती गर्ने समयमा मल पाउन सकेनन् भने त उत्पादनमा पक्कै पनि ह्रास आउनेछ, त्यसको असर किसानले मात्र नभई देशलाई नै समस्यामा पार्छ, त्यसैले कृषि उत्पादन वृद्धिका लागि सरकारले किसानका समस्या समाधान गर्नेछ, अहिलेको समस्यालाई पनि हामी सम्बोधन गर्ने छौँ ।’
यसैबीच नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पनि देउखुरीका चारवटै स्थानीय तहमा रासायनिक मल किसानलाई सहजरुपले उपलब्ध गराउन ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको नेतृत्वमा गढवा गाउँपालिका, लमही नगरपालिकामा पूर्व महासमिति सदस्य मधु न्यौपाने, राजपुर गाउँपालिकामा साविक बेला गाविसका इकाई सभापति शरद कुमार बुढाथोकी, राप्ती गाउँपालिकामा दुर्योधन पाण्डेको नेतृत्वमा चारवटै स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाईएको हो ।
ज्ञापनपत्र बुझ्दै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले किसानलाई मध्यनजर गर्दै तत्काल भन्दा तत्काल रासायनिक मल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । खेती गर्ने समयमा किसानलाई मल उपलब्ध गराउन नसक्नु दुखद् भएको भन्दै जति सक्यो छिटो यो समस्या हल गर्ने अध्यक्ष केसीले बताए ।
त्यस्तै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ज्ञापनपत्र बुझ्दै आफू पनि किसानकै छोरा भएकोले यो समस्या राम्ररी बुझेको बताए । नचाहेर पनि किसानलाई समयमा रासायनिक मल उपलब्ध गर्न नसक्दा आफू किसानको नजरमा नराम्रो भएको बताए । अध्यक्ष यादवले किसान दाजुभाइलाई केही दिन धैर्य गर्न पनि आग्रह गरे ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरु कृषकले मल नपाउँदा चिन्तित रहेको र आवश्यकता अनुसार रासायनिक मलको उपलब्धताका लागि पहल गरिरहेको बताए ।
लमही नगरपालिकामा बुझाईको ज्ञापनपत्रमा नगरपालिकाबाट दिईने सेवा प्रभावकारी नभएको, बजेट फ्रिज भएको सम्बन्धमा, मुआब्जा वितरणमा विभेद गरेको, नगरभित्रका सडक मर्मत नगरेको, लमही अस्पताल अस्तव्यस्त हुनु, डुबान क्षेत्रमा परिपक्क काम नगरेको, शिक्षा क्षेत्रमा चरम लापरबाही गरेको र भ्रष्टाचार बढ्दै जाँदा नियमन गर्न नसक्नु जस्ता बिषय रहेका छन् ।
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले पनि युरिया मलको अभाव नभएको तर डिएपी मल भने देशब्यापी रुपमै समस्या भएको बताए ।
बजारमा रासायनिक मलको अभाव भएको भन्दै हल्ला फिजाउने र मल हुँदाहँुदै पनि कालो बजारी गर्नेलाई कानुनी कारबाही गर्ने समेत प्रमुख केसीले बताए ।
लमही क्षेत्रमा युरिया मल प्रशस्तै छ तर डिएपीको अभाव भएको छ तर किसानलाई म केहिदिन पर्खिन आग्रह गर्दछु केसीले भने । आवश्यकता अनुसार कृषकले रासायनिक मल पाउन नसक्दा उत्पादनमा कमी आउने देखिएकोले स्थानीय तहको माध्यमबाट नेपाल सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाईएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *