मर्ने कसैलाई रहर हुँदैन …

विचार

मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन,
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन …
वरिष्ठ गजलकार डा. कृष्णहरि बरालद्वारा रचित एवम् निकै नै चर्चित मनछुने साङ्गीतिक गजल हो यो । यसरी साहित्यसर्जक बरालले रचना गरे तापनि यतिबेला धेरैका कोमल हृदयमा मर्मस्पर्शी अमिट छाप बनेर बस्न सकेको छ र त चर्चाको शिखरमा चढेको छ यो साङ्गीतिक भावना । हुन त रचना जसले रचे पनि र जसले गाय पनि सबै मानवको जीवनसँग जोडिएको हुन्छ र त सबैले आत्मासात गर्छन् यस्ता मर्मस्पर्शी साझा शाब्दिक भावनालाई । किनकि मान्छे जन्मियो एक दिन अवश्यमेव मृत्युवरण गर्नैपर्छ । तर थाहा छैन कि त्यो मृत्यु कुनबेला, कसरी र कहाँ हुने हो ? भनाइ छ भाविनीले लेखेको दिन यो संसारलाई छोडेर जानै पर्छ । तर यसरी भाविनीले लेखेको न त कसैले देखेका छन् न त थाहा नै पाएका छन् । तर साँच्चै यसरी लेखिन्छ या लेखिदैन त्यो कुरा पनि त प्रमाणितरूपमा कहीँ कतै देखिदैन पनि । तर पनि धेरैलाई यो कुरा भने विश्वास छकि जन्मेपछि एकदिन अवश्यमेव मर्नैपर्छ । त्यसैले पनि त यो भनाई शाश्वत सत्य सावित भएको छ । जीवनको व्याख्या एवम् विश्लेषण गर्दा यहाँ दुईवटा विषयहरू देखापर्छन् ‘एउटा निश्चित र अर्काे अनिश्चित ।’ निश्चित यो मानेमा छ कि मर्नु अवश्य छ भने अनिश्चत यो मानेमा छ मृत्यु कुनबेला, कहाँ र कसरी हुन्छ ? मिति पुगेको दिन मृत्यु नजिक आयो भने कालको नजरमा कुनै पनि मानिस ठूलो सानो, धनी गरिब, उमेर अवस्था केही पनि छुटिदैन । अर्थात कालको गति र नियतीको भोगाईलाई कसैले पनि रोक्न सक्दैन । त्यसैले यो कुरा कसैलाई पनि थाहा हुँदैैन । वास्तवमा बाँच्ने रहर त जीवित प्राणी सबैलाई हुन्छ नै । बरु मर्ने रहर भने खै कसलाई पो हुन्छ होला र ? तर खाली केही अपवाद बाहेक । किनकि नमरेको कुनै समय अर्थात् प्रहर नै छैन । बाँच्नका लागि भागेर टाढा टाढा गाउँ सहर जहाँ गए पनि नमर्ने कुनै ठाउँ नै छैन । त्यही भएर पनि त वरिष्ठ गजलकार बरालजीको यो गजललाई यहाँ प्रासाँगिकरूपमा गाँस्न खोजिएको हो । हुन त यहाँ यो गजलको चर्चा परिचर्चा गर्नुभन्दा पनि जीवन प्रसँगलाई जोड्न खोजिएको मात्रै हो ।
निकै लामो चाहना बोकेको यो छोटो जिन्दगी कतिखेर, कहाँनेर र कसरी ढल्ने हो खै यो कुराको कसलाई पो थाहा छ र ? उमेर अवस्था पुगेर अवसान हुनेकुरा त धेरैको नजरमा सहज पनि ठहर्ला तथापि कल्कलाउँदो उमेरमै अनिश्चित एवम् आकस्मिकरूपमा भएको अनन्तयात्राले भने बाँचेका परिवारलाई निकै पीडाबोध गराउँदो रहेछ । चाहे पाको उमेरका अभिभावक गुमाउँदा होस्, चाहे वयस्क एवम् युवावस्थाका आफन्त गुमाउँदा होस्, चाहे किशोर किशोरी तथा बालअवस्थाको अवसान नै किन नहोस् जो भए पनि परिवारका सदस्य वा आफन्तमाथि मृत्युपश्चात् बाँचेकालाई बज्रप्रहार झैँ पीडा हुनु स्वभाविकै हो । जुनकुरा न त यहाँ शब्दमा प्रकट गर्न सकिन्छ, न त कुनै भावमा व्यक्त गर्न नै । जसरी प्रश्रव वेदनाको भोगाई केवल ती आमालाई मात्र हुन्छ र अरुलाई हुनै सक्दैन । त्यसैगरी आफन्त गुमाउँदाको कारुणिक पीडाबोध केवल परिवारका सदस्य वा आफन्तलाई मात्रै हुन्छ । अरुले त केवल दुईथोपा आँसुले मात्र साथ दिने न हो । त्यसैले अरुलाई दुःख पर्दा सम्झाउने मानिस आफैमा यस्तो दुःखद घटना घट्दा स्वयं सम्हालिन नसक्ने अवस्था पनि त आउँछ । यो कुनै अनौठो नभएर कोमय मानवीय समवेदनाको वास्तविक पराकाष्ठा हो । अझ यसमा पनि परिवारको कुनै होनहार सदस्यको आकस्मिक अवसानले त झन् कारुणिक मात्र नभएर कोमल मानवहृदयलाई छिया–छिया पार्दाेरहेछ । पाको उमेरका, दीर्घरोगी, अपाङ्गता भएका, बिरामी अवस्थामा औषधोपचार गर्दागर्दै कसैको मृत्यु हुँदाको अवस्थामा त मानव वेदना थामिनसक्नु हुन्छ भने झन् आकस्मिकरूपमा भएको कुनै भयावह दुर्घटानाले मानवहृदयमा कत्रो बज्रपात हुन्छ होला ? यो अवस्था त केवल भोग्नेलाई मात्र अनुभूत हुने कुरा हो । आजकल यहाँ दिनहुँ हुने सडक दुर्घटनाले यस्तै कहालीलाग्दा अवस्थाको श्रृङ्खला उत्पन्न गरेको छ । हामी सधैँ देख्छौँ, सुन्छौँ कहीँ न कहीँ यस्ता दुर्घटनाहरू यत्रतत्र भईरहेका हुन्छन् । जुन घटनाले आफन्तलाई मात्रै त के कुरा ? देख्ने, सुन्ने जोसुकैको हृदयलाई समेत घायल बनाईरहेको हुन्छ । यी घटनामा परी मृत्युबरण गर्दाका चित्कार एवम् क्रन्दनहरू सिधै ठोकिन्छन् हरेक कोमल हृदयका मानसपटमा । साथै मुर्छित अवस्थाका अर्थात शोकमा डुबेका आफन्तजनहरूको आर्तनादपूर्ण पीडाभाव देख्नुपर्दा र सुन्नुपर्दा त्यतिबेला कसको मुटु ढुंगा झैँ कठोर होला र कठै ! जो जसलाई पनि असह्य भएर कारुणिक भाव पग्लिन्छ । तर पनि हुनुहुनामी भन्दै एकले अर्कालाई सम्झाउँदै अनि आपसमा सम्हालिँदै मुटु गाँठो पारी पारी बाँच्न विवस हुनुपर्छ । वास्तवमा हामी अधिकांश मानवमा एउटा कमजोरीपन भनौँ या विशेषता नै भनौँ त्यो सदैव प्रकट भैरहन्छ । त्यो के भने कहीँ कतै दुःखद दुर्घटना भएको देखिदा वा त्यो कुरा समाचारमा सुनिदा भने ‘ओहो ! हाम्रा कोही आफन्त परेकी हँ ?’ भनेर आँखा, कान ठाडा–ठाडा गराउने र यदि आफन्त कोही रहेनछन् भने ‘ए अरु नै रहेछन् है’ भनेर कुनै प्रवाह नगर्ने अर्थात त्यसलाई त्यति गम्भीरतापूर्वक लिन नसक्ने जुन एउटा संकीर्णपन छ यसलाई मानवीय संवेदनाभित्र किन आत्मसात गर्न सक्दैनौँ ? वास्तवमा जो भए पनि त आफ्नै मान्छे सरह नै हो भन्ने कुरा किन बुझ्न सक्दैनौँ ? किनकि कुनै दिन आफू पनि या आफ्नो मान्छे पनि त यस्तै कहालीलाग्दो अवस्थामा पर्न सक्छ । हो, त्यसैले त मानवीय सेवा सदैव अपरिहार्य देखिन्छ ।
वास्तवमा अनेत्र घटना घट्दा हामीले आफूलाई ठिक अवस्थामा रहेको ठान्छौँँ । अरुहरु जीर्णरोगी बिरामी भएको देख्दा आफूलाई एकदम स्वस्थ भएको ठान्छौँ । अरुको मृत्यु अर्थात् अन्त्येष्टी हुँदा आफूलाई जीवित भएको कुरामा गौरब गर्छौँ । साँच्चै नै गम्भीरतापूर्वक सोच्ने नै हो भने हामी त्यतिबेला आफू पनि एक किसिमले मरिरहेका हुन्छौँ । किनकि आखिर हामी बाँचेका भनिनेहरु पनि त मृत्युको नजिक छौँ है भनेर खै किन आत्मसात गर्न सक्दैनौँ कुन्नि ? यदि यो कुरा त्यतिबेला नै आत्मसात गर्ने हो भने हरेक घटना दुर्घटनाहरूबाट बच्न केही हदसम्म होसियार भई बच्न सकिन्थ्यो होला ।

अरुको मृत्यु अर्थात् अन्त्येष्टी हुँदा आफूलाई जीवित भएको कुरामा गौरब गर्छौँ । साँच्चै नै गम्भीरतापूर्वक सोच्ने नै हो भने हामी त्यतिबेला आफू पनि एक किसिमले मरिरहेका हुन्छौँ । किनकि आखिर हामी बाँचेका भनिनेहरु पनि त मृत्युको नजिक छौँ है भनेर खै किन आत्मसात गर्न सक्दैनौँ कुन्नि ? यदि यो कुरा त्यतिबेला नै आत्मसात गर्ने हो भने हरेक घटना दुर्घटनाहरूबाट बच्न केही हदसम्म होसियार भई बच्न सकिन्थ्यो होला ।

यसैगरी यही कुरालाई मनन् गर्नसक्ने हो भने साना–साना कुराहरुमा पनि मनमुटावहरू हुने त थिएनन् होला । अर्काको प्रगतिमा कुनै छटपटी, इष्र्या एवं डाहा पनि त हुने थिएन होला । निकै नै रिस उठेको बेला अरुलाई पख, देख्लास् त नि भनेर औँला ठड्याउनु पर्ने पनि थिएन । यति मात्रै होइन कि हत्या, हिंसा, बलत्कार, चोरी, डकैती, तस्करी, भ्रष्टाचार, अन्याय, अत्याचार, आपसी खिचातानी आदि जस्ता कुकृत्यहरु पनि त हुने थिएनन् । त्यसैले मानवीय दृष्टिकोणले यी कुरालाई आत्मसात गर्नसके सबै मानिस आदर्श बन्थे र सबै समाज स्वर्ग समान हुन्थे होला । तर हामी यति सुन्दर एवम् रमणीय प्रकृतिमा रम्नुको साटो भुलभुलैया भूमरीमा रुमल्लीरहेका छौँ । एउटा महान भनाइ छ मानिस चिन्तनशील भईरहोस् तर चिन्तामग्न नहोस् । मानिस व्यस्त होस् तर अस्तव्यस्त नहोस् र मानिसको सदा भेटघाट भईरहोस् तर घाटभेट भने नहोस् भनिन्छ । तथापि यो त एउटा कुशल कामना मात्रै हो । किनकि हुनुहुनामी आखिर बाध्यतावस भोग्नै पर्ने हुन्छ ।
आज कैयौँ सन्ततिका बृद्घ बुवा आमाहरु परिवारको सेवाबाट बन्चित छन् । सेवाबाट बन्चित मात्रै होइन कि उनीहरुबाट अपहेलित एवम् तिरस्कृत छन् । आफ्नो भविष्यका सपनारुपि ती सन्तान भनाउँदाबाट सताइएका कहालीलाग्दा अवस्थाहरु यत्रतत्र भेटिन्छन् । यतिबेला यदि कसैले तिनै बृद्घबृद्घाहरुलाई ‘तपाईँहरुको अझै पनि केही वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने ईच्छा छकि, अब त जानै पाए पनि हुन्थ्यो भन्ने छ ?’ भनी प्रश्न ग¥यो भने उनीहरुले गला अवरुद्घ गराउँदै, ओँठ थर्थराउँदै, आँखा डल्बलाउँदै मलिन चेहरासँगै ‘अब त कति बाँच्नु र जानै पाए जाती हुन्थ्यो’ जस्ता निकै कारुणिक भाव प्रकट गरेको सुन्न बाध्य हुनुपर्छ । यसलाई यसरी बुझ्न सकिन्छ कि त्यो घरमा उनीहरु सजिलोसँग बाँचेका छैनन् त्यहाँ कुनै न कुनै दुःख कष्ट छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । यसैगरी अरु कसैलाई यही प्रश्न राख्दा निकै प्रफुल्ल मुद्रामा ‘किन चाँडै मर्नु ? अझैँ केही वर्षसम्म बाँच्च पाए त धेरै कुराहरु देख्न पाइन्थ्यो ।’ भनेको सुन्दा सहजै अनुमान गर्न सकिन्छ उनीहरुलाई त्यस घर परिवारबाट सहयोग र सेवा पक्कै मिलेको छ भनेर । यो त केवल उदाहरणको रुपमा लिइएको एउटा मनोवैज्ञानिक चिन्तन हो । जो एउटा गम्भीर विषय पनि हो । यसबाट समष्टिमा के बुझ्न सकिन्छ भने मर्ने रहर यहाँ बृद्घबृद्घाहरुलाई पनि त छैन । आज स्वस्थ देखिने मानिस भोलि एकैचोटी अस्वस्थ हुनसक्छ । आज आरामसँग खाना खाएर सुतेको मानिस भोलिपल्ट बिहानै शरीरको पूर्ण अंग वा केही भाग नचल्ने अवस्थामा हुनसक्छ । आज घरमै भएको मानिस भोलिपल्ट ‘ऊ त फलानो अस्पतालको शैयामा पो पल्टेको छ रे !’ भन्ने कुरा सुन्नुपर्छ । एउटा यात्रामा जाँदै गरेको मानिस गन्तव्यमा नपुग्न वा फेरी यता नफर्किन पनि सक्छ । त्यसैले कोही कसैको जीवनको ग्यारेण्टी नै छैन कि सधैँ उसले सोचे जस्तो होस् । लामो चाहना बोकेको छोटो जिन्दगी कुनै पनि बेला एक्कासी टुङ्गिन सक्छ । अनि एकैचोटी पत्रपत्रिकमा वा सामाजिक सञ्जालमा हार्दिक समवेदनाका शब्दसँगै जोडिएको देख्नुपर्ने हुन्छ ।
त्यसैले जीवनभर पूर्ण स्वस्थ त कोही पनि हुनै सक्दैन । वास्तवमा हामी जतिबेला पनि दुर्घटनाको शिकार बन्न सक्छौँ । यस्तै जो कोही पनि कुनै न कुनै रोगको समस्याबाट ग्रसित हुन सक्छौँ । त्यस्तै सवलाङ्ग देखिने हामी पनि विकलाङ्ग अवस्थामा परिणत हुनसक्छौँ । यो मुटुको धड्कन चल्दाचल्दै एक्कासी रोकिन सक्छ । हाँस्दा हाँस्दै, बोल्दा बोल्दै, खाँदा खाँदै यो हाड छालाले बनेको यो शरीर ढल्नसक्छ । त्यसैले मानिस आफैमा पूण कहिल्यै पनि हुनै सक्दैन । जबसम्म मानव शारीरिक, मानसिक, चारीत्रिक र व्यावहारिकरुपमा सम्पन्न हुन्छ त्यतिबेलासम्म मात्र ऊ पूर्णरूपमा स्वस्थ एवम् सक्षम भएको ठहर्छ । तर पनि ऊ सदाका लागि यस धर्तीमा अमर रहने भने कदापि पनि होइन । त्यर्सैले हरेक मान्छे स्वस्थ हुन चाहन्छ, सबल र सक्षम बन्न चाहन्छ । तथापि जिउने चाहना हुँदाहुँदै पनि अन्ततः अवसानरुपि यात्राको दुःखद मार्गमा भने लाग्नैपर्छ । तर पनि मानिस निश्चिन्त भै आफ्नो कर्तव्यपथबाट बिचलित भने हुनुहुँदैन । भनाइ छ अध्ययन गर्दा म कहिल्यै मर्दिन भनेर गर, तर व्यवहार गर्दा भोलि मर्छु भनेर गर । त्यसैले यो अमूल्य मानवजीवनलाई सार्थक बनाउन सकारात्मक सोचका साथ निश्चिन्त भएर जिऔँ । एक आपसमा मानवीय व्यवहार गर्न सिकौँ । किनकि यही गजलमा भनिए जस्तै ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउ ? मान्छे नमर्ने सहर हुँदैन…’ अन्त्यमा यिनै काव्यपंक्तिसँगै यो भनाइबाट बिट मार्न चाहन्छु ।
नदीको बेग रोकिन्न, रोकिन्न वायुको गति
चिरस्थायी कुनै छैनन् धर्तीमा जन्मिए जति,
लोकमा जन्मिदा मान्छे हर्षाेलाष मनाउँछ
तथापि मृत्युले फेरी पीडादायी बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *