मदिरा बिक्री नियमन गरिने

मुख्य खबर समाज

तुलसीपुर, ४ भदौ । तुलसीपुर उपमहानगरपालिकाले जथाभावी मदिरा बिक्रीलाई नियमन गर्ने भएको छ । किराना पसल, ढेप्लीमा समेत मदिरा भेटिने र गरेको गुनासो बढेपछि यसको नियमनको लागि नगरले तिव्रता दिने भएको हो ।
तुलसीपुर उपमहानगरका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माले एक सातामै बजार अनुगमनलाई तिव्रता दिने बताइन् । उनले जथाभावी मदिरा बिक्रीको नियन्त्रण रोक्नका लागि प्रशासनको समन्वयमा क्रियाशील हुने बताइन् । उनले नगरले सबैका गुनासोलाई ध्यान दिएर अनुगमन समेत बढाउन लागेको बताइन् ।
वजार व्यवस्थापनका लागि व्यापारीहरु नै जिम्मेवारी हुनुपर्ने भन्दै व्यापारी जिम्मेवार बनाउने गरी काम गरिने बताइन् । अनुगमनका विषयमा मंगलबार नगरले सरोकारवालासँग छलफल गरेको छ ।
व्यापारका नाममा कतिपय व्यापारीहरुले जनताहरुलाई ठग्ने काम गरिएको समेत छलफलमा कुरा उठेको थियो । व्यापारी र सरोकारवालका बीचमा भएको छलफल कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत श्रीधर टण्डनले व्यापारीहरुले मूल्य बढाएर सामान बेच्ने गरेको बताए ।
उनले १३ रुपैयाँको मिनरल वाटर ३० रुपैयाँमा समेत बिक्री भएको दृष्टान्त पेश गरे । ‘कसले कालो बजारी ग¥यो भन्दा पनि हामीले कत्तिको आवाज उठायौँ यो पनि महत्वपूर्ण कुरा हो’ उनले भने । उनले बजारमा जतिसुकै अनियमितता भएपनि कसैले त्यसको बिरोधमा आवाज नउठाएको बताए ।
मदिरा व्यवसायी खुमबहादुर न्यौपानेले उपमहानगरपालिकाले मदिरामा जथभावी कर लगाउन खोजेको भन्दै आपत्ति जनाए । ‘अन्य ठाउँमा मदिरालाई लगाइएको करभन्दा तुलसीपुरले लगाएको कर धेरै बढी छ’ उनले भने । जथाभावी कर लगाउनु कति उपयुक्त हुन्छ ।
व्यवसायी न्यौपानेले जथाभावी मदिरा बिक्री नियन्त्रणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले भने ‘किराना पसलमा रक्सी किन बेचिन्छ ? खोइ यसको बारेमा खोजी गरेको ?’ । जथाभावी रक्सीको बिक्री वितरणले समाज धमिलो भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले बजारमा दर्ता नभएका पसलहरु धेरै भएको भन्दै त्यस्ता पसलहरुको नियमन गर्न आवश्यक रहेको बताए । मूल्यसूचिको कुरालाई अनिवार्य रुपमा सबैले टाँस गर्नुपर्ने उनको भनाई थियो । तुलसीपुर उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले मूल्य वृद्धि गर्दा सम्वन्धित सबै निकासँग समन्वय गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *