दाङमा उपनिर्वाचन …
दाङ, ६ मंसिर । उपनिर्वाचनको लागि मतदान हुने दिन आउन एक हप्ता बाँकी छ । यहाँका ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीसँगै अन्य राजनीतिक दल अहिले चुनावी कार्यक्रमममा सक्रिय छन् । घरदैलोदेखि मतदाताहरूसँग भेटघाट तिव्र पारेका छन् ।
दाङमा हुन लागेको उपनिर्वाचनलाई सबै क्षेत्रबाट चासोको रूपमा पनि लिइएको छ ।
निर्वाचन क्षेत्र नं. ३ (ख) मा उपनिर्वाचनको माहोल छ । उपनिर्वाचनको लागि नेकपाले विमलाकुमारी खत्री, नेपाली काँग्रेसका तर्फबाट केशवराज आचार्य चुनावी मैदानमा छन् । त्यसैगरेर समाजवादी पार्टीबाट डिल्ली बहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, राप्रपा संयुक्तबाट छोटिलाल चौधरी, साझाबाट शिवकुमार चौधरी लगायतका उम्मेदवार प्रदेशसभा सदस्यका लागि निर्वाचनमा छन् ।
नेपाली काँग्रेसका नेता आचार्य पश्चिम दाङका लोकप्रिय नेता मानिन्छन्् भने पश्चिम दाङको विकासको आधारशीलाको रूपमा पनि उनलाई लिइदै आएको छ । नेकपाबाट चुनावी मैदानमा उत्रिएकी खत्री स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी श्रीमती हुन् ।
उनी श्रीमान ओलीलाई राजनीतिमा सहयोग गरेपनि आफू भने राजनीतिमा देखिएकी पात्र हैनन् । पश्चिम दाङका मतदाताहरूले लामो समयदेखि राजनीति जीवन व्यतित गरेका नेपाली काँग्रेसका उम्मेदवार आचार्यलाई मत दिने हुन् वा स्वर्गीय पतिको सहानुभूतिमा उम्मेदवार बनाइएकी विमलालाई मत दिने त्यो नजिताले नै देखाउला तर यी दुईबीच कस्को पल्ला भारी हुने हो त्यो गर्भमै छ ?
विकासका काम गरेका, राजनीति बुझेकालाई मत दिने हो वा सहानुभूतिको लागि मत दिने हो भन्ने विषयमा वहस हिजोआज पश्चिममा चलिरहन्छ ।
‘उपनिर्वाचनमा मत त राजनीतिमा योगदान र जनतासँग विकासका काममा खटिएका उम्मेदवार आचार्यलाई मत दिनुपर्छ’ एकजना मतदाताले चिया पसलमा अरू साथीहरूलाई सम्झाउँदै थिए । ‘होइन् विमला ओलीलाई मत दिनुपर्छ’ अर्काे मतदाताको राय थियो ।
अर्का मतदाताले पनि यसरी नै सवाल गरिरहेका थिए । विकासका काम गरेका, राजनीति बुझेकालाई मत दिने हो वा सहानुभूतिको लागि मत दिने हो भन्ने विषयमा वहस हिजोआज पश्चिममा चलिरहन्छ । यतिबेला चिया पसलदेखि गाउँघरका चोक–चोकसम्म यही विषयमा चर्चा छ ।
मतदाताहरू पनि चनाखो भईसकेका छन् । ‘म कुनै राजनीतिक दल हेर्दैन, राजनीतिक आस्था आफ्नो ठाउँमा होला, तर काम गर्ने उम्मेदवारलाई मत दिन्छु’ मतदाता कमल केसीले भने । जितेर जानेले प्रतिबद्धता अनुसारको काम नगरेको उनको भोगाइ छ ।
नेपाली काँग्रेस आफूले गुमाएको वर्चस्व कायम गर्ने दाउमा छ भने नेकपा आफ्नो वर्चस्व कायम राख्नको लागि कसरत गरिरहेको छ । ‘नेपाली जनताले पाँच वर्षको लागि मत दिएर नेकपालाई जिताएको हो’ नेकपामा जिल्ला अध्यक्ष टिकाराम खड्काले भने ‘उपनिर्वाचन पनि ढुक्कले नेकपाले नै जित्छ ।’ यो पटक पनि नेकपाले नै जित्नेमा अध्यक्ष खड्का विश्वस्त छन् ।
‘वर्तमान सरकारको ज्यादती देखेर, भोगेर मतदाताहरू आजित छन्’ नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कीर्तिबहादुर खड्काले भने ‘मतदाताहरू नै नेपाली काँग्रेसले जिते हुन्थ्यो भन्ने पक्षमा छन् ।’
उपनिर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएर जिताउँछन् हामी ढुक्क छौं ।
घोराही उपमहानगरपालिका वडा नं १६मा वडा अध्यक्षको लागि उपनिर्वाचन हँुदैछ ।
यहाँ पनि नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन त्यस वडामा भएको छ ।
एउटा पार्टी र स्वतन्त्र उम्मेदवारको कडा प्रतिस्पर्धा विरलै हुन्छ । वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट ताराबहादुर डिसी चुनावी मैदानमा छन् भने नेकपाको तर्फबाट सुरेश केसी चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसैगरी अर्का नेकपाका नेता स्वतन्त्र उम्मेदवार रूपमा जगलाल चौधरी अघि सरेका छन् । चौधरी नेकपाको कार्यकर्तासमेत हुन् । उनी उम्मेदवारमा आफ्नो नाम सिफारिस नभएपछि असुन्तष्ट जनाउँदै स्वतन्त्र पदको उम्मेदवार दर्ता गराएका थिए ।
स्वर्गीय वडा अध्यक्ष लक्षिण बुढाका समर्थकहरूले उम्मेदवार चौधरीलाई साथ दिएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार डिसीलाई सिङ्गो नेपाली काँग्रेसले साथ दिएको छ । दुई ठूला राजनीतिक दलहरू आफ्नो पक्षमा मत तान्नको लागि कसरत गरिरहेका छन् ।