Thursday, April 18, 2024
Homeफिचरमतदाताको रोजाईका उम्मेदवार ?

मतदाताको रोजाईका उम्मेदवार ?

- Advertisement -spot_img

आगामी मंसिर १४ गते दाङसहित देशका ३७ जिल्लामा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीयतह गरी ५२ रिक्त स्थानमा उपनिर्वाचन हुँ्रदैछ । उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रमा चुनावी सरगर्मी बढिसकेको छ ।
दाङमा क्षेत्र नम्बर ३ को २ मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्षको पद गरी दुई पदमा लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनको मिति नजिकिदै जाँदा कुन उम्मेदवारले बाजी मार्लान् त ? आम चासोको विषय बनेको छ । निर्वाचनमा होमिएका उम्मेदवारको आ–आफ्नै दाबी छ म नै जित्न सक्छु । जिल्लामा अहिले प्रदेशसभाका लागि १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । चुनावको मिति नजिकिदै जाँदा दलहरूले उम्मेदवार छनौटसँगै चुनावी गतिविधि सक्रिय बनाउँदै लगेका छन् ।
विषेशगरी सत्तापक्ष र प्रमुख प्रतिपक्षका उम्मेदवारबीच नै बढी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साना दलहरूले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधि सक्रिय बनाउन थालेका छन् भने नागरिक कस्ता उम्मेदवार छनौट गर्ने भन्ने सोंचमा छन् । कुनै दल विषेशभन्दा पनि योग्य र सक्षम व्यक्तिलाई मत दिने दाउमा नागरिक छन् ।
प्रतिनिधि चुन्ने सुनौलो अवसरलाई चिन्दै नागरिक हाम्रोभन्दा पनि राम्रो उम्मेदवार छनौट गर्नुपर्छ भन्ने सोचका साथ मंसिर १४ को उपनिर्वाचनमा मत दिने दाउमा छन् । मंसिर १४ को मिति नजिकिदै जाँदा नागरिकले कस्ता उम्मेदवार छनौट गर्ने सोंचमा छन् त ?
के यो निर्वाचनमा दक्ष र निस्वार्थरूपमा नागरिकको सेवा गर्ने प्रतिनिधि छनौट होला त ? उपनिर्वाचनबारे नागरिकको धारणा के छ त ? पार्टी र शक्तिलाई तोड्दै मतदान होला त यसपालि ? मतदानमा सहभागी हुन पाउने केही मतदातासँग गरिएको कुराकानी राउण्ड टेबलको आजको अंकमा सारसंक्षेप । 


जनताको गुण र नुन नबिर्सने

ज्ञानेन्द्रराज शर्मा
शान्तिनगर गा.पा.–६ दाङ

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि अहिले रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन हुन लागेको दाङको क्षेत्र नम्बर ३ को (ख) प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदै गर्दा कस्ता उमेदवारलाई भोट दिने भन्नेमा हामी पनि छौँ । राम्रा र सक्षम उम्मेदवार छनौट हुनुपर्छ भन्ने हामी सबैको मान्यता हो । जनताका समस्या आफ्नै समस्या जस्तै ठान्ने नेता हामीलाई चाहिएको छ ।
विकासका नाममा भ्रष्टाचार मौलाइरहेको समयमा भ्रष्टाचार अन्त्य गर्ने नेता चाहिएको छ । आफ्नो भाषणभन्दा पनि जनताको रासनमा ध्यान दिने नेता छनौटमा आमनागरिक चनाखो हुनुपर्छ । वर्षौदेखि हामीले पार्टी र शक्तिको आडमा भोट हाल्दै आएका छौँ । अब पुरानो परम्पराको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ म यसपटक कुनै पार्टी विशेषभन्दा पनि व्यक्तित्व हेरेर मत दिने विचारमा छु ।
नागरिकका समस्या समाधानमा गम्भीर हुनसक्छ कि सक्दैन् हामीले ति कुराहरूलाई बडो गम्भीरताका साथ हेर्नुपर्ने देखिएको छ । नागरिकलाई जति ‘जोगी आए पनि कानै चिरेका’ भन्ने नेपाली उखान अब लागू नहोस् ।
ति कुरालाई मध्यनजर गर्दै सहरभन्दा पनि ग्रामीण भेगका नागरिक समस्यालाई समाधान गर्ने खालको नेता छनौट गर्ने प्रयासमा लागेका छौँ । गाउँमा अहिले पनि नागरिक सामान्य आधारभूत आवश्यकता पनि पाउन सकिरहेका छैनन् । ति आवश्यकतालाई पूरा गर्ने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने नेतालाई आम नागरिकले साथ दिन्छन् ।
जहिले पनि भोट माग्दा जनताको घरदैलोमा आउने तर जनताले मत दिएर निर्वाचित भइसकेपछि जनताका समस्यालाई बिर्सने परम्परा रहेका छ । ति कुराहरूको अन्त्यका लागि हामीले उम्मेदवार छनौट गर्दा अर्थात् भोट दिदा चिन्न सक्नुपर्दछ ।
नागरिक विस्तारै सचेत हुन थालेका छन् । अब पनि पुरानै स्थितिमा नागरिकले भोट दिने अवस्था छैन् । वर्तमान देखिएका दुरावस्थाको चित्रण गर्दै हामी योग्य, दक्ष र सक्षम नेतृत्व चुन्नुपर्छ भनेर छलफल गर्ने गरिरहेका छौँ । नागरिकले हिजो पनि मत दिएर गएका नेतृत्व अहिले बिर्सने अवस्था पनि देखिएको छ । हामीले अब चुन्ने नेताले त्यस्तो गर्नु हुनेछैन् भन्ने विश्वासका साथ मत दिने हो ।


विकास सम्झिरहने नेता

प्रेम के.सी.
बबई गा.पा.–३ दाङ

पश्चिम क्षेत्रका नागरिकलाई फेरी नेतृत्व छनौट गर्ने अवसर आएको छ । १४ मंसिरको उपनिर्वाचन मिति नजिकिदै छ । मिति नजिकिदै जाँदा दल तथा उम्मेदवारले छलफल र भेटघाटलाई व्यस्त बनाइरहँदा हामीले पनि कस्ता उम्मेदवार छनौट गर्दा हाम्रो गाउँ ठाउँको विकास हुन्छ भन्ने सोंच गरिरहेका छौँ ।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधि जनताकै लागि सर्मपित हुनुपर्छ भन्ने मेरो भनाई हो । जनताका समस्यालाई बुझ्न सक्ने नयाँ सोंच र नयाँ उद्देश्य बोकेका उम्मेदवारलाई नै छनौट गर्ने सोंचमा छु ।
जनताका तिब्र आकांक्षा छन् , लोभ र सत्ताको आडमा भन्दा पनि जनताका आवश्यकतामा भिज्ने नेतृत्व पश्चिम दाङलाई चाहिएको छ । स्वर्गीय उत्तरकुमार ओलीले पूरा गर्न नसकेका योजना अब आउने नेतृत्वले पूरा गर्ने छ त्यस्तो नेतृत्व नै छनौट हुुनुपर्छ । समाजमा देखिएको गरिबी, वैदेशिक रोजगारको अन्त्य गरी समृद्ध समाजको निर्माण गर्न सक्ने नेतृत्व छनौट गर्ने साेंचमा छु ।
समाजमा अहिले पनि विभिन्न सामाजिक विकृति छन् ति विकृतिका विरूद्ध लागेर सुखी र सम्पन्न समाजको निर्माण गर्ने नेतृत्वले नै भोट पाउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीलगायतका समस्याबाट जनता आजित छन् । ति कुरालाई पनि प्राथमिकतामा पारेर जतिसक्दो छिटो नागरिकका अपेक्षालाई पुरा गर्ने उम्मेदवार नै छनौटमा पार्नेछौँ ।
अहिलेको परिस्थितिमा करिब दुई वर्षमात्रै छ । यही छोटो समयलाई छोपेर नागरिकले महशुस गर्ने गरी विकास निर्माण हुनुपर्छ । कुनै पनि विकास निर्माणमा देखिने गरेको अनियमिताका विरूद्ध लागेर विकास निर्माण गर्न सक्यो भने मात्रै नागरिकले परिवर्तनको अनुभूति गर्न पाउने छन् ।
जनताले भोट दियो निर्वाचित भयो तर पछि बिर्सने परम्परा पनि निकै छ । हामीले विकास र जनता दुबैलाई नबिर्सने नेता खोजेका छौँ । अहिले चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार पनि योग्य र सक्षम हुनुहुन्छ भन्ने विश्वास लिएका छौँ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारले नै अहिले मत पाउनुहुन्छ ।


समाजमा योगदान दिन सक्ने

मोहन बुढाथोकी
बबई गा.पा.–७ दाङ

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि म पनि भोटर हो । मतदात म भएका कारण मैले यसपटक कर्तव्यनिष्ठ, कुलतमा नफसेको, नागरिकका समस्यालाई सम्बोधन गर्नसक्ने नेतालाई छनौट पर्ने पक्षमा छु । हाम्रो गाउँमा अहिले पनि वर्षौँदेखिका योजना निर्माण हुन सकिरहेका छैनन् । ति योजना पनि निर्माण सम्पन्न गरी नयाँ योजना ल्याउन सक्ने नेतृत्व छनौट गर्ने सोंचमा छु ।
अहिले उम्मेदवारहरू भोट माग्न आइसक्नुभएको छ । विषेशगरी दुई ठूला राजनीतिक दलका उम्मेदवार भोट माग्न आउनुभएको छ । मैले उहाँहरूलाई स्पष्टरूपमा योजना ल्याउनुस् र ति योजना कहिलेसम्म पूरा हुन्छन् भन्ने ग्यारेण्टी पनि गर्नुपर्छ भनेको छु । हाम्रो ठाउँमा खानेपानीको समस्या छ तर समाधान हुन सकेको छैन् ।
बेलघारीमा डिपबोरिङ खनिएको छ, डिपबोरिङ खनेको करिब चार वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकिरहेको छैन् । यस्तो अवस्थामा नेतृत्वले कडाई गर्न सक्नुपर्छ । समस्याको पहिचान गरी छिटो निर्माण सक्न नेतृत्वले पहल गर्नुपर्छ ।
करिब १३ करोडमा लागतमा निर्माण हुन लागेको उक्त योजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न अबको नेतृत्वले ध्यान दिनेछ र त्यस्ता उम्मेदवारलाई नागरिकले छनौट गर्ने छन् ।
गाउँमा शिक्षाको अवस्था सन्तोषजनक नै छ भने स्वास्थ्यको क्षेत्रमा नयाँ प्रयास भएको छ । ति प्रयासहरू सार्थक बनाउने गरी नागरिकले नेतृत्व छनौट गर्नेछन् । लामो समयदेखि अभाव र दबावमा रहेका हामी नागरिकलाई अबको नेतृत्वले सुखी र सम्पन्नशाली बनाउने छ भन्ने विश्वास लिएका छौँ ।
मैले कुनै एउटा राजनीतिक नेतृत्वभन्दा पनि व्यक्ति विषेशलाई ध्यान दिएर मत दिनेछु । राजनैतिक व्यक्तित्व भएपनि उक्त व्यक्तिले समाजमा योगदान दिन सक्ने हेरेर मत दिने सोंचमा छु ।
पहिलेको र अहिलेको अवस्था एउटै छैन् । नागरिक अहिले धेरै जागरूक भैसकेका छन् । कतिपय अवस्थामा सत्ता र राजनैतिक दबावका कारण पनि भोट हाल्ने गरेको पाइन्छ । मेरो सोंच के हो भने जनताले खुल्ला हृदयले मनले खाएको उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने मान्यता हो ।


जनताको नेतृत्व गर्न सक्ने

यमप्रसाद धिताल
तुलसीपुर–१ पोखरी टोल, दाङ

म पहिलो पटक भोट हाल्दैछु । बिगत लामो समयदेखि म वैदेशिक रोजगारीमा रहेका कारण पनि नेतृत्व छनौट गर्ने अवसर पाएको थिएन् । अहिले पहिलो पटक दिन लागेको भोट पक्कै पनि सक्षम र निष्पक्ष नेतृत्व छनौटमा पर्नेछ ।
मैले कुनै नाता पार्टीलाई हेरेर भोट दिने छैन् । अहिले पछिल्लो समय नेतृत्व छनौटमा नाता र पार्टी भनेर नै बिग्रिएको हो । यि कुराको सधै अन्त्य हुनुपर्छ भन्ने मेरो सोंच छ । म विषेशगरी टोलको पनि अध्यक्ष भएको नाताले म मात्रै नभएर मेरो टोलका सबैलाई सक्षम र योग्य व्यक्ति छनौट गर्नुपर्छ भन्ने सचेतना दिने कोसिस पनि गर्ने छु ।
यसभन्दा अघि मैले भोट नदिएपनि घरपरिवार र आफन्तले भोट दिएर पठाएका प्रतिनिधिले पनि केही गर्नुभएको विस्तारै हाम्रा आकांक्षा पूरा हुन थालेका छन् ।
अहिले पनि त्यस्तो व्यक्तिलाई छनौट गर्नेछौँ हामीले जसले समाज र राष्ट्रको लागि केही गर्छु भन्ने सोच बोकेको छ । चुनाव जितेर गएपछि व्यक्ति जीवन परिवर्तन हुने तर जनताको जीवन परिवर्तन हुने कमै देखिने गरेको छ ।
हामीले सादा जीवन उच्च विचार बोकेका प्रतिनिधि चाहेका छौँ । जनतासँग गरेका प्रतिवद्धतालाई पूरा गर्नका लागि सदैव सेवामा खटिरहने प्रतिनिधि हामीलाई मात्र होइन् देशलाई ने खाँचो छ अब । गाउँमा सडक कालोपत्रेका योजनाहरूलाई निरन्तता दिने, खानेपानी शिक्षा, स्वास्थ्य रोजगारीलगायतका कुरालाई ध्यान दिने नेतृत्व चाहिएको छ ।


भ्रष्टाचारको अन्त्य गर्ने

नरेश वली
दंगीशरण–६, दाङ

युवाहरूको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने नेतृत्व चाहिएको छ । अहिले पनि लाखौँ युवा श्रम बेच्न विदेशमा गईरहेको छ । ती युवालाई नेपाल ल्याउने र नेपालमा भएका युवालाई स्वदेशमै रोजगारीको अवसर दिने नेतृत्वको खोजीमा छौँ ।
देशले अहिले युवा खोजिरहेको छ । तर बिडम्बना लाखौँ युवाले विदेशमा श्रम बेच्न बाध्य छन् । देशभित्र विभिन्न सम्भावना हुँदाहँुदै पनि नेतृत्वले सही निर्णय दिन नसक्दा रोजगारीको अवसर बन्न सकिरहेको छैन् । अहिले देखिएका सम्भावनालाई छोप्न सक्ने नेतृत्व छनौट गर्ने सोंचमा छु । त्यतिमात्र होइन् महिला, बालबालिका मुद्दालाई उठाउने नेतृत्व हामीलाई चाहिएको छ ।
हामीलाई कुराभन्दा पनि काम चाहिएको छ । त्यसैले हामीले अहिले आएको अवसरलाई छोप्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि रहेर नेतृत्व छनौट गर्नुपर्छ । म पनि सचेत नागरिक हुँ । नेतृत्वकै कारण देश अहिले पनि विकासमा कछुवाको गतिमा छ । भ्रष्टाचारका घटना अन्त्य हुन सकिरहेका छैनन् । विकासलाई तिब्र गतिमा लैजानका लागि दबाब दिने नेतृत्व चाहिएको छ हामीलाई ।
भ्रष्ट कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गरी लगानीलाई सुरक्षित गर्ने नेतृत्व चाहिएको छ । त्यस्ता नेतृत्वले मत पाउने छन् । समस्यासँग नआत्तिने नेतृत्व छनौट गर्ने सोंचमा छु । अब आउने नेतृत्वले पश्चिम दाङको विकासमा नागरिकलाई परिवर्तनको अनुभूति प्रदान गर्नसक्ने हुनुपर्छ भन्ने नै हो ।


परिवर्तनको अनुभूति दिन सक्ने

विनोदकुमार राना
दंगीशरण–६ लेटार, दाङ

जनताले चुनेर पठाएका प्रतिनिधि निस्वार्थी र निष्पक्ष हुनुपर्छ । नेता र कार्यकर्ताभन्दा पनि आमनागरिकलाई समानरूपमा देख्ने हुनुपर्छ । म पनि त्यस्तै नेतालाई भोट दिने सोंचमा छु । चुनावमा गरेका प्रतिवद्धता सबै पूरा हुँदैनन् तर देखिने गरी काम पक्कै पनि गर्नुपर्छ । मैले २०३५ सालदेखि भोट हाल्दै आएको छु । मैले जिताएर पठाएका नेतृत्वले पनि सबै काम पूरा गर्न सकेको पाएन ।
अब अहिले फेरी यहाँको विकासका लागि नेतृत्व छनौट गर्ने बेला आएको छ । नेतृत्वले हाम्रा आवश्यतालाई नजिकबाट समाधान गर्ने प्रयास गर्नेछ । म के चाहन्छु भने अहिले जसरी भोट माग्न गाउँमा नेता आउनुहुन्छ त्यसैगरी चुनाव जितेर गएपछि पनि गाउँमा आउने नेता नै जनताको नेता हो ।
त्यस्तै नेतृत्वलाई छनौट गर्नेछु । गाउँमा अहिले विभिन्न किसिमका समस्या छन् । जनताले राखेका समस्यालाई जतिसक्दो छिटो समाधान गर्ने नेतृत्व छनौट गर्ने सोंचमा छु । चुनावअघि थुप्रै प्रतिवद्धता गर्ने तर जितेर गइसकेपछि विभिन्न कारण देखाउँदै विकास नगर्ने प्रवृत्ति देखिएको पनि छ ।
यस्तो कुराको अन्त्य हुनुपर्छ भन्ने सोंचका साथ हामीले स्वच्छ, निष्पक्ष रूपमा हाम्रोभन्दा पनि राम्रो योग्य उम्मेदवार छनौट गर्नेछु । हामीलाई गर्न नसकिने सपना नबाँडे हुन्छ, जति गर्न सकिन्छ त्यति योजना ल्याउने नेता चाहिएको छ ।
काम नगर्ने भाषण ठूला गर्ने नेतृत्वदेखि होसियार हुनुपर्छ । सक्षम र निस्वार्थी नेतालाई भोट गर्नुपर्छ । पश्चिम दाङमा स्वर्गीय उत्तरकुमार ओलीले जुन योजना ल्याउनुभएको थियो, ति योजनामात्रै नभएर अझ नयाँ हामीले परिवर्तन देख्ने योजना ल्याउने उम्मेदवार छनौट गर्ने साेंचमा छौँ ।
वर्षौदेखि समस्या झेल्दै आएका नागरिक अबको नेतृत्वले केही भएपनि राहतको महसुस गर्नेछन् । हामीले त्यस्ता नेतृत्वलाई छनौट गर्नेछौँ । गणतन्त्र आइसकेपछि नागरिकले गणतन्त्रको महसुस गर्न पाएका छैनौँ । अब हुने उपनिर्वाचानबाट चुनिएका जनप्रतिनिधिले जनतालाई परिवर्तनको अनुभूति दिन सकून् त्यस्ता उम्मेदवारले भोट पाउने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here