भयरहित निर्वाचन

फिचर मुख्य खबर राजनीति विचार

मंसिर १४ गते दाङसहित देशभर अहिले प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ । दाङमा क्षेत्र नम्बर ३ को (२) मा प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका–१६ मा वडा अध्यक्षको पद गरी दुई पदमा लागि आगामी मंसिर १४ गते निर्वाचन गर्ने गरी तयारी तिब्र पारिएको दलहरू उम्मेदवार छनौटसँगै चुनावी गतिविधि सक्रिय बनाउँदै छन् भने सम्बन्धित कार्यालयहरूले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी थालेका छन् ।
उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रमा चुनावी सरगर्मी बढिसकेको छ । विशेषगरी दुई ठुला दल सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चुनावी गतिविधिलाई सक्रिय बनाएको छ भने अन्य साना दलहरूले पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी गतिविधि सक्रिय बनाउन थालेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायले चुनावलाई भव्य र सभ्य बनाउन विभिन्न योजना अघि सारेका छन् । मंसिर १४ को मिति नजिकिदै जाँदा सरोकारावाला निकायले चुनावलाई भव्य, सभ्य र सुरक्षित बनाउन के कस्ता योजना बनाएका छन् ? उपनिर्वाचनको तयारी के छ त ? लगायतका विषयमा सरोकारावाला निकायका प्रतिनिधिसँग टुडे राउण्ड टेबलमा गरिएको कुराकानीको सारसंक्षेप ।


स्वच्छ र निष्पक्ष निर्वाचन

रितेन्द्र थापा
मुख्य निर्वाचन अधिकृत

मंसिर १४ गते हुने उपनिर्वाचनलाई सम्पन्न गर्नका लागि आइतबारमात्रै मुख्य निर्वाचान अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएसँगै उपनिर्वाचनको गतिविधि सक्रिय भएको छ । आयोगले मलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भरपूर प्रयासमा छौँ । अहिले प्रदेशसभा सदस्यको निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी मलाई दिइसकेपछि चुनावलाई निष्पक्ष, स्वच्छ र भयरहितरूपमा सम्पन्न गर्नका लागि म मात्र नभएर सबै सरोकारवाला निकाय गम्भीर हुन आवश्यक छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयमा अदालतका श्रेष्तेदार धनीप्रसाद चपाई सहायक निर्वाचन अधिकृत हुनुहुन्छ । चुनावलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मूख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी २० गते सर्वदलीय छलफल बोलाएको छ ।
त्यो छलफलले पनि चुनावलाई स्वच्छ बनाउन केही भूमिका खेल्ने छ भन्ने विश्वास लिएका छौँ । कार्यालयले २१ गते मनोनयन दर्ताको मिति तोकेको छ ।
अहिले निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनैतहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिलाई आचारसंहिता पालना गर्न गराउन लागेका छौँ । दाङको प्रदेश सभा सदस्य र स्थानीय तहको उपनिर्वाचन हुने निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने गरी कार्यान्वयनमा कसरी गर्ने भन्नेमा छौँ ।
भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा बृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ ।

चुनावलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मूख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी २० गते सर्वदलीय छलफल बोलाएको छ । त्यो छलफलले पनि चुनावलाई स्वच्छ बनाउन केही भूमिका खेल्ने छ भन्ने विश्वास लिएका छौँ ।


सम्बन्धित सरकारले कर्मचारी सरूवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि पर्छ ।
जुलुस, आमसभा, ¥याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारी साधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गर्ने विषयमा पनि २० गतेको छलफलले निष्कर्ष निकाल्ने छ ।
आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाइने भए पनि पोस्टर बनाएर प्रचारमा भने रोक लगाउने छ ।
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि अन्तिम परिणाम नआउँदासम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण पनि लागू गरिएको छ ।
स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा भयमुक्त निर्वाचन गराउन आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम उपनिर्वाचन केन्द्रीय आचारसंहिता रहेको छ ।
अहिले अझै पनि त्यति गतिविधि सक्रिय छैनन् । २० कार्तिक पछिमात्रै कर्मचारी खटपटनलगायतका काम हुनेछन् । अहिले आवश्यक जनशक्ति आयोगलाई पठाएका छौँ । एक साताभित्र स्वीकृत भएर आउने छ । मतदाता नामावली पनि आइसकेको छ ।
जिल्लामा उपनिर्वाचन हुने क्षेत्र घोराही–१६ र क्षेत्र नम्बर ३ को २ मा पनि मतदान स्थल, मतदान केन्द्र पनि टुङ्गो लागिसेकेको छ । निर्वाचन अधिकृतको कार्यालयले गर्ने तयारी गरिरहेको छ । अन्य निकायले गर्ने तयारी चलिरहेका छन् । हामीले जिम्मेवारी दिएअनुसारको काम भइरहेको छ ।


जनशक्ति र सामग्री जुटाउँदै

बुद्धिबहादुर खत्री
प्रमुख
निर्वाचन कार्यालय, दाङ

दाङको घोराहीमा आइतबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । उम्मेदवारको मनोनयन, उम्मेदवारी दर्ता, दाबी विरोध, अन्तिम नियमावली प्रकाशन गर्ने मुख्य निर्वाचन कार्यालयको टिमले गर्ने छ । हामीले मुख्य निर्वाचन कार्यालयलाई सहयोग गर्छौँ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतदान केन्द्रमा मतदानका लागि प्रयोग हुने निर्वाचन सामग्रीहरू व्यवस्थापन हामीले गर्ने छौँ । अहिले मतदाता नामावली प्रकाशन भइसकेको छ । निर्वाचन आयोगबाट केही निर्वाचन सामग्री प्राप्त भएको छ । केही आउने क्रममा नै छ ।
निर्वाचनका लागि प्रयोग हुने केही निर्वाचन सामग्री हामी यही खरिद गर्ने तयारीमा छौँ ।
मतदान केन्द्रमा खटाउने जनशक्तिको विवरण तयार गर्ने काम भएको छ । जिल्ला प्रशासनमा आवश्यक जनशक्ति विवरण पठाएका छौँ । आवश्यक जनशक्ति जिल्ला प्रशासनले एक साताभित्र जनशक्ति पठाउने छ । जिल्ला प्रशासनबाट आयो भने हामीले मुख्य निर्वाचन कार्यालयमा पठाउने छौँ । अहिले हामीले सामग्री व्यवस्थापनको काम नै गरिरहेका छौँ ।
निर्वाचन शान्तिपूर्ण हुनेछ भन्ने आशा लिएका छौँ । निर्वाचनलाई सभ्य र सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी पनि लागिरहेको छ । दाङको घोराही–१६ र प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ को २ मा गरी ३४ मतदान स्थल रहने छन् भने ८२ मतदान केन्द्र कायम रहने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा पदका लागि दुई मतदान स्थल र पाँच मतदान केन्द्र निर्धारण गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा ३२ मतदान स्थल र ७७ मतदान केन्द्र तोकिएको छ ।
मतदाताको हिसाबले घोराही १६ मा ४ हजार ४५३ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा ६८ हजार ७१९ मतदाता रहेका छन् । बिगतमा पनि शान्त भएको छ चुनाव, यसपटकको चुनाव पनि भयरहित हुनेमा आशा गर्न सकिन्छ । उपनिर्वाचन भएका कारण पनि त्यति धेरै निर्वाचन हुने क्षेत्र पनि छैन् ।
सीमित ठाउँ भएका कारण पनि आवश्यक जनशक्ति पाइने छ र चुनावलाई शान्तिपूर्ण बनाउन सकिने छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय तुल्याउन निर्वाचन आचारसंहिताको बुँदाका अक्षरशः पालना गर्न तथा निर्वाचनका सरोकारवालाबाट समेत पालन गर्ने र गराउने विषयमा राजनीतिक दलबाट आयोगसमक्ष यसअघि नै लिखित प्रतिवद्धता आइसकेको छ । तोकिएकै मितिमा उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन आयोग अहिले तीव्र गृहकार्यमा जुटेको छ ।


सुरक्षा योजना र व्यवस्थापन

गञ्जबहादुर एमसी
सहायक प्रमुख जिल्ला अधिकारी दाङ

दाङमा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आइतबार नै स्थापना भइसकेका छन् । त्यससँगै जिल्लामा उपनिर्वाचनको गतिविधि शुरू भइसकेको छ । अहिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक जनशक्ति माग गरिसकेको छ ।
ति जनशक्ति पूर्तिका लागि जिल्ला प्रशासन कार्यालय लागिरहेको छ । निर्वाचन कार्यालयले पनि तयारी थालिरहेको छ । हामीहरूको विषय भने कर्मचारीको व्यवस्थापन र शान्ति सुरक्षा र कर्मचारी व्यवस्थापनको कुरालाई हेरिरहेको छ । निर्वाचन सुरक्षा योजना बनाएर हाम्रो च्यानलमार्फत गृह मन्त्रालयमा पठाइसकेको अवस्था छ ।
कर्मचारी व्यवस्थापनको सम्बन्धमा सोमबार मात्रै जिल्ला निर्वाचन कार्यालयले कर्मचारीको विवरण उपलब्ध गराइदिन प¥यो भनेर जिल्ला प्रशासनलाई अनुरोध गरेको छ । हामीले सबै कार्यालय संघ, प्रदेश र स्थानीय तहलाई मंसिर १४ मा हुने उपनिर्वाचनमा कर्मचारी आवश्यक भएको छ भनेर कर्मचारीको विवरण, दर्जा तीन दिनभित्र उपलब्ध गराउनुहोला भनेर सोमबार नै जानकारी गराएका छौँ ।
सबै कार्यालयबाट कर्मचारी विवरण प्राप्त भयो भने जिल्ला निर्वाचन कार्यालयमा पठाउँछौँ । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी नामावलीलाई माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ ।
कार्यालयले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई पठाएर निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन हुन्छ । कर्मचारी निर्वाचान आयोगले र निर्वाचन कार्यालयले माग गरेको कर्मचारी उपलब्ध गराइदिने सबै जिल्लास्थित कार्यालयसँग समन्वय गर्ने काम हुन्छ ।
नागरिकले सुरक्षित रूपमा भयरहित वातावरणमा चुनावमा भाग लिने वातावरणका लागि हामीले ३७ पाना सुरक्षा योजना बनाएर गृह मन्त्रालयमा पठाएका छौँ । गृह मन्त्रालयले केही दिनभित्र नै सुरक्षा योजना स्वीकृत गरेर हामीलाई पठाउने छ र त्यसै अनुसार हामीले चुनावलाई शान्तिपूर्ण बनाउने कोसिस गर्ने छौँ ।
यसअघि भएको चुनावमा भएका कमिकमजोरीलाई पनि आत्मसात् गरेर सुरक्षित कसरी बनाउने ? भन्ने योजनामा लागेका छौँ । यसपालिको चुनाव पनि शान्तिपूर्ण हुन्छ भन्ने विश्वासका साथ हामीले काम गरिरहेका छौँ । मंसिर १४ को मिति नजिकिदै जाँदा हाम्रोतर्फबाट गर्ने तयारीलाई तिब्र पारेका छौँ । चुनावलाई निष्पक्ष, स्वच्छ, शान्त बनाउन आम नागरिकको पनि महत्वपूर्ण भूमिका रहन्छ ।


सम्भावित घटनाको पहिचान

विनोदबिक्रम शाह
प्रवक्ता
जिल्ला प्रहरी कार्यालय, दाङ

उपनिर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयारीमा छौँ तर अहिले नै यति भन्ने छैन् । हामीले दुई÷तीनभित्रै सुरक्षा योजना सार्वजनिक गछौँ । जिल्लामा उपनिर्वाचन हुन लागेकोे क्षेत्रमा नागरिकले भयरहित वातावरणमा निर्वाचन गर्न पाउनुहुन्छ ढुक्क हुनुस् ।
बिगतमा पनि दाङमा शान्तिपूर्ण रूपमा चुनाव भएको थियो । अहिले अब मंसिर १४ गते हुने उपनिर्वाचन पनि धाँधलीरहित हुनेछ । नागरिकले सोचेकै वातावरणमा चुनावमा भोट हाल्न पाउनेछन् । बिगतमा शान्तिपूर्ण भएपनि यसपालि सोही अवस्था नहुन सक्छ । त्यसैले सुरक्षा निकायबाट हुने सुरक्षा योजना सार्थक बनाउन हामी लाग्ने छौँ ।
अहिले विषेशगरी विप्लव निकट नेकपाले चुनावलाई केही भयवित बनाउन सक्ने भएकाले पनि विप्लव नेकपाका गतिविधिलाई नियन्त्रणका लागि अहिले सुरक्षा योजना बनाइरहेका छौँ । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हामीले सुरक्षा योजना बनाएका छौँ ।
त्यतिमात्र नभएर जिल्लामा अपराधिक गतिविधिमा संलग्नहरूको सूचि नै बनाएर ति समूहका गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएका छौँ । चुनावको दिनमात्रै भन्दा पनि चुनाव अघि पनि हुन सक्ने क्रियाकलापको नियन्त्रणमा हामीहरू लाग्ने छौँ । चुनाव आफ्नो पक्षमा पार्नका लागि राजनैतिक दलका कार्यकर्ताबीच हुनसक्ने झडपलाई पनि मध्यनजर गरेका छौँ ।
गृह मन्त्रालयले उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा गरिसकेको छ । सबै मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी निर्वाचनमा खटिने छन् ।
निर्वाचन अस्वीकार गरिरहेको राजनीतिक शक्तिहरूले विरोध गर्ने र मनोनयन दर्तामा अवरोध गराउन सक्ने सम्भावनालाई मध्यनजर गरेर थप सुरक्षाकर्मी परिचालन गरिने छ ।
बिगतमा भएका कमजोरी र बदलिदो राजनीतिक परिस्थितिअनुसार सुरक्षा योजना निर्माण गरिएको छ । सुरक्षा स्थितिको विश्लेषणका आधारमा संवेदनशील क्षेत्रका रूपमा हेरिएको छ । सबै मतदान केन्द्रको छु्ट्टाछुट्टै सुरक्षा रणनीति तयार पारिसकेको छ ।
सामान्य, संवेदनशील र अति संवेदनशील भनेर छुट्याइएको मतदान केन्द्रमा त्यसैका आधारमा सुरक्षा रणनीति बनाइएको छ । उपनिर्वाचनलाई सुरक्षित बनाउने विषयमा गम्भीरताका साथ लागिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु । छिट्पुट बाहेक अन्य कुनै पनि अवान्छित गतिविधि हुने छैनन् । भएका जति जनशक्ति परिचालन हुनेछन् ।
निर्वाचन क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन हुनेछन्, मोबाइल गस्ती पनि सञ्चालन गरिने छ ताकि हुन सक्ने गतिविधि नियन्त्रण गर्न सहज बनोस् र चुनाव शान्तपूर्ण होस भन्ने उद्देश्यका साथ काम गरिहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *