बैंक खै सुरक्षित ?

सम्पादकीय

मंगलबार देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुर निवासी समिर बुढाथोकी १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परे । उनी घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेड नारायणपुर शाखाका म्यानेजर हुन् ।
बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरि हिनामिना गरेको देखिएको छ । केही समय अघि मात्रै दाङमा केन्द्रीय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंक र देवः बिकास बैंक मर्ज भएको थियो ।
बुढाथोकी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए । वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको र ऋणको नामको चेकसमेत आफै साट्ने गरेको अनुसन्धानमा पाइएकोे छ ।
१८ करोड रकम हिनामिनामा बुढाथोकी एक्लैको मात्रै हात नरहेको आशंका गर्दै प्रहरीले बैंकका सञ्चालक तथा थप कर्मचारीहरुमाथि पनि निगरानी बढाइएको र अनुसन्धान जारी राखेको छ ।
बैंकका म्यानेजरले नै करौडौं रुपैयाँ हिनामिना गरेको खबर सञ्चार माध्यममा प्रकाशित भएसँगै पछिल्लो समय बैंकिङ सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
यसअघि पनि केहीवर्ष अघि दाङमै बैंक अफ काठमाडौँमा करोडौँ रुपैयाँ लुटपाट भएको थियो । घटनामाथि अनुसन्धान गर्दै जाँदा म्यानेजरको मिलेमतोमा लुटपाट भएको रहस्य खुलेको थियो ।
यसरी दाङमा एकपछि अर्को गर्दै बैंकिङ रकम असुरक्षित बन्दै गएको छ । नागरिकले जम्मा गरेको करोडौं रकममा बैंकका म्यानेजरले नै गिद्धे नजर लाउन थालेपछि बैंकिङ सुरक्षामा चुनौति बढेको छ ।
बैंक सञ्चालकले विश्वास गरेर पठाएका प्रतिनिधिले बैंकमा जम्मा भएको रकम हिनामिना गर्न थालेपछि नागरिकले अब कसलाई विश्वास गर्ने ? बहसको विषय बनेको छ ।
बैंक क्षेत्रमा देखिएको असुरक्षाले नागरिकमा त्रास समेत छाएको छ । बैंकमा विभिन्न समयमा देखिने गरेका यस्ता समस्या समयमै केलाउन आवश्यक छ । घटनामा दोषि देखिएका दोषिलाई तुरुन्त कार्बाही गरी नागरिकलाई विश्वसनियता दिन बैकहरुले गम्भिर भएर सोच्नुपर्ने समय आएको छ ।
विभिन्न समयमा देखिने यस्ता समस्या अरु बैंकमा पनि नहोला भन्न सकिन्न । बैंकिङ सुरक्षाका लागि अन्य बैंक सञ्चालकले पनि नागरिकको विश्वास बढाउन सक्नुपर्छ । सरकारले एक व्यक्ति एक बैंक खाताको नीति लिएको छ तर बैंकिङ क्षेत्रमा देखिने यस्ता समस्याले सरकारको नीति नै प्रभावित हुने देखिन्छ । यसमा सबै सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *