बैंकिङ सेवा र बैंकरहरूको दसैँ

फिचर विचार समाज

नेपालीका ठूला पर्व दसैँ र तिहार नजिकिएसँगै बैंकहरुमा सेवाग्राहीको भिडभाड लाग्ने गरेको छ । बैंकबाट पैसा लिन होस् या राख्न होस् सेवाग्राहीको चाप अरु समयमा भन्दा चाडपर्वको समयमा बढी हुने गरेको छ ।
सेवाग्राहीको मागलाई मध्यनजर कतिपय बैंकहरुले दसैँ, तिहार स्पेशल काउन्टरको व्यवस्था गरेर सेवा दिने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वमा हुने भिडभाडलाई सहजरुपमा सेवा प्रदान गर्न के कस्ता प्रयास भएका छन् ? अनि बैंकरहरुको यसपालिको दसैँ कस्तो हुँदैछ त ? बैंकका शाखा प्रवन्धकसँग प्रदेश टुडेकर्मी जीतसागर जी.एम.ले गरेको कुराकानीको सारसंक्षेप ।


ग्राहक फिर्ता गरेका छैनौं

गोपाल आचार्य
प्रमुख
राष्ट्रिय वाणिज्य बैंक
तुलसीपुर

दसैँ र तिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै स्वभाविक रुपमा नै सेवाग्राहीको चाप बढ्ने गर्छ । हामीले पनि चाडपर्वलाई लक्षितमात्र नभएर अन्य समयमा पनि सेवाग्राहीलाई सहजरुपमा नै सेवा दिने प्रयासमा छौँ । जनशक्ति अभाव भएका कारण दसैँ, तिहार स्पेशल काउण्टरको व्यवस्था गरेका छैनौँ तर पनि सेवा सहजरुपमा नै दिएका छौँ ।
बैंकमा आउनुभएका ग्राहकलाई फिर्ता गरेका छैनौँ । चाडपर्वको समयमा बढी भिडभाड हुने भएकोले पनि सुरक्षामा बढी सतर्क छौँ । हाम्रो बैंकको तुलसीपुर शाखामा अहिले पाँचजना सुरक्षा गार्डको व्यवस्था गरिएको छ । २४सै घण्टा खुल्ने एटिएम सेवा पनि दिइराखेका छौँ । ग्राहकको माग बढ्दै गएकाले अर्को एटिएम सेवा पनि थप्ने योजना बनाएका छौँ ।
हाम्रो अहिले तुलसीपुर शाखामा करिब ५० हजार ग्राहक संख्या रहेको छ । ति ग्राहकलाई सन्तुष्ट नै पारेका छौँ । अहिले दसैँमा नयाँ नोटको प्रचलन ज्यादै रहेको छ । अहिले हाम्रो शाखामा सरकारी तथा विभिन्न वित्तीय संस्थाका लागि करिब साढे ३ करोड नयाँ नोट आएको छ ।
हामीले नयाँ नोट वितरण गरिरहेका छौँ । नयाँ नोट लिनका लागि ग्राहक हुनुपर्दैन तर निश्चित रकममात्रै हामीले उपलब्ध गराउने छौँ । बर्दिया मेरो घर । मेरो अहिलेको दसैँ घरमा नै हुन्छ । विगतका वर्षमा पनि घरपरिवार, आमाबुवासँगै मनाएको थिए । अहिले पनि घरमै हुन्छ । अन्त्यमा बडादसैँ तथा दिपावलीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।


सहज सेवा प्रदान

सरोज लामिछाने
प्रमुख
मुक्तिनाथ विकास बैंक
तुलसीपुर

चाडपर्वको समयमा हुने भिडभाडलाई पनि हामीले सहजरुपमा सेवा प्रदान गरिरहेका छौँ । सेवाको गुणस्तर बढ्दै जाँदा तुलसीपुरमा रहेको हाम्रो शाखामा ग्राहकको संख्या पनि बढ्दै जान थालेको छ । सेवाग्राहीलाई जतिसक्दो छिटो र भरपर्दो सेवा दिइराखेका छौँ ।
कर्मचारी साथीहरु पनि अरु समयमा झैँ नरम र सरलरुपमा सेवा प्रदान गरिरहनुभएको छ । सुरक्षाको बैंकमा सेवाग्राहीले सुरक्षाको महशुस गर्न पाउनुहुन्छ । सेवाग्राहीले बैंकमा सुरक्षितका साथ कारोबार गर्नका लागि हामीले बनाएको सुरक्षा रणनीति प्रभावकारी नै छ । मेरो दसैँ पनि वितेको वर्षझैँ हुन्छ । परिवारसँग भेटघाट र घुमघाम हुनेछ ।


सुरक्षा तथा सेवामा गुणस्तर

शम्भु कार्की
प्रमुख
ग्लोबल आइएमई बैंक
तुलसीपुर

हामीकहाँ अन्य समयमा पनि भिडभाड नै हुन्छ । तर त्यो समयभन्दा चाडपर्वको समयमा बढी भिडभाड हुने त नियमित प्रक्रिया नै हो । हामीकहाँ रेमिट्यान्स र सरकारी कारोबार हुने भएका कारण अझै बढी भिडभाड हुने गरेको छ ।
अहिले हामीले दसैँ र तिहारलाई छु्ट्टै काउन्टर त छैन् तर सेवाग्राहीले सास्ती नपाउने गरी सेवा दिएका छौँ । हामीसँग एटिएम भएका कारण पनि एटिएम सेवामा अधिकतम प्रयोग हुने गरेको छ । सुरक्षाका हिसाबले पनि हामी चाडपर्वको समयमा मात्र नभएर सधैँ झैँ चुस्तदुरुस्त राखेका छौँ ।
ग्लोबल आइएमई बैंकमा सेवाग्राही असुरक्षित भएको खबर अहिलेसम्म छैन् । हुन पनि दिने छैनौँ । बैंक नै असुरक्षित भए त नागरिकको विश्वास कसरी गर्लान् र ? दसैँमा नयाँ नोटको प्रचलन पछिल्लो समय निकै छ तर चाडपर्वको समयमा आउने नयाँ नोटले पनि अलिकति वितरण पनि समस्या हुने गरेको छ ।
पर्याप्तरुपमा नोट आउँदैन् तर माग भने बढी हुन्छ । हामी सकेसम्म सबैलाई फिर्ता गर्ने छैनौँ । मेरो यसपालीको दसैँ स्पेशल छैन् । मेरो बुवाको यसवर्ष निधन भएको हुँदा हामी यसपालि दसैँ मनाउँदैनौँ ।


एटिएम सेवा विस्तार हुँदै


डिल्लीबहादुर खत्री
प्रमुख
ज्योति विकास बैंक
तुलसीपुर

दसैँ र तिहारमा अरु समयमा भन्दा बढी भिडभाड हुन्छ । तर हामीले सहजरुपमा व्यवस्थापन गरिरहेका छौँ । हामीकहाँ आउने कुनै पनि सेवाग्राहीले सास्ती पाउनुपर्ने अवस्था आउँदैन् ।
चाडपर्व लक्षित विशेष काउण्टर स्थापना नगरे पनि सेवा लिन सहज नै छ भन्ने म यहाँलाई विश्वस्त दिलाउन चाहन्छु । अहिले हाम्रो तुलसीपुर शाखामा करिब ८ हजार ग्राहक संख्या रहेको छ । सेवालाई विस्तार गर्दै लगेका छौँ । निकट भविष्यमा एटिएम सेवा पनि प्रदान गर्दैछौँ । एटिएम सेवा शुरु गर्न सकियो भने ग्राहकलाई केहि भएपनि सहजता आउने छ । सेवाग्राहीको संख्या बढ्दै जान थालेको छ ।
सेवालाई गुणस्तरीय बनाउँदै लैजाँदा सेवाग्राहीको संख्या बढ्न थालेको हो । सुरक्षाका कुरा गर्दा हामीकहाँ ढुक्क भएर सेवा लिदा हुन्छ । कुनै किसिमको डर भए हुँदैन्, हुने पनि छैन् । चाडपर्वमा हुनसक्ने विभिन्न लुटपाटका घटनालाई मध्यनजर गर्दै सेवाग्राहीलाई पूर्ण सुरक्षाको ग्यारेन्टी दिन सक्छौँ । अहिलेसम्म कुनै पनि किसिमको त्यस्ताखालका घटना भएको छैन् ।


नियमित बढी सेवा

सुमन बस्नेत

प्रमुख

कर्णाली डेभलभमेन्ट बैंक

तुलसीपुर

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै हामीले नियमित समयभन्दा ४५ मिनेट बढी सेवा दिएका छौँ । त्यतिमात्र नभई बैंकमा आउने सेवाग्राहीलाई सकेसम्म, सम्भव भएसम्म फिर्ता पठाइएका छैनौँ ।
वितेका वर्षमा भएका कमि कमजोरीलाई आत्मसात् गरेर अहिले सेवालाई थप गुणस्तर बनाउने प्रयासमा छौँ । सेवाको हिसावले अब सबै सेवाग्राही सन्तुष्ट हुने अवस्था त आउँदैन् ।
तर पनि सकेसम्म सन्तुष्ट बनाएर पठाउने र पठाइरहेको कुरा म यहाँलाई जानकारी गराउँदछु । बैंकको एटिएम सेवा पनि सञ्चालन भएका कारण हामीकहाँ आउने सेवाग्राहीलाई खासै समस्या छैन् । त्यसैगरी हामीले सेवालाई सुरक्षित बनाउने प्रयासमा छौँ ।
चाडपर्वको समयमा बैंकमा पनि विभिन्न किसिमका लुटपाटका घटना हुने गरेका कारण यसलाई मध्यनजर गर्दै हामीकहाँ अहिले चारजना सुरक्षागार्ड हुनुहुन्छ भने प्रहरीले पनि विभिन्न समयमा रेखदेख गर्ने गरेको छ ।
सेवाग्राहीले कर्णाली डेभलभमेन्ट बैंकमा सुरक्षित महसुस गर्न सक्नुहुन्छ । हामीकहाँ आउने कुनै पनि ग्राहकले सुरक्षित महशुस गर्न सक्नुहुन्छ । सकेसम्म सबैलाई सन्तुष्ट बनाउने प्रयास हुन्छ । र खासगरी मेरो दसैँ सदाझैँ तुलसीपुरमै हुन्छ । अहिले पनि वितेको वर्षझैँ घरमै परिवारसँग हुन्छ र सामान्य हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *