बेवारिसे अवस्थामा हतियार फेला

फिचर मुख्य खबर राजनीति समाज

घोराही, १ मंसिर ।
दाङ प्रहरीले सुटकेसमा लुकाई छिपाई राखेको हातहतियार फेला पारेको छ । प्रहरीले दाङ र कपिलवस्तुको सिमाक्षेत्र शिवनगरपालिका–१ बाट सुटेकेसमा राखेर स्याउलाले पुरेको बेवाररिसे अवस्थामा हातहतियार फेला पारेको हो । विप्लव समूहले स्नान्तरण गर्न लागेको पाँच थान अत्याधुनिक हतियार एसएमजी दाङ प्रहरीले बरामद गरेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
‘दाङ र कपिलवस्तुको सीमाक्षेत्रबाट विप्लव समूहले स्थानान्तरण गर्न लागेको ठूलो मात्रामा हतियार फेला पारेका छौँ, पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी जनकप्रसाद भट्टराईले भने– ‘प्रहरीलाई प्राप्त विशेष गोप्य सूचनाको आधारमा पाँच थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ ।’
जिल्ला प्रहरी कार्यालय दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा बेवारिसे अवस्थामा ठूलो संख्यामा हातहतियार तथा गोलीगठ्ठा सार्वजनिक गरिएको हो । विप्लव समूहले हातहतियार दाङ र कपिलबस्तुको सीमाना हुँदै स्थानान्तरण गर्न लागेको विशेष गोप्य सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गढवासमेतको संयुक्त विशेष प्रहरी टोलीले निरन्तर निगरानी र खोजतलास गर्दै जानेक्रममा हतियार फेला पारेको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।

विप्लव समूहले नै लुकाएर राखेको हतियार भन्ने प्रमाण नै त भेटिएको छैन्, तर पनि हाम्रो अनुसन्धान भने विप्लव समूहमाथि नै छ ।


‘विप्लव समूहले नै लुकाएर राखेको हतियार भन्ने प्रमाण नै त भेटिएको छैन्, तर पनि हाम्रो अनुसन्धान भने विप्लव समूहमाथि नै छ’ उनले भने– ‘अनुसन्धानमै छौँ अहिले नै यसैको भन्न सकिने अवस्था छैन् ।’ प्रहरी प्रमुख भट्टराईका अनुसार एसएमजी राईफल ५ थान, उक्त राईफलको म्याग्जीन १३ थान र सोही राइफलमा प्रयोग हुने गोली ३ सय ९० राउण्ड फेला परेको छ । हतियार स्थानान्तरण हुन थालेको गोप्य सूचनाको आधारमा प्रहरीले शुक्रबार बेलुका ६ बजे गढवा र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामा रहेका तीन÷चारवटा बेवारिसे खाली गोठमा निगरानी राखेको थियो ।
प्रहरीको अनुसन्धानको क्रममा शुक्रबार साँझ शिव नगरपालिका–१ तर्फको खाली गोठमा स्थानान्तरण गर्नको लागि सुटकेसभित्र राखी पात पतिङ्गर र झारपातले छोपी लुकाई राखेको अवस्थामा हतियार भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए । ‘प्रहरीको फोर्स पुगेपछि हतियार छोडेर भागेको पनि हुनसक्छ’, उनले भने– ‘हतियार फेला पारियो तर हतियार लुकाउने मानिसलाई फेला पार्न सकिएन ।’
फेला परेको हातहतियार र गोलीगठ्ठा के कुन प्रयोजनको लागि कहाँ लैजान लागिएको थियो ? भन्ने थप अनुसन्धान भइरहेको उनले बताए । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरू हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उनीहरू हतियार छाडेर भागेको दाबी प्रहरीले गरेको छ ।
यसैबीच दाङ प्रहरीले एकजना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ पटेरीखोलाका ३० वर्षिय प्रतिवन्धित विप्लव समूहको सेक्सन अध्यक्ष प्रकाश बुढामगरलाई एक्लै हिडिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *