बेलझुण्डी खानेपानी काम चलाउकै भरमा

मुख्य खबर समाज

तुलसीपुर, २२ भदौ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसरफाई संस्था लामो समयदेखि काम चलाउ नेतृत्वमै रहेको छ । विस २०७४ साल २० गते नेतृत्व छनौटका लागि निर्वाचन थियो तर त्यो समयमा निर्वाचन हुन नसकेपछि अहिलेसम्म काम चलाउ समितिले संस्था सञ्चालन गरिरहेको छ । शनिबार पनि यसमा प्रयास भएको थियो तर त्यो पनि सफल हुन सकेन ।
नयाँ नेतृत्व छनोटमा कुनै छलफल नै नभएको समितिका अध्यक्ष प्रदिप गौतमले बताए । संस्थामा वैधानिक रुपमा समिति चयन हुन नसक्दा काम गर्न असहज भएको उनले बताए ।
‘अहिले सामान्य किसिमका काम गरेर संस्था चलाउने काम भएको छ तर ठूला–ठूला कामहरु गर्न सकिएको छैन’ –उनले भने ‘संस्थामा नयाँ नेतृत्व चयनका लागि पटक–पटक विभिन्न प्रयास पनि थालेको छु तर सबै प्रयास विफल भएका छन् ।’
शनिबार भएको साधारणसभा तथा अधिवेशनमा सहभागी सरोकारावालाले नेतृत्व चयनमा सहमति खोज्न प्रयास गर्र्नसमेत आग्रह गरे तर पनि सहमतिका लागि पनि प्रयास भएन् । ‘अहिलेसम्म कुनै छलफल भएको छैन् अर्को सूचना नआउँदासम्मका लागि अहिले यसै भन्न सकिने अवस्था छैन’ गौतमले भने ।
प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीले खानेपानीजस्तो सामाजिक क्षेत्रमा राजनैतिक दलहरु एक भएर नेतृत्वमा निकास दिनुपर्ने बताए । ‘खानेपानी संस्था सामाजिक काम हो, यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन्,
लामो समयसम्म काम चलाउ नेतृत्वमा संस्था चल्नु हामी सबै दोषि छौँ, अब संस्थाको नेतृत्व छनौटमा वैधानिकता दिनुपर्छ’ उनले भने ‘क्रियाशील राजनैतिक दलहरु हामी एक भएर संस्थाको नेतृत्व छनोटमा लाग्नुपर्छ ।
उनले समस्या समाधानमा सरकार गम्भीर रहेको भन्दै सरकार र जनताको लगानीमा खानेपानीका योजनाहरु निर्माण गरिने क्रम शुरु भइसकेको बताए । बढ्दै गएको जनसंख्या र सुक्दै गएको मुहानलाई मध्यनजर गरी सरकार पानीको दीर्घकालिन समस्या समाधानमा ध्यान दिएको दाबी गरे ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले खानेपानीका योजना स्थानीय तहमा हस्तान्तरण भएपनि अधिकांश उपभोक्ता खानेपानी डिभिजन कार्यालयमै योजना माग्न जाने गरेको बताए ।
उनले अब प्रदेश सरकारले खानेपानी डिभिजन कार्यालयमार्फत खानेपानीका योजना निर्माणको काम अघि बढाएकोसमेत बताए । पानीको मूख्य स्रोत मानिएको चुनढुंगा उत्खनन् बढ्दैै गइरहेको प्रति सहभागीले चिन्ता व्यक्तसमेत गरेका छन् ।
उनीहरुले संविधानतः खानेपानीलाई मौलिक अधिकार भएपनि अझै पनि नागरिक स्वच्छ खानेपानीबाट बञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै अब पनि नागरिक खानेपानीबाट बञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताएका छन् ।
जथाभावी रुपमा निर्माण भइरहेका सडक निर्माण, चुनढुंगा उत्खनन्, मासिदै गएको वनजंगल, नदीजन्य पदार्थको जथाभावी उत्खनन्लगायतका कारण पानीको दीर्घकालिन संकट पर्ने अवस्था रहेको भन्दै खानेपानीको सहज व्यवस्थापनमा ध्यान दिन उपभोक्ताले सरोकारवालालाई आग्रहसमेत गरेका छन् ।
संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली, उपभोक्ता शरण जिएम, संस्थापक अध्यक्ष भैरव मजगैयाँलगायतले मुहानदेखि उपभोक्ताको मुखसम्म स्वच्छ पानी पुग्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *