बेकामे ओली सरकारः देउवा

फिचर मुख्य खबर

देउखुरी, २१ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान ओली सरकार बेकामे भएको आरोप लगाएका छन् । उनले ओलीको एक वर्ष उखान टुक्कामा मात्रै बितेको काम शुन्य भएको बताए । नेपाली काँग्रेसको क्षेत्रीय सभालाई दाङको लमहीमा सम्बोधन गर्दै देउवाले त्यस्तो बताएका हुन् ।
‘ओली सरकार बनेको एक वर्षभन्दा बढी भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’ उनले भने, ‘सबै गलत काम गरिरहेको छ । उखान टुक्काको वर्षा र दम्भ देखाउने बाहेक केही काम भएको छैन ।’
दुई तिहाइको सरकार गठन भएको एक बर्ष भैसक्यो तर एउटा सिन्कासमेत नभाँचेको देउवाले आरोप लगाए । यो सरकार गठन भएसँगै हत्या, हिंसा, बलात्कारका घटना दिनदिनै बढ्दै गएको भन्दै निर्मला पन्तको हत्यारा अझैसम्म पक्राउ गर्न नसकेको भन्दै आलोचना गरे ।
सभापति देउवाले अब ओली सरकारविरुद्ध काँग्रेसले आन्दोलन गर्ने र त्यसका लागि तम्तयार रहन कार्यकर्तालाई आग्रह गरे । त्यस्तै देउवाले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे  ।
रेलिङ भाँच्ने र माइक तोडफोड गर्ने मात्र प्रतिपक्षको भूमिका नभएको भन्दै प्रभावकारी प्रतिपक्षको भूमिका काँग्रेसले निभाइ रहेको बताए । आगो लगाउने, तोडफोड गर्ने काम गलत भएको तर आवश्यक परे त्यस्ता क्रियाकलाप पनि गर्न सकिने देउवाको कथन थियो । सत्ता बाहिरबाट विरोध र अवरोध गर्ने कार्यक्रम काँग्रेसले गरिरहेको उनले बताए ।
उनले पार्टीको विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था रहेको बताए । उनले महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था गरिएको जानकारी दिए । ‘काँग्रेस सबैको पार्टी हो । महिला, थारु, मधेसी, दलितलाई आरक्षणको व्यवस्था छ’ उनले भने, ‘चुनावको नाममा तलैबाटै जरा उखेल्न खोज्नु असहिष्णुता हो ।’

रेलिङ भाँच्ने र माइक तोडफोड गर्ने मात्र प्रतिपक्षको भूमिका नभएको भन्दै प्रभावकारी प्रतिपक्षको भूमिका काँग्रेसले निभाइ रहेको बताए 

दाङको लमहीमा बुधबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले सरकारको आलोचना गरिरहेको बेला पार्टीभित्रैबाट आफ्नै आलोचना हुने गरेको बताए ।
त्यस्तै आफू प्रधानमन्त्री रहेका बेला जहाँ–जहाँ राजधानी तोकिएका छन् ति सबै अस्थायी हुन् र अब स्थायी राजधानी तोक्ने जिम्मा प्रदेश सरकारको भएको भन्दै प्रदेशले उचित स्थानमा राजधानी तोक्ने बताए । मैले त्यो बेला चाहेर पनि स्थायी राजधानी तोक्न पाउदैन थिए, फेरी प्रशस्त पूर्वाधार पनि आवश्यक भएकोले बुटवल स्थायी राजधानी तोकेको हुँ देउवाले भने ।
सिके राउतका समर्थकले मधेसमा नयाँ नेपालमा स्वागत छ भनेर बोर्ड राखेको भन्दै यो कस्तोखालको सहमति हो ? केपी ओलीको सरकारले जनतालाई जवाफ दिनुपर्ने देउबाले बताए ।
जनमत संग्रहको नाममा कुनै पनि हालतमा देश टुक्र्याउन नपाइने देउवाको भनाइ छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले गल्ती गरेको भन्दै शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्ने देउवाले बताए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको अध्यक्षता भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्य दिपक गिरी, पार्वती डिसी चौधरी, चन्द्र भण्डारी, भिष्मराज आङदम्बे, देवेन्द्रराज कँडेल, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेश नम्बर ५ का प्रदेश सांसद डिल्लीबहादुर चौधरी, पूर्व सांसद सुशीला चौधरी, योगेन्द्र चौधरी, राजु खनाल, गेहेन्द्र गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्कालगायतले सम्बोधन गरेका थिए । क्षेत्रीय उपसभापति देवानजंग चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रममको सञ्चालन सचिव हरिहर घिमिरेले गरेका थिए ।

विपी स्मृती भवनको शिलान्यास

यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लमही–५ रातोडाँडामा निर्माण हुन थालेको विपी स्मृती भवनको शिलान्यास गरेका छन् । लमही नगरविकास समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ लाखको बजेटमा उक्त भवन बन्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *