बुवाआमा सम्मानमा ‘मनदिल’ टावर

फिचर मुख्य खबर समाज

भन्निछ जब मान्छे खुशी हुन्छ । आँसुले आँखा कब्जा गर्छ । चाहेर पनि उसले आँसु लुकाउन सक्दैन् । अनि खुशी पनि । घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ८७ वर्षका मनबहादुर पुन मगरले चाहेर पनि खुशी लुकाउन सकेका थिएनन् । उमेरले ८७ बसन्त पार गरिसकेका पुनको खुशीको सीमा नै थिएन् । आँखामा आँसुले भरिएको थियो । तर उनी समालिरहेका थिए । खुशी हुनुको कारण थियो उनको नाम मन र श्रीमतीको नाम दिल कुमारीको ‘दिल’बाट ‘मनदिल’ नामको भ्यू–टावरको उद्घाटन भएको थियो । उनको एउटा सपना थियो । समाजको लागि केही गर्ने । मानिसले केही पनि लिएर आएको हुँदैन । संसार छोड्ने बेला पनि केही लिएर जाँदैन् । तीन वर्ष अगाडि उनको घरमा उनकै चौरासी पुजा चल्दै थियो । उनको एउटा सोंच आयो कुनै सामाजिक सस्थामा पैसा जम्मा गर्ने र त्यसबाट आएको ब्याजले समाजका कुनै वर्गको लागि काम गर्ने । उनले आफुले ईच्छाएको कुरा पनि परिवार राखे । जब चौरासी पूजा चल्दै थियो । बुवाले राखेको कुरालाई छोराहरु गुमान बहादुर पुन मगर, नरेन्द्र पुन मगर, डा बसन्त पुन मगरलाई सोच्न बाध्य वनायो । संस्थामा जम्मा गरेको पैसाले दीर्घकालिन सदुपयोग नहुने निष्कर्ष निकाल्दै दाङमा बुबाआमाको नामबाट एउटा भ्यूटावरको निर्माण गर्ने । त्यसै योजना अनुसार चौरासी पूजाकै दिन घोराही उपल्लो डोढेनीस्थित नमछु बौद्ध गुम्बा परिसरमा ‘मनदिल पुन भ्यू–टावर’ निर्माण गर्ने योजना बन्यो । र त्यो योजना पूरा गर्नको लागि छोराहरुले पनि साथ दिएर अन्ततः सफल भयो । ‘सानोमा ढोडेनीबाट रातको समयमा तुलसीपुर बजारमा जेनेरेटरले बत्ती बलेको देखेको सम्झना ताजै छ । ‘यो गुम्बा रहेको ठाउँमा पहिलो डाँडा थियो, यहाँबाट तुलसीपुर बजारमा बत्ती बलेको देखिन्थ्यो’ उनले विगत सम्झदै भने ‘यो भ्यू–टावरमा चढेर हेर्ने हो भने तुलसीपुर क्षेत्र पनि देखिन्छ ।’ ८७ वर्षको उमेरमा उनी १७ मिटरको उचाई र ५.५ मिटरको चौडाई रहेको ‘मनदिल’ भ्यू–टावरमा चढेर दाङ उपत्यका हेरे । उनी मुख्यमन्त्री शंकर पोख्रेलसँगै र श्रीमती दिलकुमारी पुनसँग सहजै भ्यू–टावर चढेर उपत्यका नियाले । उनी निकै खुशी थिए । अनि भाग्यमानी बाबुआमा पनि । ‘मान्छेहरुमा लोभ लालच मोह हुन्छ ।

मैले सबै त्यागेर सामाजको लागि केही ग¥यो भनेर छोराहरुसँग सल्लाह मागे’ उनले खुशी हुँदै कार्यक्रममा व्यक्त गरेका थिए । जहाँबाट पूर्व चौपट्टादेखि पश्चिम तुलसीपुर क्षेत्रसम्म आँखा डुलाएर हेर्न सकिन्छ भने आँखा कम देख्नेहरुको लागि दूरबीनबाट दाङ दर्शनको ब्यवस्था पनि मिलाइने माइला छोरा नरेन्द्र पुनले बताए । दाङमा पहिलो पटक निर्माण भएको भ्यू–टावरमा एक पटकमा १५ देखि २० जना चढेर दाङ उपत्यका हेर्न पाउने उनले बताए । भ्यू–टावरमा सर्वसाधारणलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँको शुल्क लिई समितिले जनाएको छ । त्यसबाट खर्च कटाएर सरकारी विद्यालयमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिने समितिका सदस्य नरेन्द्र पुनले जानकारी गराएका थिए । सदस्य पुनका अनुसार टावर संरक्षणको लागि दुईजना कर्मचारीको समेत व्यवस्था गरिएको छ । गुम्बासम्म पुग्नको लागि सडकको स्तरोन्नति, सिढी निर्माण, शौचालय पार्किङ स्थलको पूर्वाधारको गर्न बाँकी रहेको अझै पाँच लाख जति खर्च लाग्ने समितिले पत्रकार सम्मेलनमा जनाएको थियो । समितिका अध्यक्ष सतबहादुर रोका मगरको अध्यक्षतामा भएको भएको मनदिल टावरको उद्घाटन कार्यक्रम भएको थियो । मुख्यमन्त्री शंकर पोख्रेलले मनदिल टावरको उद्घाटन गरेका हुन् । टावरको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले दाङको दृश्य अवलोकन गर्न भ्यू–टावरले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । गुम्बासमेत रहेको यो क्षेत्रमा भ्यू–टावर निर्माण भईसकेपछि पर्यटन तान्ने उनले बताए । नयाँ योजना र नयाँ संचरना निर्माण गरेर समृद्ध दाङ बनाउन भूमिका खेल्ने पुन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । भ्यू–टावरले दाङको पर्यटन विकासको लागि एउटा आधार खडा भएको बताए । पर्यटन क्षेत्रको विकासको लागि प्रदेश सरकारले दाङका तीन करोड छुट्याएको समेत जानकारी गराएका थिए । क्याप्टेन पुनका जेठा छोरा रिटायर्ड, माइला छोरा ब्यवसायी, कान्छा छोरा चिकित्सक र छोरी कलावती पुन बुढा शिक्षक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *