तुलसीपुर, १७ बैशाख ।
२५ सय ६२औँ बुद्धजयन्ती सोमबार विविध कार्यक्रम गरी दाङ लगायत देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुद्धजयन्तीका अवसरमा मुलुकभरका बुद्धबिहार, मठ तथा गुम्बाहरुमा धार्मिक कार्यक्रम, प्रार्थनाका साथै बुद्धसम्बन्धी प्रवचनहरु भएका छन् ।
२५ सय ६२औं बुद्ध जयन्तीका अवसरमा तुलसीपुर–७ बसन्तपुरको सम्झी बौद्ध गुम्वामा समेत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले विभिन्न धर्मका बीचमा प्रतिस्पर्धा नभई समन्वय र सद्भाव हुनुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौधरीले बुद्ध दर्शन विश्वमा उच्च रहेको बताउँदै उनले विश्वमा शान्तिको सन्देश फैलाएर नेपाललाई विश्वमा चिनाउने बुद्धको जन्मजयन्तीलाई राज्यले पर्वका रुपमा मनाउनुपर्नेमा जोड समेत दिए ।
गुम्वा व्यवस्थापन समितिका उपाध्यक्ष मीनकान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा, पत्रकार नारायण भण्डारीलगायतले बुद्धको दर्शनलाई व्यवहारमा उतार्न सके हिंसामुक्त समाज निर्माण गर्न सकिने बताएका थिए ।
लुम्बिनीमा शाक्यवंशीय राजा शुद्धोधन र रानी मायावतीका पुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभार प्रख्यात भएका हुन । बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना दिएका छन ।