बिषादीरहित तरकारी उत्पादनमा जोड

मुख्य खबर

दाङ, २४ असार । बिषादीरहित तरकारी उत्पादन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा धर्नाको दलजितपुरमा भएको कृषकहरुका लागि अर्गानिक तरकारी खेतीसम्बन्धी तालिम तथा बीउबिजन वितरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले कृषि व्यवसायलाई आधुनिकरण गर्न आवश्यक रहेको बताए ।
परम्परागत कृषि व्यवसायबाट किसानहरुले आर्थिक आम्दानी लिन नसक्ने भन्दै श्रेष्ठले व्यवसायको आधुनिकरण गर्दै अर्गानिक तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए । ‘परम्परागत कृषि प्रणालीबाट किसानलाई फाइदा हुँदैन’ श्रेष्ठ भने,
‘कृषि व्यवसायबाट आम्दानी लिनका लागि व्यवसायको आधुनिकरणमा ध्यान दिनुप¥यो ।’ आधुनिकरणको नाममा बिषादी प्रयोग नगर्न समेत आग्रह गरे ।
मानिसहरुलाई स्वस्थ तरकरी आवश्यक रहेको भन्दै नेता श्रेष्ठले किसानहरुले बिषादीरहित तरकारी उत्पादनमा ध्यान दिनुपर्ने बताए । बिषादीका कारण मानिसहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै नाफा कमाउने नाममा बिषादी हालेर तरकारी उत्पादन नगर्न समेत सुझाव दिएका थिए । उनले धर्नालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए ।
धर्नामा प्रशस्त खेतीयोग्य जमिन रहेको र सिंचाईको समेत व्यवस्था रहेकाले धर्नालाई अर्गानिक कृषि पकेटका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । त्यसका लागि आफूले सक्दो पहल गर्ने समेत बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले किसानको आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउने गरी कृषि व्यवसायको आधुनिकरण हुन आवश्यक रहेको बताए ।
बर्षातको समयमा कसरी तरकारी उत्पादन गरेर आयआर्जन गर्न सकिन्छ भनेर व्यवसायीक रुपमा तरकारी खेतीमा संलग्न किसानहरुलाई तालिम दिएको हो । तालिममा वडाका ३० जना किसानहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा सरस्वती सुवेदी रहेकी छन् । कार्यक्रमको सहजीकरण बिष्णु पैडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *