- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरबालुवामा सुन खोज्दै

बालुवामा सुन खोज्दै

- Advertisement -spot_img

देउखुरी, २१ माघ । माघ महिनाको कठ्याङ्गग्रिदो जाडोलाई वास्तै नगरी राप्ती नदी किनारमा सुन खोज्दै गरेको अवस्थामा भेटिन्छन् लमही नगरपालिका वडा नम्बर ९ का कमलप्रसाद कुमाल । उनका छोराहरू सबै अलग भैसकेका छन्, परिवार पाल्नकै लागि पनि नदी किनारामा बालुवा चाल्नुपर्ने बाध्यता छ ।
राप्ती नदीको किनारामा सीमान्तकृत समुदायका कुमाल र बोटे समुदायका मानिसहरूको दैनिकी नै बालुवामा सुन खोज्दै बित्ने गरेको छ ।
उमेरले ६ दशक बढी भइसकेका कमल प्रसादलाई दुःखले भने फनक्कै घेरेको छ । उमेर हुँदा त उनी पनि पैसा कमाउन भारत गए तर उमेरको उत्तरार्धमा पुग्दा कमाउन बाहिर जान नसक्ने भएपछि बालुवा चालेर दैनिक चलाउनुपरेको छ । उनले बिगत १२ वर्षदेखि राप्ती नदीको किनारलाई आधार बनाएर सुन खोज्ने र बिक्री गरेर जीविका चलाएका छन् ।
राप्ती नदीको बालुवाबाट सुन निकाल्न त्यति सजिलो छैन तर पनि कमलजस्तै अन्य व्यक्ति पनि राप्ती नदीलाई जीवन चलाउने आधार बनाएका छन् । सुन चाल्ने काम गरेर कमलले घर खर्च चलाएका छन् ।
दिनमा बडो मुस्किलले एकलाल जति सुन निकाल्न सकिने कमलले बताए । ‘गतबर्ष एक लाल सुनको बजार मूल्य पाँच सय थियो, अहिले सुनको मूल्य बढेको छ त्यसैले आठ सयमा बिक्री हुने गरेको छ’

उनले भने– ‘सुन बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँछु ।’ कमल प्रसादका आफन्त पनि राप्ती नदीको किनारमा बालुवा चालिरहन्छन् ।
बर्षे भेलले बगाएर ल्याएको बालुवामा सुन खोज्ने र भेटिएको सुन घोराही, तुलसीपुर र लमहीका सुन ब्यवसायीकहाँ गएर बिक्री गर्ने गर्दछन् उनीहरूले । ‘राप्ती नदीमा ठूलो बाढी आयो भने बालुवामा सुन चाल्नेहरू खुशी हुने गर्दछन्’
जितबहादुर बोटेले भने– ‘राप्तीमा ठूलो भेल आयो भने सुन बढी भेटिन्छ तर यो बर्ष खास्सै ठूलो बाढी आएन सुन पनि त्यति भेटिदैन् ।’ राप्ती नदीको अवस्था हेरेर उनीहरू सुन चाल्न राप्ती नदी झर्ने गर्दछन् ।
‘सानो नदी भयो भने भदौबाटै सुरू गरिन्छ नत्र असोजतिर जान्छौँ’ उनले भने–‘सुन चाल्ने काम माघ–फागुनसम्म गर्ने गर्दछौं, चैत–बैशाखमा गर्मी हुन्छ त्यो बेला सकिदैन्’ ।
कुमाल र बोटे समुदायका मानिसहरू यो काम गर्ने गर्छन् । बालुवा चालेर सुन निकाल्नका लागि काठबाट बनेको डुर, हेर्ने र सुन झिक्न प्रयोग गर्ने करौती, बाँसबाट बनेको टट्टी र बालुवा कोट्याउन दाबिलो चाहिन्छ ।
एकलाल बराबरको सुन निकाल्न कम्तिमा एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ । तरूलिया गाउँका धेरै जसो ५०/६० उमेरका मानिसहरू लमही नगरपालिका वडा नम्बर ९ को तरूलिया राप्तीघाट र राजपुर गाउँपालिकाको वडा नम्बर ७ स्थित गल्चु ,
ताली, गोठुवा नजिक नदी किनारमा बालुवा चाल्ने काम गर्दछन् । ‘दुःख नगरी हुँदैन यो कामबाट महिनाको १५ हजार कमाउँछु’ तरूलियाका पाउडर कुमालले भने– ‘बालुवामा सुन खोज्दै दैनिकी चलेको छ ।’
नगरपालिकाकै सबैभन्दा विकट बस्तीका नामले तरूलियालाई चिनिन्छ । उक्त गाउँ अशिक्षा र गरिबीकै कारण त्यस गाउँले मुहार फेर्न नसकेको प्राथमिक विद्यालय भ्यूसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेतले बताए ।
‘तरूलिया गाउँमा कुमाल समुदायका ४० घर, बोटे २० र अन्य गरी ७६ घरधुरी संख्या रहेको छ’ उनले भने– ‘अझै पनि उक्त गाउँमा अर्काको घरमा कमैया बस्ने, अरूको खेतबारी जोत्ने चलन कायम नै छ ।’
तरूलिया गाउँका बालबालिकाहरू धेरैजसो स्कुलभन्दा अर्काको काम गर्न जान रूचाउने गरेको वडा सदस्य पार्वती विकले बताइन् । छोराछोरीलाई शिक्षा दिनुपर्छ भन्ने मानसिकता नहुँदा कलिला बालबालिका विद्यालय छोडेर सुन खोज्न जाने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here