तुलसीपुर, २८ मंसिर । दाङमा एक बृद्धलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गर्दै १० बर्ष कैद सजाय सुनाएको छ । ४ बर्षिया, ६ बर्षिया र ११ बर्षिया बालिकालाई बलात्कार गरेको मुद्दामा घोराही–४ का ८२ बर्षिय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले १० बर्ष कैद सजाय सुनाएको हो ।
न्यायधीश रितेन्द्र थापाको ईजलासले खत्रीलाई बलात्कार गरेको ठहर गर्दै १० बर्ष कैद गर्नेे फैसला गरेको हो । तर खत्री जेष्ठ नागरिक भएका कारण कुल कैदको ७५ प्रतिशत कैद मिनाहा हुने कानुनी ब्यवस्था रहेको छ । जसअनुसार खत्रीलाई २ बर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ ।
साथै पीडित तीन बालिकालाई जनही ७५ हजार रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसलासमेत गरेको छ । २०७५ बैशाख ८ देखि २०७५ असार २४ गतेसम्म तीन बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७५ असार २६ गते प्रहरीमा जाहेरी दिएका थिए ।