बालश्रम मुक्त घोषणा गर्न छलफल

मुख्य खबर

तुलसीपुर, १४ असार । दाङ तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ लाई यस क्षेत्रकै पहिलो बालश्रममुक्त घोषणा गरिने भएको छ । अबको दुई महिनाभित्र मै बालश्रममुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।
वडालाई बालश्रममुक्त घोषणा गर्न पहिलो चरणमा घर–घरमा पुगेर तथ्यांक संकलन गरिएको उनले बताए । यो तथ्यांक अनुसार वडामा १३ जना बालश्रमिक रहेको र उनीहरुलाई उद्वार गरी विद्यालय भर्ना गर्ने तयारी भइरहेको छ ।
घरेलु, होटल, निर्माण, यातायात, ग्यारेज गरी ७ जना बालक र ६ जना बालिकाले श्रम गरिरहेको तथ्यांक छ । वडाका ३ हजार २ सय ३९ घरमा पुगेर यो तथ्यांक संकलन गरिएको हो । १८ बर्ष मुनिका ४ हजार बालबालिकाको तथ्यांक संकलन गर्दा १३ जना बाल श्रमिक फेला गरेका हुन् ।
वडालाई बालश्रममुक्त गर्नका लागि शनिबार सरोकारवालाबीच भएको छलफलले नगर प्रमुखको संयोजकत्वमा ५१ सदस्यीय बालश्रममुक्त वडा घोषणा मूल समिति गठन गरेको छ ।
समितिमा उपप्रमुख माया आचार्य, वडा अध्यक्ष नवराज लामिछाने, पत्रकार महासंघ, यातायात, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, बाल सञ्जाल, युवा सञ्जाल, अधिकारकर्मीलगायत सरोकारवाला सदस्य रहेका छन् ।
छलफलले १३ सदस्यीय कार्यदल पनि गठन गरेको छ । यस्तै बालश्रममुक्त वडा घोषणाका लागि पाँचवटा उपसमिति गठन गरिएको छ । आर्थिक तथा सचिवालय व्यवस्थापन,
अनुगमन मूल्यांकन तथा प्रमाणिकरण, सूचना तथा सञ्चार, पुनस्र्थापना तथा उद्वार र घोषणा गरी पाँचवटा उपसमिति गठन गरिएको हो । सबै उपसमितिले तोकिएको जिम्मेवारी पूरा गरी राष्ट्रिय बाल दिवसको अवसर पारि वडालाई बालश्रममुक्त गरिने छ ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख माया आर्चाय,
ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी, उच्च अदालत बार तुलसीपुरका प्रदीप धिताल, अधिकारकर्मी शुष्मा गिरी, निर्मल नेपाली, पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारीलगायत सरोकारवालाले वडालाई बालश्रममुक्त घोषणाका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरेका थिए ।
न्यु सीपीसीका महासचिव नानीमैयाँ वलीको सञ्चालनबाट सुरू भएको कार्यक्रममा उपमहानगरको महिला तथा बालबालिका शाखा अधिकृत माया श्रेष्ठले स्वागत र न्यू सीपीसीका अध्यक्ष निशा लामिछानेले धन्यवाद मन्तब्य राखेका थिए ।
२४ बर्ष मुनिका बालबालिकालनई कुनै पनि श्रममा लगाउने नपाइने र १४ देखि १८ बर्षसम्मका बालबालिकालाई मापदण्ड पूरा गरी सम्वन्धित निकायबाट स्वीकृति लिइ श्रममा लगाउन पाउने कानुनी व्यवस्था रहेको छ । दाङमा हालसम्म कुनैपनि वडा वाल श्रम मुक्त घोषणा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *