बालश्रममुक्त अभियान तीब्र

मुख्य खबर

तुलसीपुर, ११ भदौ । तुलसीपुर उपमहानगरलाई बालश्रममुक्त बनाउने अभियान अहिले तिव्र रुपमा चलिरहेको छ । उपमहानगरलाई पूर्णरुपमा बालश्रममुक्त बनाउनका लागि विभिन्न वडाहरुमा विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन भईरहेका छन् ।
तुलसीपुर उपमहानगरलाई बालश्रमबाट मुक्त बनाउनका लागि वडा नम्बर ६ ले यसको सुरुवात गर्ने भएको छ । वडालाई बालश्रममुक्त घोषणा गर्नका लागि अहिलो वडामा विभिन्न किसिमका कार्यक्रमहरु समेत सञ्चालन भएका छन् । आगामी भदौ २८ गते वडालाई पहिलो बालश्रममुक्त वडा घोषणा गर्नका लागि अहिले वडा तीव्र तयारीमा जुटिरहेको छ ।
यसका लागि वडाले अहिले श्रमिक बालबालिकाहरुको अवस्था, कारण र स्रोत पहिचानका गरी उनीहरुको तथ्याङ्कसमेत संकलन गरेको वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेले बताए ।
वडामा रहेका सबै टोल तथा गाउँमा गरिएको सर्वेक्षण तथा अनुगमनमा भेटिएका १३ जना श्रमिक बालबालिकाहरुलाई श्रमबाट उद्धार गरेर परिवारमा पुनस्र्थापना गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
पुनस्र्थापनासँगै बालबालिकालाई विद्यालय भर्नासहित परिवारलाई आयआर्जनमा सहयोग गरिने वडा अध्यक्ष लामिछानेले जानकारी दिए ।
यसैगरी यस अभियानलाई पूर्णरुपमा सफल एवं प्रभावकारी बनाउनका लागि ५७ सदस्यीय मूल समितिसँगै विभिन्न पाँचवटा उपसमिति गठन गरिएको छ । सबै उपसमितिहरुले तोकिएको जिम्मेवारी अनुसार कार्य सम्पादन गरिरहेको वडा सदस्य तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक युवा कराराले जानकारी दिइन् ।
यसैबीच मूल समितिले वडाका सबै टोलहरुलाई बालश्रमिकको अवस्थाका बिषयमा सूचना दिन आग्रह गरेको छ । वडामा रहेका ७८ वटा टोल विकास संस्थालाई आफ्नो कार्यक्षेत्रभित्र बालश्रमिक भए नभएको वा कसैले श्रमिकका रुपमा पठाए नपठाएको सूचना दिन आह्वान गरिएको छ ।
सबै टोल विकास संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेर बालश्रममुक्त अभियानमा सहभागी हुन आग्रह गरिएको मूल समिति सदस्य नानीमैया वलीले जानकारी दिइन् ।
मूल समितिले यस क्षेत्रका सबै सरोकारवालासँग अन्तरक्रिया गर्ने, बालश्रमिकको अवस्थाबारे वडाभरी अनुगमन गर्नेलगायतका कार्ययोजना तय गरेर सोही अनुरुप काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *