बालविवाह रोकौं

सम्पादकीय

२० वर्षमाथि मात्रै विहेवारी गर्ने नेपाली कानुन छ । २० वर्ष मुनी गरिने विवाह बालविवाह हो । बालविवाह गर्न पाउने अधिकार कानुन तह छैन । कानुनले रोकेको कतिपय कामहरू समाजमा हुँदै आएका छन् । त्यसमध्येको एक बालविवाह पनि हो ।
कानुनले रोकेको छ तर पनि समाजमा यसको ब्यापकता पाइन्छ । प्रविधिको विकास, आलोकाँचो निर्णयले धेरै जोडीहरूले बालविवाह गरिरहेको देखिन्छ । कतिपय अवस्थामा परिवारबाटै बालविवाहमा प्रोत्साहित गराइन्छ ।
बालविवाह गराइने उदाहरण पनि प्रसस्त छन् । बालविवाह अर्थात् कम उमेरमा भएको विवाहले महिलामा धेरै समस्याहरू देखिने गरेका छन् । पछिल्लो समय मानसिक समस्या बढदै गएको तथ्यसमेत चिकित्सकहरूले सार्वजनिक गरेका छन् । बालविवाहकै कारण समाजमा विकृति पनि बढिरहेको छ ।
आफ्नो अधिकारका लागि आफै सजक हुनुपर्छ । बालबालिकाहरू आफै सजक हुनसकेमा यसको न्यूनीकरण पनि टाढा छैन । २० वर्ष नपुगेर विहे नगर्ने वातावरण बनाउन बालबालिका नै अभिभावकसँग भूमिका खेल्न सकेमा बालविवाह सजिलै रोक्न पनि सकिन्छ । किशोर अवस्थामै बच्चा जन्माउनाले, आर्थिक,
सामाजिक र शारीरिक समस्या देखिरहेका बेला अहिले कम उमेरका आमामा बढी मानसिक समस्या देखिने गरेको सार्वजनिक भइरहेका छन् । यसले कम उमेरमा विवाह गर्नेहरूका लागि सोचनीय बनाइदिएको छ । उमेरले २० वर्ष पूरा नगरी विवाह गर्ने र बच्चा जन्माउने महिलाहरूमा विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगहरू देखिने समस्याले मानव स्वास्थ्यमा नै जटिलता निम्त्याउने पक्का हो ।
पूर्णरूपमा शरीरका अंगहरूको विकास नभएकै बेलामा विवाह गरे बच्चा जन्माउने कार्य उत्तम हैन । आफ्नै स्वास्थ्यलाई जोखिममा राखेर कम उमेरमा विवाह गर्नुभन्दा यसमा सजक भएर जानु उपयुक्त देखिन्छ । यसकै कारण महिलामा उच्च रक्तचाप, पाठेघर खस्ने, पाठेघरमा घाउ हुने समस्याहरू देखिनबाट रोक्नुपर्छ । यसलाई न्यूनीकरण गरेर जान सक्नुपर्ने वातावरण तयार हुन आवश्यक छ ।
अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाउदै गर्दा जिल्लामा बालविवाहको बहसले तताएको छ । बालविवाह सामाजिक विकृतिका रूपमा रहेको विषय पनि उठ्दै गर्दा एक तथ्यांकले सुत्केरी हुने महिलामा २५ प्रतिशत महिलाहरू २० वर्ष मुनिका भएको देखाइनुले बालविवाह बढ्दै गएको प्रष्ट हुन्छ । यसलाई रोक्न सरोकारवाला सबै पक्ष जागरूक हुनुपर्छ । बालविवाह न्यूनीकरणको बाटोतर्फ लाग्नसके बालबालिकाको नाममा हुने लगानीको पनि उपयोग हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *