बागरमा तोरी जोन छलफल

समाज

तुलसीपुर, २९ फागुन । दंगीशरण गाँउपालिका बागरमा तोरी जोनसम्बन्धी योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तोरी जोन कार्यक्रमको आयोजनामा भएको गोष्ठीमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङ जिल्ला अन्नबालीका लागि उर्वरभूमि भएकाले यस क्षेत्रलाई तोरी र तेल उत्पादनको नमुना क्षेत्र बनाउन सकिने बताए ।
पाण्डेले सरकार तथा स्थानीय तहबाट कृषि क्षेत्रमा उपलब्ध गराइने विभिन्न प्रकारका सहयोग तथा अनुदानको कृषकले प्रभावकारी कार्यान्वयन गर्दै उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।
साथै उनले तोरी जोन कार्यक्रमले तोरी उत्पादनमा टेवा पुगेको बताउँदै आगामी दिनमा जोन मात्रै नभई सुपरजोन कार्यक्रम जिल्लाका अन्य ठाउँमा पनि लागू गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा वरिष्ठ कृषि अधिकृत इन्द्रबहादुर वलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तोरी जोन, यसको प्रभावकारिता, लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराए । उनले नेपालमा वार्षिक २८ अर्बको खाने तेल तथा तोरी आयात हुने भएकाले यसको अन्त्यका लागि जोन तथा सुपरजोन कार्यक्रम नेपालका विभिन्न जिल्लामा लागू गरिएको बताए ।
दाङका तुलसीपुर उपमहानगरपालिकको १ र २ वडा, शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा तोरी जोन कार्यक्रम लागू गरिएको छ । वरिष्ठ कृषि अधिकृत वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण कृषि अधिकृत तिलक केसीले गरेका थिए ।
गोष्ठीमा विभिन्न १८ समूहका व्यक्ति तथा कृषकहरुको सहभागिता रहेको थियो । दाङमा यस बर्ष जोन कार्यक्रम लागू भएका क्षेत्रमा तोरीको उत्पादन बढेको छ भने भन्य क्षेत्रमा पनि मौसम प्रतिकूलताका कारण गत वर्षको तुलनामा तोरीको उत्पादनमा वृद्धि भएको जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *