बसपार्क निर्माण अन्तिम चरणमा

मुख्य खबर

तुलसीपुर, १३ चैत । लामो समयसम्म जग्गाको विषयलाई लिएर निर्माण कार्य रोकिएको तुलसीपुरको आधुनिक बसपार्क आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । गत आर्थिक वर्ष २०७४ बैशाखमा बसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो ।
नगर विकास कोषको करिव ९ करोड ऋण सहयोगमा तुलसीपुर उपमहानगरको पहलमा उक्त बसपार्क निर्माण भएको हो । विभिन्न कारणले निर्माणमा अवरोधहरु आए पनि आधुनिक बसपार्क लागि आवश्यक पर्ने पूर्वाधारहरु निर्माण भईसकेको कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय वोगटीले जानकारी दिए । बसपार्कमा निर्माण गरिएका भवनहरुको रङ लगाउने र मार्वल बिछ्याउने कामसमेत अबको केहि दिनमा सकिने उनले जानकारी दिए ।
जनप्रतिनिधिहरुले चुनावी एजेण्डाको रुपमा आधुनिक बसपार्कलाई लिएको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले यसको निर्माणमा आफूहरु सफल भएको बताए । तुलसीपुर विस्तारै व्यवस्थित हँुदै जानेछ, हामी निरीक्षणलाई प्रभावकारी बनाउँदै लगेका छौँ उनले भने– अब छिट्टै सम्पूर्ण निर्माण कार्यहरु सकिन्छ अनि बसपार्क सञ्चालनमा आउँछ ।’
तुलसीपुरलाई व्यवस्थित बनाउनका लागि करिब साढे ५ विगाह क्षेत्रफलमा फैलिएको उक्त बसपार्क निर्माणको कार्य तिव्र रुपमा अगाडि बढिरहेको तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनिएर पवनकुमार योगीले बताए । करिब ३ सय गाडीहरु अटाउन सक्ने खालको बसपार्क निर्माण गरिएको इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनको भनाइ छ ।
यस्तै आधुनिक बसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । जथाभावी गाडीहरु पार्किङ गर्ने समस्या हटेर जाने भयो उनले भने ‘हाम्रा गाडीहरु अब सुरक्षित हुने भए ।’
निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त आधुनिक बसपार्कभित्र ५२ वटा व्यवसायिक टहराका रहेका छन् । त्यस्तै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतको समेत व्यवस्था गरिन छ ।
बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोकासमेत राखिने बताइएको छ । आवश्यक क्षेत्रफल बढाउनका लागि उपमहानगरले नमुना अटोभिलेजसमेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भए पनि बैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *