- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरबबईको पानीले गाउँ हराभरा

बबईको पानीले गाउँ हराभरा

- Advertisement -spot_img

तुलसीपुर, १९ कार्तिक । घर नजिकै कलकल बग्ने बबई नदी तर खेतबारी भने सिंचाईको अभावमा बाँझै हुने वर्षौँदेखिको समस्या । नदीमा त्यसै बगिरहेको पानी आफ्नो खेतबारीमा सिंचाई ल्याउन पाए त राम्रै हुन्थ्यो तर कसरी ? तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका किसान पूर्णबहादुर चौधरीलाई करिब दुई वर्षअघि यस्तै–यस्तै कुराले घोचिरहन्थ्यो ।
‘आकाशबाट पानी कहिले पर्ला र खेती गरौँला ? यस्तै पिरले सधैँ सताइरहन्थ्यो’ उनी भन्छन्– ‘वर्षमा एकपटक पनि खेती गर्न समस्या हुने गरेको थियो । वर्षा हुने समयमा खेतीपाती हुन्थ्यो तर अन्य समयमा खेतबारी बाँझै हुने गरेको थियो ।’ तुलसीपुर उपमहामनगरपालिका–१४ मटेराकै धनीराम चौधरीले पनि बाबुबाजेकै पालादेखि यस्तै समस्या भोग्दै आएका थिए ।
‘खेतबारी धेरै भएपनि के गर्नु खेती गर्नलाई सिंचाई नै थिएन्’ उनले भने– ‘सिंचाई नै नभएपछि कसरी खेतीपाती फस्टाउनु र आकासबाट पानी प¥यो भने त तिहार नै आएको जस्तै हुन्थ्यो ।’
पूर्णबहादुर र धनीराम मात्र होइन् मटेराका किसानले नजिकैबाट बबई नदी बगेको देख्ने गरेपनि सिंचाईको अभाव भने वर्षौँदेखि व्यहोर्दै आएका थिए । तर पछिल्लो समय बबई नदीको पानी सोलारमार्फत लिफ्ट गरेर ल्याएपछि मटेरा गाउँ अहिले बाह्रै महिना हरियाली हुने गरेको छ ।
‘सिंचाई भएपछि अहिले चार गुणा बढी खेतिपाती हुने गरेको छ, आम्दानी पनि राम्रै भएको छ, तरकारी खेती पनि बाह्रै महिना हुने गरेको छ’ किसान पूर्णबहादुरले भने–‘जाँगर चलाउनुप¥यो आम्दानी जति पनि गर्न सकिन्छ ।’ पूर्णबहादुरले सिंचाईमार्फत नौ बिगाह जमिनमा खेतीपाती गरेका छन् ।
‘सिंचाई सुविधा भएदेखि हिउँदमा तोरी खेती र वर्षामा धान खेतीसहित तरकारी खेती पनि गर्ने गरेको छु’ उनले भने– ‘आम्दानीका लागि विदेश या नेपालकै पनि कुनैपनि ठाउँमा भौतारिनुपर्ने अवस्था छैन्, घरमै पनि आम्दानी गर्न सकिने भएको छ ।’ बृहत सिंचाई आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१४ मटेरा गाउँमा असारदेखि लिफ्ट सिंचाई सञ्चालनमा आएपछि अहिले १ सय ४० घरधुरी किसान लाभाम्वित भएका छन् ।
सुख्खा बाँझो जमिनमा सिंचाई सुविधा पुगेपछि अहिले किसानले तरकारी खेतीसहित अन्नबाली, तोरीलगायत उत्पादनमा सहज पुगेको किसान हरिप्रसाद चौधरीले बताए । ‘बबईबाट पानी लिफ्टबाट ल्याएपछि सिंचाइमा राम्रो सुविधा पुगेको छ’ उनले भने– ‘हिउँदमा पहिले त सबै खेतबारी बाँझा हुन्थे, अहिले त तोरीसहित अन्य विभिन्न बालीहरू लगाउन सहज भएको छ, कतिपयले तरकारीबाट पनि राम्रो आम्दानी लिन सफल भएका छन् ।’
किसानको करिब साढे पाँच लाख र सरकारको करिब डेढ करोडको लगानीमा लिफ्ट सिंचाई आयोजना सञ्चालनमा आएको हो । मोटर सञ्चालनका लागि करिब ४० वटा सोलारका पाता जडान गरिएको छ ।
आयोजना सञ्चालनमा आएसँगै अधिकांश किसान तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको वडा नम्बर १४ का वडा अध्यक्ष पर्शुनारायण चौधरीले बताए ।
‘तरकारी यहाँका किसानको लागि राम्रो आम्दानीको स्रोत बनेको छ, सिंचाई नभइदिएको भए त सम्भव थिएन्’ उनले भने–‘केही वर्ष पहिले त छेऊमा बबई नदी बगेको देख्ने तर यहाँका खेतबारी बाँझै रहने अवस्था थियो, लंकामा सुन छ कान मेरो बुच्चै भनेझै भएको थियो ।’
बबई नदीको पानी लिफ्ट गरेर ल्याएपछि अहिले बाह्रै महिना किसानले उत्पादन लिने गरेका छन् । सिंचाईले उत्पादन बढाएपछि किसानहरूलाई आम्दानी पनि राम्रो भएको छ ।
‘सिंचाई नहुँदा रोजगारीका लागि विभिन्न ज्याला मजदुरी गर्नुपथ्र्यो तर अहिले सिंचाई सुविधा भएपछि घरमै बसेर रामै्र आम्दानी गर्ने गरिएको छ’ अर्का स्थानीय रामप्रसाद चौधरीले भने–‘तरकारी खेती गरेरै राम्रै आम्दानी गर्न सकिन्छ, तोरी, धानखेतीबाट पनि आफूलाई पुग्ने प्रशस्तै हुन्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here