- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsबढ्दै छ सुरक्षित गर्भपतन

बढ्दै छ सुरक्षित गर्भपतन

- Advertisement -spot_img

उमा भण्डारी  दाङ, २० माघ ।

दाङमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको संख्या बृद्धि भएको छ । जिल्लामा विभिन्न समयमा सञ्चालन गरिने यौन तथा प्रजजन् स्वास्थ्यसम्बन्धी कार्यक्रमले सुरक्षित गर्भपतन सेवाप्रति महिलाको पहुच बढेन थालेको छ । स्वास्थ्य सुरक्षाको चेतनास्तरमा विकास भएसंगै सुरक्षित गर्भपतनमा महिलाहरूका ध्यान पुग्न सकेको हो । आर्थिक वर्ष ०७६÷०७७ देखि हालसम्म २ हजार ५ सय ४ जनाले जिल्लामा सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७६÷७७ को असार मसान्तसम्ममा २ हजार १ सय ७७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमध्ये दुईसय ४९ जना २० वर्षभन्दा कम उमेरका महिलाहरू रहेका छन् भने १ हजार ९ सय २८ जना २० वर्ष उमेरभन्दा माथिका महिलाहरू रहेको स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्स सिता कँवरले जानकारी दिईन् ।

उनका अनुसार आर्थिक वर्ष ०७७÷७८ को ६ महिनाको अवधिमा ३ सय ५७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । जसमध्ये ७ जना २० वर्षभन्दा कम उमेर समूहका महिलाहरू छन् भने ३ सय ५० जना २० वर्षभन्दा माथि उमेर समूहका छन् ।
छ महिनाको अवधिमा सबैभन्दा धेरै साउन महिनामा १ सय ५० जना महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क छ । कोरोना कहरका कारण लामो समयसम्मको बन्दाबन्दी केही खुकुलो भएसँगै सेवाग्राहीको संख्या साउन महिनामा बढी देखिएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क छ ।

यसैगरी परिवार नियोजन दाङका अनुसार संस्थामार्फत सन् २०१९ मा ६ सय ८६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सन् २०२० मा ४ सय ९६ जनाले यो सेवा लिएको परिवार नियोजन संघ दाङमा शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए । कोभिड–१९ का सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेका कारण सन् २०२० मा सेवाग्राहीको संख्या कम देखिएको उनले बताए ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण स्वास्थ्य जाँच, उपचार, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाजस्ता अत्यावश्यक स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुन नसकिरहेको अवस्थामा उक्त संख्यामा सुरक्षित गर्भपतन सेवा लिनु सकारात्मक भएको उनले बताए ।

चुनौतीहरू
गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको छ । तर अझै पनि लुकिछिपी, असुरक्षित स्थान र अयोग्य व्यक्तिबाट गर्भपतन गराउनेहरूको संख्या पनि उत्तिकै रहेको प्रबन्धक खनालले बताए । ‘जबसम्म बुझ्ने व्यक्तिहरूको व्यवहारमा परिवर्तन आउँदैन तवसम्म पूर्णरूपमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम प्रभावकारी बन्न सक्दैन, उनले भने– ‘यहाँ थाहा पाउँदा पाउँदै पनि अन्यत्र जाने गरेका छन् ।’
अनिक्षित रूपमा बसेको गर्भ, गर्भवती महिलाको विशेष अवस्था, हाडनाता, विकलांग बच्चा जन्मन सक्ने तालिम प्राप्त चिकित्सकको राय, अबिवाहित महिला गर्भवती लगायतका विभिन्न अवस्थामा महिलाको मञ्जुरीमा गर्भपतन गराउन पाईने भएपनि यसलाई परिवार नियोजनको अस्थायी साधनको रूपमा लिने गरेको उनी बताउँछन् ।

उनका अनुसार कतिपय समुदायका महिला पुरूष वा किशोर किशोरीलाई अझैपनि गर्भपतन रोक्न नियोजनका साधन प्रयोग कसरी गर्ने ? किन गर्ने ? कुन–कुन प्रयोग गर्ने ? भन्नेबारे पर्याप्त जानकारी छैन । यस्तै महिला, पुरूषले परिवार नियोजनका अस्थायी, स्थायी साधनहरू प्रयोग नगर्ने बानीका कारणले पनि महिलाहरू पटक–पटक गर्भपतन गराउन आउने गरेको उनले बताए ।

यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा खुलेर आफ्ना कुराहरू राख्न नसक्नु, विभिन्न समयमा सञ्चालन हुने सचेतनाका कार्यक्रमहरूमा महिला तथा पुरूषहरू सहभागी हुन नमान्नु, आफ्ना समस्याहरू खुलेर ब्यक्त गर्न नसक्नु, परिवार नियोजनका साधनहरू कुन साधन कति प्रभावकारी हुन्छ ? भन्नेबारे जानकारी लिन लाज मान्नुजस्ता समस्याहरूले महिलाहरू अनिक्षित रूपमा गर्भवती हुने र गर्भपतन गराउने गरेको महिला स्वास्थ्य स्वयम्सेविका देवा बस्नेतले बताईन् ।
प्रजनन् स्वास्थ्यमा महिलाको अधिकार भएपनि महिलाहरू खुलेर आफ्ना समस्या बताउन नसक्ने, लाज मान्ने, गोपनीयताको विषयमा डराउनेजस्ता समस्याहरू अझैपनि यथावत रहेको उनी बताउँछिन् ।

सुरक्षित गर्भपतन सेवा
नयाँ सुरक्षित मातृत्व तथा प्रजन्न स्वास्थ अधिकार ऐन २०७५ अनुसार महिलाले आफ्नो मञ्जुरीमा १२ हप्तासम्मको गर्भ गर्भपतन गराउन पाउने कानुनी व्यवस्था रहेको छ । यसैगरी हाडनाता, गर्भवती महिलाको शारीरिक, मानसिक स्वास्थ्यमा हुन सक्ने वा विकलांग बच्चा जन्मन सक्छ भनी ईजाजत प्राप्त चिकित्सकको राय प्राप्त भएको अवस्थामा २८ हप्तासम्मको गर्भ गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था छ । गर्भपतन नगराएमा महिलाको ज्यान जोखिममा पर्ने भएमा कुनैपनि अवस्थामा महिलाले गर्भपतन गराउन सक्ने व्यवस्था रहेको छ ।

नेपालमा सुरक्षित गर्भपतन सेवाले वि.सं २०५९ असोज ११ गते कानुनी मान्यता पाएसँगै जिल्लाका विभिन्न स्थानमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू स्थापित भएका छन् । जिल्लाको तुलसीपुर, घोराही, लमही लगायतका विभिन्न क्षेत्रमा गरी छवटा स्वास्थ्य संस्थाहरूले औजार वा औषधीको प्रयोग गरी गर्भपतन गराउने गरेको छन् ।

यस्तै १२ वटा अन्य स्वास्थ्य संस्थाहरूले औषधी प्रयोग गरी गर्भपतन गराउने गरेका छन् । औजार प्रयोग गरी गर्भपतन गराउन पाउने अस्पतालहरूमा नेपाल परिवार नियोजन संघ, राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल, गोरखा अस्पताल र मेरीस्टोप सेन्टर रहेका छन् ।

प्रबन्धक खनालका अनुसार सूचिकृत स्वास्थ्य संस्थामा गएर तालिमप्राप्त चिकित्सकमार्फत गर्भपतन गराउँदा निःशुल्क एवं थोरै खर्च लाग्ने गर्दछ । औजार प्रयोग गरी गर्भपतन गराउँदा १ हजार २ सय रूपैयाँ शुल्क लाग्ने र औषधी प्रयोग गरी गर्भपतन गराउँदा ७ सय रूपैयाँ शुल्क लाग्ने जानकारी दिँदै उनले आर्थिक अवस्थाका खर्च जुटाउन नसक्नेहरूलाई निःशुल्क सेवा प्रदान गर्ने गरेको बताए ।

सचेतनाका प्रयास

असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमलाई कम गर्नका लागि जिल्लामा रहेका विभिन्न संघसंस्थाहरूले विभिन्न प्रयासहरू गरिरहेका छन् । जुनसुकै क्लिनिक वा अस्पतालमा गएर जथाभावी औषधी प्रयोग गर्ने, गर्भपतन गराउन झारफुक गर्ने, झारबुट्टा तथा हानिकारक चिजवस्तु खाने, गह्रौँ तथा धारिला औजारहरू प्रयोग गरी गरिने गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा पर्नुका साथै ज्यानै जान सक्ने भएकाले यस विषयमा विभिन्न माध्यमबाट सूचना प्रवाह, गोष्ठी तथा कार्यक्रमहरू गर्दै आएको प्रबन्धक खनालले जानकारी दिए।

असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा नकारात्मक असर जस्तैः गर्भपतन पुर्णरूपमा नहुनु, पाठेघरको संक्रमण, समस्या, अत्याधिक रक्तस्राव, महिलाको ज्यानै जान सक्ने अवस्थालाई रोक्न जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य एवं सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा निरन्तर रूपमा सञ्चार माध्यमद्वारा सूचना प्रवाह गर्ने, टोल–टोलमा रहेका आमा समूह, महिला स्वास्थ्यकर्मी, स्वयम्सेविका, किशोर किशोरी साथै विद्यालयस्तरमा प्रत्येक शुक्रबार कार्यक्रमको आयोजना गरी सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व, आमा सुरक्षालगायतका बारेमा जानकारी गराउँदै आएको खनालले जानकारी दिए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here