बडीमालिका भू–स्वर्ग हो

विचार

नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रा गर्न, जैविक विविधतामा रमाउन, तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन् । तिनै सम्पदाहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।
नेपालका अधिकांश जिल्लाहरु पर्यटकीय दृष्किोणले महत्वपूर्ण मानिन्छन् । हिमाली जिल्लामा रहेका त्रिपुरा सुन्दरी, मुक्तिनाथ, गोसाईकुण्ड, पाथीभरा लगायतका तीर्थाटन पर्यटकियस्थल जस्तै सुदूरपश्चिमको बाजुरामा रहेको बडीमालिका तीर्थाटन पर्यटन र प्राकृतिक दृटिकोणले महत्वपूर्ण गन्तब्य मानिन्छ ।
नेपालका हिमाली पर्वतहरु लोभलाग्दा दृष्यावलोकनले मात्रै महत्व नभएर उच्च पहाडी टाकुराहरु नेपालका पौराणिक कथा अलिखित इतिहास र पवित्र देव भूमिका रुपले पनि महत्व पाएका छन् । त्यहि भूमिमध्येको हो बाजुराको बडीमालिका ।
पहाडको कठिन भिरको नागवेली उकालो ओरालो बाटो बर्षेनी हजाराँैको संख्यामा तीर्थाटनका पर्यटकहरु बडीमालिका पुग्ने गर्दछन् । बडीमालिका पुग्ने मध्य केही तीर्थाटनका पर्यटकहरुलाई मात्र थाहा हुन्छ तेत्रायुगको पौराणिक कथा श्री स्वस्थानी ब्रतकथासँग जोडिएको ।
बडीमालिकाको पूजाआजा कहिलेबाट सुरु भयो एकिन छैन । तर पनि पश्चिम क्षेत्रका वाईसे–चौविसे राज्यमध्य डोटी अछाम र जुम्लाका शासकहरु बडीमालिका पुग्ने गरेका थिए ।
बडीमालिकाको दर्शन गर्न पृथ्वी नारायण शाहले पनि सेना खटाउने गरेका थिए । राणा शासकहरुले पनि बडीमालिकाको दर्शन गरेको पाइन्छ । राणाहरु अछामी कुवरको वंशज भएकाले पनि बडीमालिका दर्शन गर्न रुचि राख्ने गरेको पाइन्छ ।
राणाकाल र त्यो भन्दा अगाडीका सेनाका कर्नेलहरुले बडीमालिकाको दर्शन गर्दा सुनको जनै चडाउने र जनै प्रसादको रुपमा आफैले लैजाने गरेको पाइन्छ । बडीमालिकामा राजा वीरेन्द्रले २०३६ सालमा सबैभन्दा ठूलो घण्ट चढाएका थिए ।
जुन घण्टलाई एउटा हातले हल्लाउन समेत कठिन पर्दछ । बडीमालिकामा अछाम, बाजुरा, डोटी कालिकोट र जुम्लाबाट प्रत्येक बर्ष सरकारी स्तरबाट पूजाआजा गर्ने प्रचलन छ । अछामको वैजीनाथबाट पाकेको धानको बाला सबभन्दा पहिला बडीमालिकालाई चढाउने गरिन्छ ।
समुद्री सतहबाट करिब ४२ सय मिटर उचाईमा रहेको बडीमालिका जान बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन पैदलयात्रा गर्नुपर्दछ । विशेषगरी जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।
बडीमालिकाको दर्शन गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ । बडीमालिकाको सुन्दरताको वर्णन गरेरै सकिन्न । पहिला खप्तड पुगेका पर्यटकहरु बडीमालिका पुगे भने प्रकृतिको तुलना नै गर्न सक्दैनन् ।
जुन कारणले बडीमालिका तीर्थाटन पर्यटकहरुका लागि भू–स्वर्गनै मानिन्छ । अग्लो पहाडमा दर्जनौं समथर फाँट, पहाडै भरी फूलले तीर्थाटनका पर्यटकहरुले मन लोभ्याउँछन् । पहाडमाथि हरिया पाटन सेताम्मे भेडाका बथान, डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल समेत देख्न पाउदा तिर्थाटनका पर्यटक खुशी हुन्छन् ।
बडीमालिकाको यात्रामा बाटामा देखिने मन्दिर, वन्यजन्तु, खोला, झरना आदिले मनै लोभ्याउने दृश्यहरु देख्न पाइन्छ । यात्रामा देखिने सुन्दर हिमाल, हिउँले ढाकेको बाटो मनोरम प्राकृतिक दृश्यहरु बडीमालिकाका गहना हुन् भन्दा पनि हुन्छ ।
बडीमालिकाको थप आकर्षक भनेकै विशाल फाँटहरु हुन् । बडीमालिका मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले सबै पर्यटकको मन तान्दछ । बडीमालिकाबाट हेर्दा बादल आफूभन्दा तल हुन्छ ।
बडीमालिकामा प्राकृतिक र धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिवेणी, कालाजग्रा गुफाताल, दउने ताललगायतका ताल रहेका छन । बुढीनन्दामा चट्टानै चट्टानको बीचमा ठूलो ताल छ ।
सुदूरपश्चिममा रहेका ७ बहिनी सबै तीर्थाटन भगवतीका मन्दिर हुन् । बडीमालिका, शैलेश्वरी, उग्रतारा, निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई ७ बहिनी भगवती मानिएको छ । सात बहिनी भगवती मध्यमा बडीमालिकाको मन्दिर बाजुरामा पर्छ ।
बडीमालिका क्षेत्रमा ५ महिना हिउँ र ४ महिना कुहिरोले ढाक्ने गर्दछ । बडीमालिकाको परिसर अर्को अर्थमा भन्ने हो भने प्राकृति भ्यू–टावर पनि हो । मन्दिर परिसरबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा, डोटी,
कालिकोट र मुगुलगायतका जिल्लाका अनगिन्ती गाउँ र प्राकृतिक सम्पदाको दृश्य देख्न सकिन्छ । बडीमालिका क्षेत्रमा हयिाली फाँटमा भेडा र घोडा खच्चडका बथानहरु बर्षातका चार महिनासम्म देख्न सकिन्छ । लोपोन्मुख प्रजातीका वन्यजन्तु तथा पशुपंक्षीहरु डाँफे, मुनाल, कस्तुरी, झारल आदि पनि भेटिन्छन् ।

प्राकृतिक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्दछ । त्यस्ता ठाउँहरुमा सहज यातायातको साधन उपलब्ध हुँदैन । सहज बाटो छैन र त्यसमाथि ति ठाउँमा उचित होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध पनि छैन । अहिले हामी नयाँ सोचका साथ पर्यटनका बारेमा कुरा उठाउने गरेका छाँै । पर्यटन विकासको लागि अब सबै स्थानीय तहहरुले पूर्वाधारको विकास गर्न जरुरी छ ।

बडीमालिकामा पौराणिक समयमा राक्षस र भगवतीबीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराञ्चलका विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने गरेका छन् ।
खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यले पनि तिर्थाटनका पर्यटकहरु अचम्म मान्ने गर्दछन ।
सुदूरपश्चिम संस्कृति रुपले पनि धनी मानिन्छ । यहाँको आफ्नै मौलिक रहनसहन, भेषभूषा, चाडपर्व र ऐतिहासिक महत्व बोकेका धार्मिक–साँस्कृतिक तथा पुरातात्विक स्थलले पनि पर्यटकहरुलाई लोभ्याउँछ ।
बडीमालिका विदेशी पर्यटक कम मात्रामा पुग्दछन् । बडीमालिका पुग्ने बाटो भिर पहरा र खान बस्नको लागि सुरक्षित होटल नभएका कारण पनि विदेशी पर्यटक जाने गर्दैनन् ।
तर पनि छिमेकी मुलुक भारतबाट भने बडीमालिका धेरै तीर्थाटनका पर्यटकहरु प्रत्येक बर्ष पुग्ने गर्दछन् । अर्कोतर्फ बडीमालिकाको बारेमा प्रचार प्रसारको पनि कमी छ ।

अहिले प्रदेश नम्वर ७ ले बडीमालिका क्षेत्रलाई पर्यटनको विकास गर्न बाजुराको ब्रह्मखोलादेखि बडीमालिकासम्म केवुलकार निर्माण गर्न अध्ययन गर्ने भएको छ । पर्यटन विकासको लागि यो कार्य सबैले राम्रै मानेका छन् ।

बडीमालिका भगवतीको उत्पत्ति

सतीदेवीको मृत्युपछि वियोगमा महादेव मृत शरीर लिएर पृथ्वी भ्रमण गर्न थाले । यसैबेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेवीको मृत शरीर कुहाए । यसरी ठाउँ–ठाउँमा सतिका अंगहरु पतन हुँदै झर्दै खस्न थाले ।
यसरी सतिदेवीका अंगहरु पतन हुँदै खस्न थालेपछि जहाँ–जहाँ सतिका अंग पतन भए त्यहाँ सिद्ध पिठ बन्दै गए । यसरी खस्ने क्रममा बाजुराको मल्लागिरी पिठमा सतीदेवीको बायाँ कुम पतन भयो ।
जुन कारणले त्यस ठाउँलाई मल्लागिरी पिठ भनियो । पछि नाम अपभ्रमंश भई मालिका रहन गएको मानिन्छ । त्यसै मल्लागिरीलाई बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

साथमा के लैजाने ?

बडीमालिका यात्रामा मार्तडीदेखि पैदल यात्रामा जहातहि खाना बस्नको लागि सुविधा छैन । होटलको सुविधा नभएको स्थानमा कम्तीमा तीन दिन बास बस्नुपर्छ । त्यसकारण आफूलाई आवश्यक पर्ने न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि आफैँले बोक्नुपर्छ ।
छाता अथवा रेन कोट छुटाउनै मिल्दैन । पानी कतिखेर पर्दछ थाहा हुँदैन । लेक लाग्ने हुनाले खुर्सानी र अमिलो पनि लैजादा बेश हुन्छ । खानेकुरा र पानी सजिलै सबै ठाउँ मिल्दैन । त्यसैले पानी र खानेकुरा छुटाउन हुँदैन । पहाडको उचाईमा पुग्दा अर्थात् यात्रामा मद्यपान, धुमपान नगर्नु राम्रो मानिन्छ । बडीमालिकाको यात्रामा भरिया र स्थानीय पथप्रदर्शक विना पुग्न कठिन छ ।

कसरी पुगिन्छ बडीमालिका ?

त्रिवेणी भएर बडीमालिका जानुपर्ने परम्परा रहेको छ । बडीमालिका कोर्धको बाटो भएर जान वेश हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि पुगिन्छ सोता । मेलाको समयमा सोतामा चिया खाजा खान पाइन्छ ।
झण्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन । आधा घण्टा लामो रमणीय पाटन क्षेत्र पार गरेपछि अर्को एक घण्टाको ओरालो र उकालो । त्यसपछि भितो चिर्ना पुगिन्छ । भितो चिनाबाट करिव अढाई घण्टामा त्रिवेणी पुगिन्छ ।
त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिड्ने मान्छे पनि चार घण्टामा बडीमालिका पुग्न सकिन्छ । बडीमालिकामा त्रयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तीर्थाटनका पर्यटकहरु नाटयेश्वरीमा जनै पूर्णिमामा लाग्ने मेला भर्न हिड्छन् ।
बडीमालिका पुग्नका लागि भने यात्रा कष्टकर नै हुन्छ । बडीमालिका जान ठुला पहाडमा चढेर जानु पर्दछ । पहाडको उचाईका कारणले तीर्थाटनका पर्यटकहरुको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भएपनि यात्रामा भने रोमाञ्चक बन्ने गर्छ ।
जनैपूर्णिमा मेलामा अस्थायी पसलहरु पनि बाटोमा भेटिन्छन् । बडीमालिकामा श्रावण शुक्ल त्रयोदशीका बिहानदेखि चतुदर्शी बिहानसम्म दर्शन गर्ने तीर्थाटनका पर्यटकहरुको निकै भीड लाग्ने गर्दछ । कठ्यांग्रिने चिसो र एकनास चलिरहने हावाका कारण बडीमालिकाको परिसरको चुुचुरोमा लामो समय बसन कठिन हुन्छ ।

त्रिवेणी

त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ । बडीमालिकाका मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ ।
बडीमालिका माइको दर्शन गर्नाले मनले मागेको कुरा पूरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक विश्वास रहेको छ ।
जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीका दिन बडीमालिकालगायत बाजुराका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौलगायतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पुजा गरिन्छ ।

बाजुराको नाम

बाजुराको नामको बारेमा रोचक प्रसंग जोडिएको छ । बाजुरा जिल्ला कुनैबेला सिजां हालको जुम्लाको अधिनमा थियो । त्यसबेला केन्द्रीय शासन सिजा हालको जुम्लाबाट सञ्चालन गरिए तापनि शासकका प्रतिनिधिहरु बाजुरा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे ।
उक्त सहायक दरबारलाई कोट भनिन्थ्यो । तत्कालिन सिंहदरबारका राजाको आदेश अनुसार बाजुरा दरबारबाट बाज चरा समातेर पठाउनु पर्दथ्यो । बाजलाई पासोमा हालेर समातिन्थ्यो । भाले बाजलाई शाही बाज र पोथी बाजलाई झुर्रा बाज भनिन्थ्यो ।
एक पटक सिंहदरबारमा बाज पठाउन पासो थाप्दा पासोमा शाही बाज न परि झुर्रा बाज पर्न गएछ । शाही बाज पासोमा पार्न नसकी झुर्रा बाज मात्र परेको खबरसहित झुर्रा बाज सिंहदरबारमा पठाएछन् ।
राजाले शाही बाजको चाहना गरेको तर झुर्रा बाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथी बाजको नाम ‘झुर्राबाज’लाई उल्टोबाट बाझुर्राकोट राखेछन् । त्यहि बाझुर्राकोट पछि अपभ्रश हुँदै बाजुरीकोट हुन गएछ ।
बोल्ने क्रममा अपभ्रंश हुँदै बाजुरीकोटको नामबाट बाजुरा रहेका पाइन्छ । अर्को भनाई अनुसार यो ठाउँमा ‘बाजुगार्ड’ भन्ने नदीको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि बाजुरामा सुन्ने गरिन्छ ।
सुदूरपश्चिम अर्थात् प्रदेश नम्वर ७ को बाजुरा जिल्ला जति दूर्गम छ, त्यति नै सुन्दर पनि ।
यहाँ पर्यटकीय सम्भावना बोकेका अथाह प्राकृतिक सम्पदा छन् । भौगोलिक रुपमा विकट भएपनि बाजुरामा रहेका पर्यटकीयस्थल रमणीय छन् ।
बाजुरा पुग्न कठिन यात्रालाई यहाँका सुन्दर प्राकृतिक सम्पदाले चटक्कै बिर्साइ दिन्छ । बाजुरामा नागबेली भएर बग्ने कर्णाली नदी, बुढीगंगा, मालागाड, बार्जुगाड, कोर्दिगाड, दानसागु, कवाडी, इकडिगाडले पुग्ने सबैलाई मोहित बनाई दिन्छ ।
बाजुरामा खप्तड ताल, छेडेदह, बुढीनन्दा ताल र कालाजग्रा गुफातालले प्राकृतिक मात्र नभएर धार्मिक महत्व पनि बोकेका छन् ।
बडीमालिका, बुढीनन्दा, नाटेश्वरी, बडालेख, सुनन्दा, स्वामी कार्तिक र दुनालेखलगायतका धार्मिकस्थलले बाजुरा पुग्ने तीर्थाटन पर्यटकहरुलाई भ्रमण गर्ने स्थल भएको छ ।
घुमफिर गर्न मन लाग्यो भने जो कोही पनि पर्यटक हुन सकिन्छ । मानिस स्वभावले नै जिज्ञासु र घुमन्ते प्राणी हो । भ्रमण अनि अवलोकनबाट नै नयाँ कुरा जान्न सकिन्छ ।
यसरी देश, विदेश, समाज अनि संस्कृतिको अवलोकन गर्ने उद्देश्यले घुमफिर गर्नु वा भ्रमणमा निस्कनुनै पर्यटन हो । पर्यटक तपाई हामीमध्य सबैजना हुनसक्छाँै ।
विदेश जानुमात्र पर्यटन हैन, आफ्नै देशभित्र पनि हामी नयाँ–नयाँ ठाउँमा गएर पर्यटन गर्न सक्दछाँै । तर हाम्रा पर्यटनको क्षेत्र सहज, सुलभ र सुरक्षित छैनन् भन्दा पनि हुन्छ ।
प्राकृतिक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँ जानुपर्दछ । त्यस्ता ठाउँहरुमा सहज यातायातको साधन उपलब्ध हुँदैन ।
सहज बाटो छैन र त्यसमाथि ति ठाउँमा उचित होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध पनि छैन । अहिले हामी नयाँ सोचका साथ पर्यटनका बारेमा कुरा उठाउने गरेका छाँै । पर्यटन विकासको लागि अब सबै स्थानीय तहहरुले पूर्वाधारको विकास गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *