बजार व्यवस्थापन गर्न छलफल

मुख्य खबर

तुलसीपुर, ३० साउन । तुलसीपुर बजारलाई व्यवस्थित गर्नका लागि तुलसीपुर उपमहानगरले विभिन्न सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको छ ।
कार्यक्रमका सहभागी सरोकारवालाले बजारलाई व्यवस्थित बनाउनका लागि स्थानीय सरकारलाई सुझावहरु दिएका थिए । बजारलाई व्यवस्थित गर्दा गलत तरिकाले व्यापार गर्नेहरुबाट विरोध आएपनि राम्रो काममा अगाडि बढेको बताए ।
‘गैर कानुनी ढंगले नियम मिचेर सडकमा व्यापार गर्ने अधिकार कसैलाई पनि छैन यसलाई तत्काल समाधान गर्न लागौ’ नेकपाका नेता भिमकान्त बस्यालले बताए । उनले अव्यवस्थित व्यापार गर्नेहरुलाई कारवाही नगरे पूरै बजार अव्यवस्थित हुने बताए ।
पैसा नहुने या हुने कुरालाई जोडेर बजारमा मनलाग्दो तरिकाले व्यापार गर्ने अधिकार कसैलाई पनि नहुने उनको भनाई थियो । उनले ठेला र खुला बजार गर्नेहरुलाई कहाँ–कहाँ तोक्ने भन्ने बारेमा उपमहानगरपालिकाले योजना वनाउनुपर्छ उनले भने ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले जाँडरक्सीजस्ता कुरा अव्यवस्थित तरिकाले बिक्री वितरण हुने गरेको बताउँदै त्यसलाई नियमन गर्न सुझाए ।
उपमहानगरपालिकाले कर लगाएसँगै सोही अनुसार सुविधा पनि दिनुपर्ने बताए । सूर्तिजन्य पदार्थका खोलहरु जथाभावी फालिने गरेको बताउँदै उनले कारवाही गरेर यसको नियमन गर्न आवश्यक रहेको वताए ।
तरकारी व्यवसायी माधव घिमिरेले मदिरा बिक्रीमा लागि समय तोकेर व्यवस्थित गर्न सुझाए । तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले कर तिरिसकेपछि व्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताए ।
उनले व्यापारीलाई करका लागि पेल्ने मात्रै भन्दा पनि सुविधा समेत दिनुपर्ने बताए । तुलसीपुर तरकारी तथा फलफुल बजारका अध्यक्ष झुपलाल खड्काले तरकारी बजार सञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै त्यसले समाधानका लागि भूमिका खेल्ने कुरामा विश्वस्त रहेको बताए ।
उपमहानगरपालिकाले बजार व्यवस्थापन, मदिरा र सूर्तिजन्य पदार्थको नियन्त्रणका विषयमा आयोजना गरिएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले बजारमा पार्किङ व्यवस्थापन चुनौति बन्दै गएको भन्दै त्यसलाई निश्चित ठाउँ तोकेर व्यवस्थित गर्नमा ध्यान दिनुपर्ने कुरा औंल्याए ।
उनले ठेला हटाउने मात्रै भन्दा पनि त्यसको उचित व्यवस्थापन पनि आवश्यक रहेको बताए । ‘तुलसीपुरलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो यसबाट कोही पनि पन्छिनु हुँदैन’ उनले जोड दिए । उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर प्रवक्ता सूर्यबहादुर डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *