बजार व्यवस्थापनमा चासो

सम्पादकीय

अस्तब्यस्त बन्दै गरेको तुलसीपुर बजार क्षेत्रलाई व्यवस्थापन गर्ने गरी उपमहानगरपालिकाले चासो दिएको छ । तुलसीपुर उपमहानगरमा जनप्रतिनिधि आएको दुई वर्षपछि बजार व्यवस्थापनका लागि चासो देखिएको हो । यो चासो सकारात्मक मान्न सकिन्छ ।
तर यसलाई निरन्तरता दिन भने चुक्नु हुँदैन । बजारक्षेत्रमा अब्यवस्थित रहेका ठेला ब्यवसायीहरुलाई मात्रै एकीकृत गरेर बजारमा सुन्दरता आउने भन्ने पक्कै हैन । तुलसीपुरलाई स्मार्ट सिटीको सपना देखिसकिएको अवस्थामा सबै क्षेत्रमा व्यवस्थापन अपरिहार्य छ ।
केहि समय अघि अटो व्यवसायीहरुलाई व्यवस्थित र एकीकृत गरेको नगरले अहिले तरकारी र फलफुल ब्यवस्थापनमा जुट्नु राम्रो पक्ष हो । जनप्रतिनिधिहरुले यसमा चासो दिनुले अब बजार व्यवस्थित हुने आँकलन गर्न सकिन्छ । उपमहानगरपालिकामा अव्यवस्थित रुपले फलफुल तथा अन्य व्यापार गर्ने व्यापारीहरुलाई व्यवस्थापन सुरु हुनेले नयाँ कामको समेत सुरुवात गराएको छ ।
अहिले बजार अस्तब्यस्त नै छ । बजार क्षेत्रका सडक पूर्वाधारको अवस्था, सडक व्यापारीको अवस्था, छाडा चौपाया, फुटपाथ व्यापार, अव्यवस्थित पार्किङ तथा सवारी साधनले बजारलाई कुरुप बनाएकै छन् । बजारको त्यो अवस्थालाई सुधार गर्नसकेमा मात्रै तुलसीपुरले सुरु गरेको बजार ब्यवस्थापनको कार्यले सफलता पाउने पक्का छ ।
बजारका सडक र फुटपाथ अतिक्रमण गरेर अव्यवस्थित रुपमा रहेका पसल तथा ठेलाको व्यवस्थापनले मात्रै बजार व्यवस्थापन हुन सक्दैन । यो पनि एउटा पाटो होला ।
तर त्यसका लागि धेरै विषयहरुको उचित व्यवस्थापन हुन जरुरी छ । व्यवसायको सम्मान गर्दै उचित स्थान तोकेमा व्यवसाय गर्नेलाई पनि र सेवाग्राहीलाई पनि सहज हुन्छ । तर यहाँ जहाँ पायो त्यहि व्यवसाय गर्ने अवस्थाले बजार अब्यवस्थित मात्रै हैन सडक असुरक्षासमेत बढाइरहेको छ । सुहाउँदो गरी बजारलाई व्यवस्थित गर्नसके जनप्रतिनिधिकै वाह–वाह हुने हो । यसतर्फ जनप्रतिनिधिहरु पनि सोचनीय बन्न सक्नुपर्छ ।
नीति ल्याउनेभन्दा पनि कार्यान्वयन गर्न जटिल हुन्छ । अहिले फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने नीति ल्याइएको छ । त्यो नीतिलाई कार्यान्वयनमा लैजान लाग्नुपर्छ । नीति नियम ठूलालाई चैन र सानालाई ऐनको वातावरण निर्माण गर्न हुँदैन ।
सबैलाई समान नीति लागू गरेर बजारलाई व्यवस्थित बनाइनुपर्छ । स्थानीय सरकारले यो विषयमा सोच्नु पनि पर्छ । नातागोता, पहुँचका आधारमा समेत नगरभित्र काम हुने गरेको प्रसस्तै देखिन्छ ।
तर त्यो अवस्था सडक व्यवस्थापन, बजार व्यवस्थापनमा नदेखाइयोस् । सबैलाई समान रुपमा व्यवहार गरेर व्यवस्थापनमा सफल बनाउनेतर्फ ध्यान जावस् । र अभियानले निरन्तरता पावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *