बजारमा दसैँ चहलपहल

फिचर मुख्य खबर समाज

तुलसीपुर, १६ असोज । हिजोआज बजारमा किनमेल गर्नेहरुको भिड बढेको छ । दसैँ सुरु भएसँगै चाडपर्वका लागि अत्यावश्यक पर्ने सामान किन्नका लागि विभिन्न स्थानहरुबाट बजार क्षेत्रमा किनमेल गर्न आउनेहरुको संख्या निकै छ । नागरिकको आवातजावत बढेपछि बजारमा चहलपहल ह्वात्तै बढेको हो ।
दसैँ सुरु भएसँगै पछिल्लो समय मुख्य व्यापारीक केन्द्रको रुपमा रहेको तुलसीपुर बजारक्षेत्रको चहलपहल बढ्दै गएको छ । घटस्थापनादेखि सुरु भएपछि अहिले यस क्षेत्रको मुख्य चोक तथा सडकहरुमा किनबेच गर्नेहरुको भिड छ । विशेषगरी फेन्सी पसल, श्रृङ्गार पसल, भाँडा पसल र गहना पसलहरुमा किनमेल गर्नेहरु बढी देखिन्छन् ।
गाउँका पसलहरुमा सम्पूर्ण सामानहरु उपलब्ध नहुँदा ४/५ जनाको समूह बनाएर तुलसीपुरमा किनमेल गर्न आएको सल्यान कपुरकोटका फुलकुमारी विकले बताइन् । दसैँ नजिकिएपछि गाउँका पसलहरु महंगो हुने भन्दै उनले २/३ महिनासम्मका लागि सामानहरु किन्न सल्यानबाट दाङ आएको बताइन् ।
‘घरमा चाहिने सबै सामान एकैपटक लैजान बुहारीलाई लिएर सामान किन्न दाङ आएकी छु’ उनले भनिन् ‘गाउँमा सामान नपाइने भएपछि आफन्तीको घरमै बसेर सामानहरु किनमेल गर्दैछौँ ।’ नुन, तेल, लत्ताकपडादेखि लिएर चाडपर्वका लागि चाहिने सम्पूर्ण सामानहरु किन्न आफूसँगै गाउँका अन्य मानिसहरु पनि तुलसीपुर आएको उनी बताउँछिन् ।
यसैगरी तुलसीपुर–८ अश्वारा निवासी रामबहादुर बस्नेतले पनि दसैँका लागि सामान किन्न बजार आएको बताए । चाडपर्व आयो त्यसैले गाउँघरमा फलेका तरकारी, फलफुल बेच्चे भनेर बिहानै आएको हुँ, उनले भने ‘के गर्नु पैसा पनि चाहिने सामान पनि चाहिने ।’
टाढामा व्यक्तिहरु बजारक्षेत्रमै बास बसेर सामान किन्नुपर्ने बाध्यता रहेको भन्दै उनले आफू भने दैनिकरुपमा बजारमा आएर आवश्यक पर्ने सामानहरु लैजाने गरेको बताए ।
बजारका मुख्य चोक मानिने वीरेन्द्र चोक, वीपी चोक आसपासका पसलहरुमा अहिले कपडा, मरमसाला, चामल, चिउरा, नुन, तेल किनबेच गर्नेहरुको भिड बढेको व्यवसायी रुकमान गौतम बताउँछन् । साँझ र बिहानको समयमा बधशाला क्षेत्रमा जिउँदो खसी, बोका तथा मासुको ब्यापार बढी हुने बताउँदै उनले भने गाउँ–गाउँबाट ग्राहकहरु सामान किन्न समूह बनाएरै आउने भएकाले पनि भिडभाड यो समयमा धेरै हुन्छ ।’
यस्तै दसैँको समयमा विशेषगरी घरमा रङ लगाउने कामहरु गरिने भएकाले रङ तथा पेन्ट पसल, फर्निचर, डेकोरेशन हाउसलगायतका पसलहरुमा पनि मानिसहरुको घुईँचो छ । यो समयमा विभिन्न क्षेत्रका मानिसहरु किनमेलकै लागि आउने हुँदा तुलसीपुर बजार क्षेत्रसँगै बिजौरी, मानपुर, दुधरास, नारायणपुर, घोराही र लमही क्षेत्रका बजारहरुमा पनि चहलपहल बढी देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *