बजारका ‘धराप’ सडक

फिचर मुख्य खबर समाज

तुलसीपुर, २२ मंसिर । तुलसीपुरको मुख्य बजार क्षेत्रभित्रका सडकहरू धराप अवस्थामा रहेका छन् । सडकका बीच–बीचमा रहेका अनावश्यक खाल्डाखुल्डी र धुलो धुवाँले सडकको अवस्था दिनप्रतिदिन दुर्घटनाको जोखिम बढाएको छ । तुलसीपुरको ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ लाइनका सबै सडक र अन्य सहायक सडकहरू खाल्डाखुल्डी बन्दै गएपनि मर्मत हुन सकिरहेको छैन् ।
सडक लामो समयसम्म पनि मर्मत नभएका कारण पैदलयात्री हिड्डुल र सवारी आवागमनमा समेत समस्या हुने गरेको छ । सडक मर्मत नहुँदा दैनिकजसो सवारी दुर्घटनाको जोखिम बढेको छ ।
सडक विस्तार र मर्मतका शीर्षकमा वर्षेनी लाखौँ बजेट विनियोजित भएपनि बजारका सडकहरू मर्मतमा कसैको ध्यान पुग्न सकेको छैन् । तुलसीपुर बजारका मुख्य सडक बिग्रिएको लामो समय भएपनि मर्मतमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढेको छ ।
तुलसीपुर उपमहागरले समयमै सडक मर्मत कार्यलाई ध्यान दिन नसक्दा अहिले तुलसीपुर बजार क्षेत्रभित्र रहेका सडकहरू धराप अवस्थामा झेलिदै आएका छन् । स्थानीयतहले समयमै कार्यनीति निर्माण गरेर बजार क्षेत्रको सडकलाई व्यवस्थित गर्न नसक्दा यहाँका सडकको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ ।
बिग्रिएका सडक र खाल्डाखुल्डी पुर्नका लागि आर्थिक वर्ष २०७५/७६ मा बजेट विनियोजिन गरिएको थियो । तर विनियोजिन गरेको बजेट अभावको कारण देखाउँदै सडक मर्मत कार्य बीचमै अलपत्र पारिएको छ ।
तुलसीपुर उपमहानगरका ईन्जिनियर पवनकुमार योगीले सडक मर्मतका लागि पर्याप्त बजेट नहुँदा सुरू गरिएको काम बीचमै रोकिएको बताए । ‘काम त हामीले सुरू गरेकै हौँ, तर आवश्यक पर्ने जति बजेट नभएपछि के गर्नु ?’ उनले भने–
‘बाँकी रहेका कामहरू अबको बजेटले पूरा गर्नेछौँ ।’ गत आर्थिक वर्ष २०७५÷७६ मा सडक मर्मतका लागि विनियोजित बजेट कम भएपछि काम अलपत्र परेको उनले बताए । ‘सबै काम हुने भनेकै रकम हो, रकम नै पर्याप्त नभएपछि के गर्नु र हेर्नुस् न ?’ उनले भने– ‘काम गर्नका लागि बजेट त हुनै प¥यो हैन र ?’
तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले तुलसीपुरको मुख्य सडक ‘क’ लाईनबाहेक अन्य सबै सडकहरू मर्मत गरिने बताए । आर्थिक वर्ष २०७५/७६ मा प्राप्त भएको ७० लाख बजेटले नयाँ बसपार्क, ‘ग’ लाईन, सल्यान रोड, सुर्खेत रोड, पातुखोला क्षेत्रका सडक, बसपार्क ओरालो र भित्री सडकहरू मर्मत गरिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/७७ मा सडक मर्मतका लागि करिब ६५ लाख रूपैयाँ बजेट प्राप्त भएको जानकारी दिदै उनले यस रकमले बाँकी रहेको काम पूरा गर्ने बताए । ‘हामी सडक मर्मत कार्यलाई अबको केही समयमै पुनः सञ्चालन गर्ने तयारी गर्दैछौँ’ उनले भने– ‘कार्यनीति तयार पारेर टेण्डर आह्वान गरेपछि काम सुरू हुन्छ ।’ मुख्य सडकको रूपमा रहेको ‘क’ लाईन केन्द्रीय योजनाअन्तर्गत पर्ने भएकाले उक्त सडकको मर्मत उपमहानगरपालिकाले नगर्ने उनले बताए ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख जितेन्द्रकुमार चौधरीले बजेट नहुँदा काम हुन नसकेको बताए । ‘काम धेरै तर बजेट थोरै हुने समस्या वषौँदेखिको हो’ उनले भने–‘बजेट अभावकै कारण सबै काम एकैपटक गर्न सकिएको छैन् । थोरै बजेटले कभर हुँदैन, केन्द्रले बजेट पटक–पटक गरी पठाउँछ, उनले भने–यसपटक बजेट आयो भने हामी तुलसीपुरको मुख्य सडक मर्मत गर्ने छौँ, अन्य ठाउँमा मर्मतका लागि ठेक्का लागेको छ ।’
टुक्रे बजेटले सबै सडकहरू मर्मत गर्न नसकिने बताउँदै उनीहरूले पर्याप्त बजेट भए आफूहरू काम गर्न तयार रहेको बताए । सानो रकमले ठूला योजनाहरू पूरा हुन सक्ने बताउँदै नयाँ बजेटले बिग्रिएका पुराना सडकहरूलाई मर्मत गर्ने गरी आफूहरू तयारीमा लागेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *