फोहरको उपयोगिता

सम्पादकीय

सहरी क्षेत्रका निक्लने फोहरको ब्यवस्थापन गर्नुपर्ने अहिले ठूलै चुनौति छ । फोहर ब्यवस्थापनमा देखिएको समस्या बर्षौसम्म पनि त्यस्तै देखिन्छ । त्यसलाई सहीरुपमा ब्यवस्थापन गर्नसके र फोहरको उपयोगिताको बारेमा बुझ्न र प्रयोग गर्न सकेमा फोहरलाई मोहरसमेत बनाउन सकिन्छ । धेरै ठाउँमा फोहरलाई सही रुपमा ब्यवस्थापन गरेर राम्रो उपयोग गरेकै छन् । तर दाङका एकवटा पनि स्थानीय तहमा फोहरको सही ब्यवस्थामा नदेखिनुले दाङमा फोहरको उपयोगिता ज्ञान नभएको होकी भन्ने देखाउँछ । जिल्लामा स्थापना भएका पुराना नगर हालका उपमहानगरले समेत अहिलेसम्म फोहरलाई सदुपयोग गर्न सकेको देखिदैन । घोराहीमा पहिलेदेखि नै केही प्रयास भएको भएपनि तुलसीपुरले पटक–पटक फोहरको समस्या झेल्दै आएको छ । यसले पनि फोहरलाई मोहर बनाउने कार्यमा दाङ नदेखिएको होकी भन्ने पक्का छ ।
फोहोर ब्यवस्थापनमा चुनौती देखिरहेका बेला घोराही उपमहानगरपालिकाले यसको सदुपयोगको लागि दीर्घकालिन योजना सार्वजनिक गरेको छ । यो अन्य स्थानीय तहको लागि पनि सोचनीय कार्य हो । यसलाई दीर्घकालिन बनाउन सकेमा र जिल्लाका अन्य स्थानीय तहहरुले पनि यस्ता योजनाहरु ल्याएमा फोहरको सदुपयोग गरेर राम्रो आर्थिक आम्दानी गर्न सक्ने देखिन्छ । घोराही उपमहानगरपालिकाले फोहरलाई सदुपयोग गरी ग्यास उत्पादन गर्ने योजनामा काम सुरु गर्नुले नगरले फोहरको उपयोगिता बुझेर प्रयोग गर्न थालेको मान्न सकिन्छ । आफै वा अरुलाई त्यसको प्रयोगका लागि जिम्मा दिनसकेमा फोहरलाई मोहर बनाउन सकिने घोराही उपमहानगरले पुष्टि गरिदिएको छ । फोहरबाट ग्यास र कम्पोष्ट मल उत्पादनका लागि एक निजी कम्पनीलाई जिम्मा दिएर त्यसबाट आर्थिक स्रोत बलियो बनाउने घोराहीको योजना सह्रानीय छ । नेपाल उर्जा विकास कम्पनी प्रालिलाई २० बर्षसम्मका लागि जिम्मा दिनुले घोराहीको फोहर सहजै ब्यवस्थापन हुने पक्का छ ।
जिल्लाका सबै सहरहरुको फोहरलाई ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सक्ने हो भने स्थानीय तहमा कर पनि थपिने, फोहर पनि ब्यवस्थापन हुने र फोहरको सदुपयोग हुँदै पुनः प्रयोग गर्न सकिने अवस्था आउने थियो । राज्यले बर्षेनी फोहर ब्यवस्थापनमै करोडौ खर्च गर्ने गरेको छ । तर निजी कम्पनीलाई त्यसको जिम्मा दिए फोहरबाटै करोडौ राजस्वमा उठन सक्छ । त्यसका कारण पनि जिल्लाका सहरी क्षेत्रका रहेका सबै स्थानीय तहहरुले सहरमा निस्कने फोहरलाई उपयोगी बनाउनेतर्फ सोच्नु पर्छ । फोहोरको ब्यवस्थापन मात्रै हैन की फोहरलाई मोहरको रुपमा बनाउनुतर्फ ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *