फेरिएको जनता मावि

फिचर मुख्य खबर समाज

गढवा, ११ कात्तिक । इच्छा शक्ति भए छोटो समयमा नै विद्यालयको रुपरेखा फेर्न सकिन्छ भन्ने गतिलो उदाहरण जनता मावि गढवाले देखाएको छ । विभिन्न कारणले पछि परेको विद्यालय पछिल्लो समय जिल्लामा नमुना मध्यको एक विद्यालयको रुपमा चिनिन थालेको छ । भने आधुनिकतातर्फ रुपान्तरण भएको छ ।
सामुदायिक विद्यालयमा पढाए आफ्ना बालबालिकाको पढाइ गुणस्तर खस्केर जान्छ भन्ने अभिभावकको सोचाइलाई अहिले यो विद्यालयले गतल सावितसमेत गरिदिएको छ । जिल्लाको राप्तीपारीको क्षेत्र आफैमा विकासको दृष्टीकोणले अहिले पनि पछाडि नै छ । सँगै यो क्षेत्र शिक्षा, स्वास्थ्य, सडकजस्ता कुराले समेत निकै पछाडि परेको छ । सोचे अनुरुप विकासले फड्को मार्न सकेको छैन । तर पनि पछिल्लो केही बर्ष यता गढवा बजारको नजिकैमा रहेको जनता माध्यमिक विद्यालयले भने आफ्नो रुप फेरेको छ । समुदाय स्तरमा आफूलाई जिल्लाकै अब्बल विद्यालयको रुपमा स्थापित गराएको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा अहिले भने यस क्षेत्रमा विस्तारै परिवर्तन आउन थालेको विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले बताए । सामुदायिक विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ । ‘शिक्षकमैत्री प्रशासन र विद्यार्थी मैत्री वातावरण’को विद्यालयमा निर्माण भएपनि शैक्षिक गुणस्तरमा सुधार आएको यादवको दाबी छ । यही कारणले पनि विद्यालयले सफलता देखिएको प्रधानाध्यापक यादवले बताए । विद्यालयमा अहिले विद्यालयले नेपाली माध्यम आधुनिकतातिर लैजादै र नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमको पढाइसमेत सुरु भएको छ । विद्यालयले पढाइ तथा कक्षा व्यवस्थापनको लागि राष्ट्रियस्तरका विभिन्न गतिविधिहरुलाई समेत अबलम्वन गर्दै आएको छ । कक्षा १ देखि कक्षा १० सम्म विद्यालयले सफ्टवेयर सिष्टममा पढाइ सञ्चालन गर्नुका साथै कक्षा कोठामा स्मार्ट बोर्डको प्रयोग र कम्प्युटर शिक्षाको समेत राम्रो व्यवस्था गरिएको छ । विद्यालयले आफ्नो हाताभित्रै क्यान्टिनको व्यवस्था, विद्यालयमा पुग्ने शौचालय र खानेपानीको उपयुक्त ब्यवस्थापन, फोहोर ब्यवस्थापन र विद्यार्थी शिक्षकको पढाइप्रतिको लगाम र अनुशासन विद्यालयका विशेषताका रुपमा चिनिएका छन् । त्यसैगरेर अभिभावकको सद्भाव, माया र सल्लाह विद्यालयको मार्गदर्शन बनेको प्रअ यादवले बताए ।

सामुदायिक विद्यालयमा पढेका विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने अभिभावकको मानसिकता समयसँगै विस्तारै परिवर्तन हुँदै गएको छ ।


विद्यालय समयमा हाताभित्र प्रवेश गरेपछि विनाकारण बाहिर कोही पनि निस्कन नदिन विद्यालय प्रशासनले पासको व्यवस्था गरेको छ । जसको कारण विद्यार्थी तथा कुनै पनि शिक्षकहरु कुनै पनि काम र अनुमतिविना विद्यालय हाता बाहिर निस्कन पाउनदैनन् । सँगै विद्यालयले शिक्षक र विद्यालय कर्मचारीको लागि विद्युतीय हाजिरी प्रणालीको समेत ब्यस्थापन हुँदा अनियमित हुने शिक्षक विद्यार्थीलाई समेत नियमिततातर्फ ल्याएको छ । विद्यालयमा स्थायी, राहत तथा विद्यालय स्रोत र अन्य विद्यालय कर्मचारीहरु गरी ४५ जना कर्मचारी हाल विद्यालयमा कार्यरत रहेका छन् । अन्य सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना निकै कम भइरहेको अवस्थामा विद्यालयमा १७ सय बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । विद्यालयको एकजना प्रधानाध्यापकसँगै शिक्षक र विद्यालय व्यवस्थापन समिति विद्यालय सुधारमा लाग्यो भने छोटो समयमै विद्यालयमा परिवर्तन ल्याउन सक्छन् भन्ने एउटा उदाहरण जनता माध्यमिक विद्यालय भएको स्थानीय समाजसेवी मोहन पाण्डेले बताए । सबैको ध्यान विद्यालय सुधारसँगै सामुदायिक विद्यालयबाट समेत गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ दृढ अठोटका साथ लाग्दा आज विद्यालयले छोटो समयमै नसोचेको फड्को मार्न सकेको पाण्डेको बुझाइ छ ।
विसं २०१७ सालमा नेपाल राष्ट्रिय प्राविको नामबाट स्थापना भएको विद्यालयले २०२६ सालमा आएर निमावि तहसम्मको कक्षा सञ्चालन गर्न सुरु गरेको थियो । त्यसपछि विद्यालयले २०३९ सालमा माध्यमिक तहको कक्षा सञ्चालन गर्न सुरु गरेको र २०५२ सालमा आएर मात्र स्थायी स्विकृती प्राप्त गरेको थियो । त्यससँगै विद्यालयले २०६३ मा आएर उच्च माविको सम्बन्धन प्राप्त गरेर कक्षा १२ सम्मको पढाइ सुरु गर्न थालेको यसको इतिहास रहेको देखिन्छ । हाल विद्यालयले मानविकी शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ सञ्चालन गरिरहेको छ । जोसुकै व्यक्ति विद्यालय हातामा प्रवेश गरेसँगै विद्यालयले गरेको प्रगति र विद्यालय सुधारको समेत सजिलै अनुभूति गर्नसक्छ । विद्यालयका प्रधानाध्यापक रामसुरत यादवले सबै चाहेर गरे र वा सबैले आँटे विद्यालय सुधारको लागि कुनै समस्या नहुने बताउँछन् । प्रधानाध्यापक यादवका अनुसार आउँदो शैक्षिक सत्रदेखि विद्यालयले प्लस टु तर्फ साईन्स र शिक्षाको कक्षा सञ्चालन गर्ने र प्राविधिक धारको शिक्षामा जोड दिने रणनीति तय गरेको बताउँदै प्रअ यादवले अहिले विद्यालयमा सोलार व्यवस्थापनका साथै विद्यालयलाई सिसी क्यामरामा निगरानी गर्न कार्य थालनी गरिने बताए । हाल विद्यालयले ३ कक्षादेखि विषयगत शिक्षकको व्यवस्था छ । साथै अंग्रेजी माध्यमको कक्षाहरुलाई सहज बनाउन छुट्टै तीनजना डिग्री होल्डर शिक्षकहरुको व्यवस्था गरेको छ । शिक्षकहरु आफैले आफ्नो योग्यतालाई बढाउन सके विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न सकिने सोंचका साथ विद्यालयमा कार्यरत २४ जना शिक्षकहरुले विभिन्न विषयमा डिग्री हासिलसमेत गरेको प्रधानाध्यापक यादवले बताए । हाल विद्यालयले गरेको परिवर्तन र विद्यालय सुधारलाई देखेर विद्यालयमा विभिन्न निकायहरुले केही सहयोग समेत गरेका छन् । विद्यालयमा क्यानेडियन प्रोजेक्ट, गाउँपालिकासँगै अन्य निकायहरुले केही सहयोगसमेत थालेका छन् । जुन सहयोगलाई विद्यालयले भौतिक सुधारसँगै प्राविधिक कुराको व्यवस्थापनको लागि खर्च गर्ने प्रधानाध्यापक यादवले बताए ।
विद्यालयले सञ्चालन गरेको अंग्र्रेजी माध्यमको कक्षामा भर्ना हुने कक्षा नर्सरीदेखि कक्षा २ सम्म कुनै फिस नलिने र पुस्तकहरुसमेत निःशुल्क व्यवस्था गर्ने गरेको छ । आउँदा वर्षहरुमा यसलाई कक्षा ५ सम्म निःशुल्क व्यवस्था गरिने योजनासमेत बनाएको उनले जानकारी दिए । यति हुँदाहँुदै पनि विद्यालयमा पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था हुन नसक्दा विद्यालयले केही समस्या झेल्दै आएको यादवले बताए । पूर्वाधार निर्माणको लागि विभिन्न निकायसँग समन्वय हुने काम भएपनि त्यो पूर्ण हुन नसकेको विद्यालयले बताएको छ । हाल विद्यालयको स्रोत भनेको विद्यार्थी र विद्यालयसँग रहेको जमिनको केही विद्यालयको स्रोत भएपनि त्यो भने पर्याप्त भने नभएको प्रधानाध्यापक यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *