फुटबलमा नेपाल च्याम्पियन

खेलकुद प्रदेश फिचर मुख्य खबर

काठमाडौँ, २५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलमा नेपाल च्याम्पियन बनेको छ । फाइनल खेलमा भुटानलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल सागमा लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको हो । अहिलेसम्म नेपाल नेपाल फुटबलमा सन १९८४, १९९३, २०१६ र सन २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।
पहिलो हाफमा भुटानसँग १–१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा लिएको अग्रतालाई रोक्दै भुटानले ३७औं मिनेटमा गोल गरेपछि खेल पहिलो हाफमा बराबरी भएको थियो ।
पहिलो हाफमा बराबरीमा अड्किएको नेपालले दोस्रो हाफमा गोल गर्दै सुनिल बलले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
१७औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५औं मिनेटमा सुनिल बलको गोलमार्फत नै नेपालले स्वर्ण जितेको हो । ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो ।
नेपाल साग फुटबलको साबिक विजेता हो । भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक राष्ट्र भारतलाई हराउँदै उपाधि जितेको थियो । मंगलबारको विजयसँगै नेपालले फुटबलमा लगातार सागमा दुई सिजन स्वर्ण जितेको छ ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो । नेपालले लिग चरणको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।
नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको थियो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरूष फुटबलको शीर्ष स्थानमा रहेको नेपालले चार खेलबाट १० अंक बनाएको थियो । भुटान साग फुटबलमा पहिलो पटक फाइनल पुगेको राष्ट्र हो । भुटान उपविजेता बनेको छ ।

५१ स्वर्णसहित नेपाल दोस्रो

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा ५१ स्वर्ण जितेको छ । नेपालमै सन् १९९९ मा भएको सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । नेपालको कुल पदक २०४ रहेको छ । भारत पहिलो भएको छ । भारतले एकसय १७२ स्वर्णसहित ३१० पदक जितेको छ ।
नेपालले मंगलबार बक्सिङ र पुरूष फुटबलबाट दुई स्वर्ण पदक थपेको हो । नेपालका लागि बक्सिङबाट सुनिल शाहीले ६० केजी तौल समूहबाट देशका लागि ५०औँ स्वर्ण पदक जिताए ।
सातदोबाटो स्थित कराँते हलमा पुरूष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर सिंहलाई हराउँदै सुनिलले स्वर्ण जितेका थिए । योसँगै नेपालले सागमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई दक्षिण एसियामा अब्बल सावित गरेको छ ।
यसअघि नेपालले सोमबार जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थपेको थियो । सोमबारसम्म ४९ स्वर्ण पक्का गरेको नेपालले मंगलबार दुई स्वर्र्ण थपेको हो । नेपालले ५१ स्वर्ण, ५९ रजत र ९४ कास्यसहित २०४ पदक जित्न सफल भएको छ ।
पदक तालिकाको पहिलो स्थानमा रहेको भारतले १७२ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३१० पदक जितेको छ । श्रीलङ्का ४० स्वर्ण, ८२ रजत र १२८ कास्यसहित तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित पाँचौँ,
माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छठौँ तथा भुटान सात रजत, १५ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले यो पटकको सागमा कम्तीमा ५० स्वर्ण पदक जित्ने लक्ष्य राखेको थियो । यो पटकको सागमा कराँते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोजस्ता खेलबाट नेपालले उल्लेख्य सफलता प्राप्त गरेको छ ।

सागको समापन

१३औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार समापन गरिएको छ । १ डिसेम्बरबाट सुरू भएको सागको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
समापन कार्यक्रममा भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको बताएका हुन् । उनले भने, ‘भूकम्पले क्षति भएका संरचनाहरू खडा गरेर खेल आयोजना गर्न सफल भएको छ ।
पदकहरू पनि यस वर्षको खेलमा पहिलेभन्दा धेरै राखिएका छन् । समग्रमा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ ।’
भ्रमण वर्षको पूर्वसन्ध्यामा सम्पन्न भएको सागले नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन् । उनले भने, ‘सागमा सहभागी हुन आउनुभएका खेलाडी, प्रशिक्षक तथा पाहुनाहरूले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
अत्यन्तै मैत्रीपूर्णरूपमा हार्दिकताका साथ खेल सफल भएकोमा निकै खुशी छु । सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाई भन्न चाहन्छु ।’ यसैबीच १४औं साग पाकिस्तानमा हुने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *