घोराही, १९ भदौ । नेपाल प्रेस युनियन दाङले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारलाई कामबाट निष्कासन गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजनीतिक आस्था र पूर्वाग्रह राखी तीनजना पत्रकारलाई कामबाट हटाइएको भन्दै प्रेस युनियन दाङले प्रमुख जिल्ला अधिकारीमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरू प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुँवरलाई राजनीतिक पूर्वाग्रहमा रेडियो प्रसार विकास समितिले कामबाट हटाएपछि पुनर्वहाली गर्न यसअघि अनुरोध गरिएको छ ।
सरकारी सञ्चारमाध्यमबाट व्यवसायिक पत्रकारलाई निष्कासन गर्ने तथा स्टिन्जरको म्याद नथपी आफ्ना पार्टी कार्यकर्ता भर्ती गर्ने अवाञ्छित काम भइरहेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरिएको छ ।
यसैगरी ज्ञापनपत्रमा प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र यसको सर्वत्र विरोध भएपछि केही समय स्थगत गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्ष, संघसंस्थाहरुसँग कुनै सल्लाह र परामर्श नै नगरी एकाएक राष्ट्रिय सभाबाट प्रक्रिया अघि बढाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै युनियनले सरोकारवालाहरुको माग सम्बोधन गदै संसदमा रहेका दलहरुको सहमतिबाट मिडिया काउन्सिल पारित गर्न माग गरेको छ ।
युनियनले उठाएका जायज मागका सन्दर्भमा सरकारले बेवास्ता गरी सिङ्गो पत्रकारिता, पत्रकारको हकहित र प्रेस स्वतन्त्रता विरोधी काम भएमा देशभरका पत्रकार चुप लागेर नबस्ने र कडा आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमार्फत चेतावनी पनि दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले युनियनको ध्यानाकर्षण तालुक मन्त्रालय र सरोकार निकायमा पु¥याई माग सम्बोधन गर्न पहल गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष देव यादव, सचिव आरके शीतल, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम, पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदीप गौतम, युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतसहितको टोली पुगेको थियो ।
