प्रावि भ्यूसनपुर पढाइ मेला

फिचर मुख्य खबर समाज

देउखुरी, १९ साउन । बालबालिकाहरुको पठनपाठनमा गुणस्तरता ल्याउनको लागि प्राम्भिक सिकाइ बलियो हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘जग बलियो भयो भने घर बलियो हुने’ भन्दै उनीहरुले सर्वप्रथम प्रारम्भिक शिक्षामा सुधार ल्याउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका हुन् ।
विद्यार्थीको शैक्षिकस्तरलाई गुणस्तरीय बनाउनका लागि सर्वप्रथम प्राथमिक तहको पठनपाठनलाई विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुको भनाई छ ।
विशेषगरी विद्यालयमा पढ्ने कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई रमाइलो शैलीमा पढाइ, लेखाइ र सीपको विकास गराउनु पर्ने शिक्षक,अभिभावक र विद्यालय परिवारको प्रमुख जिम्मेवारी भएको उनीहरुले बताएका छन् ।
आइतबार लमही नगरपालिका वडा नं. ९ कोल्तरा स्थित प्राथमिक विद्यालय भ्यूसनपुर पढाइ उत्सव कार्यक्रमका अवसरमा उनीहरुले यस्तो बताए ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत सञ्चालन भएको उक्त कार्यक्रमा बोल्दै लमही नगरका शिक्षा अधिकृत बासुदेव खनालले राष्ट्रियस्तरमा सञ्चालन भएका यस्ता कार्यक्रमले विद्यार्थीहरुको चाहना र ईच्छा अनुसारको शैलीमा पठनपाठन गर्ने वातावरणको विकास गर्ने बताए ।
उनले हरेक क्षेत्रका बालबालिकाको पढाइको मुख्य आधार जबसम्म बलियो हुँदैन तबसम्म शैक्षिक गुणस्तरमा सुधार आउन नसक्ने बताए । यसका लागि सर्वप्रथम विद्यालयस्तरमा पढाइ हुने कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई बालमैत्री वातावरण र रमाईलो शैलीमा अध्ययन अध्यापन गराउनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले विद्यालयमा विद्यार्थी उपस्थित भएकै आधारमा उनीहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन नसकिने समेत बताएका छन् ।
विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि विद्यालय परिवार, पारिवारीक वातावरण, सामाजिक परिवेशले समेत प्रभाव पार्ने भएकाले हरेकले बालमैत्री शिक्षा र बालमैत्री वातावरणमा पढ्ने र पढाउने बानीको विकास गर्नुपर्ने अनिवार्यता जनाए ।
साथै उनीहरुले बालबालिकाको पढाइका बारेमा प्रत्यक्ष जानकारी हुने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत बताए ।
यसैबीच कार्यक्रमका अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको थियो । जसमध्ये कक्षा १ मा सञ्चालन गरिएको चित्र लेखन प्रतियोगितामा सन्देश बोटे प्रथम, मेनुका बोटे द्वितीय,
मिना थापा तृतीय र सामना कुमालले सान्त्वना स्थान प्राप्त गरे । त्यस्तै कक्षा २ र ३ मा पढाइ सीप भएको थियो । जसमा मञ्जु बोटे प्रथम, सरिता कुमाल द्वितीय र रेश्मा कुमालले तृतीय स्थान प्राप्त गरे ।
कक्षा ३ का अमित कुमाल प्रथम, आयुष कुमाल द्वितीय र ममता घर्तीले तृतीय स्थान प्राप्त गरे । पढाई मेलामा प्रथम द्वतिय, तृतिय र सान्त्वना हुनेलाई पुरस्कृत समेत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रकाश विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडा सदस्य पार्वती विश्वकर्मा, रेवा अधिकारी,
लमही नगरपालिकाका शिक्षा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तोयाराम बस्नेत, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापालगायतको सहभागिता रहेको थियो ।
शिक्षक राधा सिंहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले सहजीकरण गरेका थिए । विद्यालयस्तरमा कक्षा १, २, ३ का विद्यार्थीलाई रमाइलो शैलीमा पढ्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *