प्राविधिकका कारण योजना सम्झौतामा ढिलाइ

फिचर मुख्य खबर

देउखुरी, १५ चैत । कर्मचारी समायोजनका कारण गाउँपालिकाका स्थानीय पालिकाहरुमा योजनाको सम्झौता गर्ने कार्य ढिलाइ भईरहेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ ले गरेको अुनगमनमा आर्थिक वर्ष ०७५÷७६ मा शुरु गरेका योजनाहरुको काममा ढिलाइ भएको पाइएको हो ।
गाउँपालिका र वडा कार्यालयबाट आर्थिक वर्ष ०७५÷७६ मा ३ करोड १ लाख, प्रदेश सरकारबाट ९० लाख, रेडक्रसबाट १९ लाख, राष्ट्रपति चुरे संरक्षणबाट ६३ लाख ५० हजार र अन्य संघ संस्थाबाट ३५ लाख गरेर ५ करोड ८ लाख ५० हजार रुपैयाँ विकास निर्माणका लागि छुट्टाईएको छ ।
अनुगमनका क्रममा गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीले कर्मचारी समायोजनका कारण कर्मचारीहरु आउने जाने गर्दा योजनाको सम्झौता गर्ने कार्यमा ढिलाई भएको बताए ।
विभिन्न योजनाहरुमाथि बजेटहरु छुट्याइएको भए पनि कर्मचारीहरु नहँुदासमेत असर पर्ने गरेको बताउँदै कार्यसम्पादनमा समस्यामा निम्तिएको उनले जानकारी दिए ।
यसका लागि आगामी चैत्र १७ गते गाउँपालिकाको टोली वडामै बोलाएर सम्झौता नगरिएका योजनाहरुको सम्झौता गरिने उनले बताए । उनले वडामा चालु आर्थिक बर्षमा साना ठूला गरी ४१ योजानाको काम गर्नुपर्ने समेत बताए ।
अहिलेसम्म करिब १७ योजनाको मात्र सम्झौता भएको छ उनले भने– तीनवटा योजनाको काम सम्पन्न भैसकेको अन्य सम्झौता भैसकेका मध्ये पाँचवटा निर्माणाधीन अवस्थामा रहेको छ ।
वडामा रहेको कुल बजेट पाँच करोड आठ लाख पचास हजारबाट सडक निर्माण, बाटो निर्माण, सिंचाईका लागि कुलो, मोटर, गाउँपालिकास्तरीय खेलकुद मैदान, कच्ची नाला, पक्की नाला, वडा कार्यालय बनाउने स्थानमा तारवार, खोला नियन्त्रणका लागि तटबन्धन लगायतका योजनाका काम हुने छन् ।
बिहीबार गाउँपालिकाका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपती यादव, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी, सदस्यहरु त्रिलोचन यादव, तारालाल चौधरी, माया नेपाली, राधा भण्डारी र पत्रकारहरुको टोलीले योजनाहरुको अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *