प्रादेशिक माघी महोत्सव तयारी तीब्र

मुख्य खबर समाज

घोराही, २४ पुस । दाङको घोराहीमा पहिलो पटक हुन लागेको ‘प्रादेशिक माघी महोत्सव २०७५’ को तयारी तिव्र बनाइएको छ । थारु कला, संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको माघ महोत्सवको प्रचारप्रसार तथा विभिन्न सरोकारवालाहरुसँग छलफल समन्वय जारी रहेको प्रादेशिक माघ महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए । उनको अनुसार अहिलेसम्म महोत्सवको तयारी करिब ८० प्रतिशत सम्पन्न भएको छ । यसैबीच माघी महोत्सवमा मगर र नेवार समुदायको नाच पनि प्रदर्शन गरिने कार्यक्रम रहेको संयोजक चौधरीले जानकारी दिए । माघ महोत्सव थारु समुदायले आयोजना गरिएता पनि सबै समुदायको अपनत्व हुने गरी सवै जातजातिको कला, संस्कृति प्रदर्शनी गर्ने तयारी रहेको संयोजक चौधरीले बताए । यसैगरी प्रादेशिक माघ महोत्सवमा तीनवटा प्रदेशको थारु मघौटा नाच, लठहा नाच, राना थारुको नाच प्रदर्शन गरिने कार्यक्रम रहेको महोत्सव प्रचारप्रसार संयोजक सन्तोष दहितले जानकारी दिए । दहितका अनुसार प्रदेश नम्बर ५ को दाङ, बाँके, बर्दिया, कपिलबस्तु, रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली र कन्चनपुर जिल्लाको नाच प्रदर्शन गरिने भएको छ ।

महटावाहरुसँग बृहत छलफल

यसैबीच ‘संस्कृतिक विकासके लाग हमार अभियान, सामाजिक न्यायसहितक समृद्धम योगदान’ भन्ने मुल नारासहित यही पुस २६ र २७ गते आयोजना गर्न लागिएको प्रादेशिक माघ महोत्सवलाई भब्य र सभ्य बनाउका लागि दाङका महटावाहरुसँग सोमवार नारायाणपुरमा बृहत छलफल गरिएको छ । प्रादेशिक माघ महोत्सव मुल आयोजक समितिको आयोजनामा तथा महटावा उपसमितिको संयोजनमा दाङका महटावाहरुसँग महोत्सवको विषयमा छलफल गरिएको छ । महटावा महासंघ दाङका पदाधिकारी तथा घोराही उपमहानगरपालिकाभित्र रहेका ४० जना महटावाहरुसँग छलफल तथा अभिमुखीकरण गरिएको हो । महोत्सवको विषयमा जानकारी गराउँदै महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले पहिलो पटक दाङमा प्रादेशिक माघ महोत्सव आयोजना गर्न लागिएकोले सबै महटावाहरुलाई सहयोग गर्न अनुरोध गरे । तीन प्रदेशबाट थारु झाँकीसहित मघौटा नाच प्रदर्शनीसँगै थारु भाषा तथा साहित्यको विकासमा राज्यको नीतिसम्बन्धी कार्यशाला गोष्ठीसमेत छलफल गरिने भएकोेले सबै महटावाहरु अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने बताए ।
दाङ थारु समुदायको उद्गमथलो भएकोले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि महटावाहरुको महत्वपूर्ण भूमिका हुनेभएकाले सबै गाउँ–गाउँबाट आफ्नो पहिचान झल्किने गरी एक नाचसँगै महटावाहरु सहभागिता हुनुपर्नेमा जोड दिए । महटावा महासंघ दाङका अध्यक्ष एवं महटावा उपसमितिका संयोजक चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका सदस्य केवि चौधरी, महटावा जगवीर चौधरी, हरि चौधरी, बालुराम चौधरी, रामबहादुर चौधरी, महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष दहित लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महोत्सवका प्रवक्ता प्रकाश चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *