प्रहरीलाई सहयोग आवश्यक

मुख्य खबर समाज

घोराही, ५ भदौ । प्रहरी र नागरिकको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने मंगलबार धर्नाको बसन्तापुरमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर ५ को आयोजनामा त्यहाँ भएको शान्ति सुरक्षा कायममा वडाबासीको भूमिका बिषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले प्रहरी र नागरिक मिलेरै शान्ति कायम हुने बताएका हुन् । कुनै पनि घटना हुनुपूर्व र भैहाले पछि पनि प्रहरीलाई तत्काल खबर गर्नसके त्यसबाट हुने जोखिम तथा क्षतिलाई कम गर्न सकिने बक्ताहरुको भनाई छ । वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सर्रा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक देवराज वलीले नागरिकको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको भन्दै समयमै सूचना दिएर सघाउन आग्रह गरे । आफूहरु बर्दीको प्रहरी भएको र नागरिकहरु बिना बर्दीका प्रहरी भएको भन्दै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सबैको बराबर भएको बताए । त्यसैगरी, धारपानी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामप्रसाद रोकाले जति सक्यो छिटो प्रहरीलाई सूचना दिएर सघाउन वडाबासीलाई आग्रह गरे । आफूहरु जागै बसेर नागरिकहरुलाई शान्तिपूर्वक सुत्ने वातावरण बनाउन प्रतिवद्ध रहेको बताए । साथै वडाबासीहरुले शान्ति स्थापनामा खलल पु¥याउने क्षेत्र र बस्तुहरुको पहिचान गरेर रोक्न प्रहरीलाई सुझाव दिएका छन् । मदिरा, लागूऔषधले पनि शान्ति सुरक्षामा असर पु¥याएको भन्दै वडाबासीले यसलाई प्रहरीले नै कडाइका साथ नियमन गर्नुपर्ने बताएका छन् । साथै वडामा सार्वजनिक भवन तथा स्थल कार्यालय एवं विद्यालय आसपासमा मदिरा बिक्री वितरण नगर्ने निर्णय समेत भएको वडा अध्यक्ष दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *