जनताभन्दा सरकार महत्वकांक्षीः पौडेल्

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, ९ असोज ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताभन्दा सरकार बढी महत्वकांक्षी देखिएको बताएका छन् । ‘सरकारले कुरा ठूला–ठूला गर्छ तर काम गर्न सकेको छैन्’ उनले भने ‘जनताभन्दा पनि सरकार बढी महत्वकांक्षी देखिन्छ ।’ प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले बिहीबार तुुलसीपुरमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकार आफ्नै कारण आलोचित बनेको बताए ।
‘दिनदिनै भ्रष्टाचार मौलाउँदै गएको छ, बलत्कार, हत्या, हिंसाका घटना बढ्दै जान थालेका छन्, व्यवसायीले असुरक्षित महसुस गरेका छन्, उनले भने ‘सरकार नागरिकको सुरक्षा खै ? सरकार आफ्नै गतिविधिका कारण नै असक्षम देखिने आयो त ?’
कम्युनिष्ट सरकारले जनतालाई खुशी बनाउनेभन्दा आफै खुशी बन्नेतर्फ सरकार बढी व्यस्त देखिएको बताए । ‘दुई तिहाईको सरकार आएपछि मैले पनि धेरै आशा गरेको थिए’ उनले भने ‘खै दुई वर्षसम्म पनि केही छाँट देखिएन् ।’ सरकारको बोली एउटा काम अर्को भएको भन्दै आफूले गर्ने कामकै स्पष्टता नहुँदा सरकारले जनतालाई निराशा बनाएको बताए ।
‘सरकारका राम्रा काम भेटाउनलाई के गर्नु पर्ने हो त ? उनले प्रश्न गरे । सरकारले बढाएको अवैज्ञानिक रुपमा कर बढाउँदा जनताले सास्ती पाएको उनको भनाइ छ । ‘सरकारले हुँदा–हुँदा पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउन थाल्यो’
उनले भने ‘पैतृक सम्पत्ति हस्तान्तरण गर्दा लाग्ने कर खारेज गरियोस् ।’ नेता पौडेलले काँग्रेसलाई बलियो बनाउन नेताको गुणगानभन्दा संगठनलाई बलियो बनाउनतर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘नेताको गुणगान हैन्, तल्लो तहसम्म संगठन सुदृढीकरणमा लाग्नुहोस्’ उनले भने ‘नेताको गुणगान गाएर केही हुन्छ भन्ने मान्नुभएको छ भने आजदेखि त्यो भ्रम हटाउनुहोस् ।’
नेता पौडेलले एक अर्को प्रसंगमा प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ नै उपयुक्त रहेको भन्दै दङ्गालीलाई सहानुभूति प्रकट गरेका छन् । ‘मैले पार्टीको प्रदेशस्तरीय भेला जतिबेला दाङमा गरेको थिए, प्रदेशको सेन्टर नै दाङ नै हो भन्ने मलाई त्यो समयदेखि नै लागेको थियो, एउटा सामान्यभन्दा सामान्य नागरिकले पनि थाहा पाउने कुरा हो दाङ सेन्टरमा छ भनेर’
उनले भने ‘दुई तिहाई बहुमत नेकपा सरकारले चाहेमा दाङलाई स्थायी राजधानी बनाउन सक्छ, स्पष्ट बहुमत छ, तर खै केले हो रोकेको ?’ प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि नाम र स्थायी राजधानीको टुङ्गो लाग्न नसक्नु नागरिकलाई अन्यौलतामा धकेल्नु भएको उनको भनाइ छ ।
जनताले आफूहरुलाई नपत्याएकै कारण धोका भएको भन्दै नेता पौडेलले नागरिकलाई अन्यौलमा राख्नुभन्दा पनि तत्काल नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सरकारलाई आग्रह गरे ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खरालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले नेता पौडेलललाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा व्यवसायिक सुरक्षाको ग्यारेण्टीको माग गरिएको छ । कार्यक्रममा सहजीकरण महासचिव झलक केसीले गरेका थिए ।
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिष्ट व्यवस्था आफैमा असफल भएको बताएका छन् । नेपाली काँग्रेस दाङले बिहीबार श्रीगाउँमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट व्यवस्था भनेको अरुले सिकाएको व्यवस्था भएको बताए । ‘पाहुना धेरैबेर कहाँ बस्नुहुन्छ, त्यस्तै हो अहिलेको व्यवस्था’ उनले भने ‘लेनिनवाद, माओवाद, प्रचण्डपथ कुन चाहिँ व्यवस्था लागू गर्नुहुन्छ ?’
नेता पौडेलले वर्तमान सरकार महङ्गी, भ्रष्टाचार र लुटतन्त्र, मच्चाउन लागिपरेको भन्दै नेपाली काँग्रेसले सरकारका विरुद्धमा देशब्यापी खबरदारी र निरन्तर सडक र सदनबाट आन्दोलन गर्नेसमेत बताए ।
मंसिरमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुने प्रदेश सभा उपनिर्वाचनलाई लक्षित गरी पश्चिम दाङमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले आगामी निर्वाचनमा काँग्रेस कार्यकर्ताहरुले मात्रै रुखमा भोट हाले ढुक्कसँग काँग्रेसको विजयी हुने बताए ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, पूर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारी
, बिरकेश्वरी गौतम, गेहेन्द्र गिरी, गोविन्द पोख्रेल, धु्रवराज पुरी, केशव आचार्यलगायतले पार्टीलाई बलियो बनाउन एकीकरणमा जोड दिएका छन् । कार्यक्रमको सहजीकरण काँग्रेस दाङका सचिव शंकर डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *