प्रदेश नं. ५ मा १५ हजार बढी दृष्टिबिहीन

मुख्य खबर समाज

तुलसीपुर, १७ कार्तिक । प्रदेश नम्बर ५ मा १५ हजार बढी दृष्टिबिहीन रहेको देखिएको छ । नेपालललाई विसं २०८१ भित्र अन्धोपनमुक्त राष्ट्र बनाउने सरकारले तयारी गरीरहेको समयमा प्रदेश ५ मा भने अझै १५ हजार बढी दृष्टिविहीन रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले प्रदेश नम्बर ५ मा अहिले पनि १५ हजार ४ सय ६२ जना दृष्टिविहीन रहेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
उनका अनुसार प्रदेश नम्बर ५ मा २० हजार १ सय जनामा मोतियाविन्दुको समस्या रहेको छ । प्रत्यक वर्ष थप हुने दर भने ९ हजार २ सय ७१ रहेको छ । तथ्यांक अनुसार विश्वमा आँखाको समस्या ५५ प्रतिशत महिलामा रहेको छ भने ९० प्रतिशत दृष्टिको समस्या गरीव परिवारमा रहेको देखिएको छ ।
दृष्टिदोषको प्रमुख कारण चश्मा लगाउनुपर्नेमा ४९ प्रतिशत रहेको छ भने मोतियाविन्दुका कारण २६ प्रतिशत रहेको छ । हाल नेपालमा २ लाख ४६ हजार दृष्टिविहीन रहेको अनुमान गरिएको छ भने नेपालमा अहिले प्रत्येक दिन १ सय २५ जनाले दृष्टि गुमाइरहेको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले जानकारी दिए ।
यि मध्ये समयमै उपचार भए ८० प्रतिशत समस्या सजिलै समाधान गर्न सकिने उनको भनाई छ । अहिले पनि ७० देखि ८० लाख मानिसले आँखा उपचारको सेवा नपाएको तथ्याङ्कले देखाएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले सन् २०२० देखि २०२४ सम्ममा अस्पताललाई आत्मनिर्भर, सेकेन्डरीबाट टर्सरी तहको अस्पताल बनाउनेलगायतका दीर्घकालिन योजना पनि अघि सारेको छ । नेपाल नेत्रज्योति संघ दाङले हाल तीनवटा आँखा अस्पताल र विभिन्न जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्बन्धी सेवा दिँदै आएको छ ।
यसैबीच नेपाल नेत्रज्योति संघ जिल्ला शाखा दाङको १७आँै वार्षिक साधारणसभा शुक्रबार तुलसीपुरमा भएको छ । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख पाण्डेले दाङमा नेत्र विशेषज्ञ अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । उनले आँखा उपचार सेवा प्रदानका लागि दक्ष जनशक्ति जिल्लामै उत्पादन गर्न नेत्र विशेषज्ञ अध्ययन केन्द्रको आवश्यकता रहेको भन्दै त्यसका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताए ।
ंसंघका जिल्ला उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन सचिव सुरेन्द्र खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्यामप्रकाश आचार्यले प्रस्तुत गरेका थिए ।
साधारणसभा उद्घाटन कार्यक्रममा आँखा स्वास्थ्य संवेदनशील विषय रहेकाले सधै सचेत रहनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव सुरेन्द्र खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *