प्रदेश नं. ५ मा संस्कृति कानुन बनाइदै

फिचर मुख्य खबर समाज

थारु प्रथालाई मान्यता दिन छलफल
दाङ, २१ जेठ । थारु समुदायले मान्दै आएको प्रथालाई प्रदेशले सचिवालयले कानुनी मान्यता दिने तयारी गरेको छ । थारु समुदायले परम्परादेखि मान्दै र अंगाल्दै आएको महटवा प्रथालाई कानुनी मान्यता दिने गरी प्रदेशमा सुझाव संकलन गर्न थालिएको हो ।
थारु जातिको परम्परागत प्रथालाई कानुनी मान्यता दिने तयारी भएपछि प्रदेश सचिवालयले तराईका विभिन्न जिल्लामा सरोकारवालासँग सुझावसमेत लिन सुरु गरेको प्रदेश सचिवालयका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिए ।
उनले केही दिन अगाडि बर्दियामा सुझाव लिइएको र सोमबार दाङका थारु अगुवा तथा महटवासँग सुझाव लिइएको बताए । महटवा प्रथा सञ्चालन गरिरहेको समुदाय र स्थानीय सरकारसँगको समन्वय महत्वपूर्ण रहेकोले कानुनी ब्यवस्थाको वारेमा प्रदेश नं. ५ को संसदीय सचिवालयले छलफल चलाएको छ, उनले भने,
संसदमा सुझाव पेश गरेर आवश्यक कानुन निर्माण हुने छ । थारु समुदायमा आफ्नै परम्पराले बस्तीहरु सञ्चालन हुने र रीतिरिवाज मान्ने भएपछि त्यसलाई कानुनी मान्यता दिन पटक–पटक आवाज उठिरहेको बेला प्रदेश सरकारले कानुन निर्माणका लागि सुझाव लिनु सकारात्मक भएको थारु अगुवा चन्द्रप्रकाश चौधरीले बताए ।
उनले थारुको महटवा प्रथालाई कानुनी मान्यता दिनुपर्ने बताए । हामीले पहिलेदेखि नै राज्यलाई सहयोग पुग्ने गरी परम्परा चलाएका छाँै, यसलाई कानुनी मान्यता दिनुपर्छ, उनले भने, विगतदेखि हाम्रो माग यही नै हो ।

महटवा प्रथा सञ्चालन गरिरहेको समुदाय र स्थानीय सरकारसँगको समन्वय महत्वपूर्ण रहेकोले कानुनी ब्यवस्थाको वारेमा प्रदेश नं. ५ को संसदीय सचिवालयले छलफल चलाएको छ ।

बड्घर, भल्भन्सा, महटवा महासंघका केन्द्रीय अध्यक्ष तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले थारु समुदायको यो प्रथा परापूर्व कालदेखि चल्दै आएकोले यसको संरक्षणका लागि पनि कानुनी मान्यता आवश्यक रहेको बताए ।
बड्घर प्रथा संरक्षण गरी कानुनी मान्यताका लागि प्रदेशले छलफल गर्नु र कानुन निर्माण गर्ने प्रक्रिया अघि बढ्नु सकारात्मक भएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले थारु समुदायको प्रथा संरक्षणका लागि कानुन निर्माण गर्ने प्रयास भएको बताए । पूर्खादेखि चलिआएको प्रथा संरक्षण गर्नु राज्यको दायित्व पनि हो, उनले भने, ‘प्रदेश नं. ५ थारु बाहुल्य क्षेत्र हो, थारु समुदायमा छुट्टै प्रथा चलिआएको छ, यसको संरक्षण हुनुपर्छ ।
थारुहरुको बड्घर महटवा प्रथा संरक्षणका लागि यस अघि बर्दियामा थारु समुदायका अगुवासँग सुझाव संकलन गरेको र दोस्रो चरणमा दाङका अगुवासँग सुझाव संकलन गरेको प्रदेश नं. ५ का प्रदेशसभा सदस्य चौधरीले बताए ।
उनले प्रदेश सरकारले थारु प्रथालाई निरन्तरता र कानुनी मान्यता दिने बताए । अहिले गाउँका सबै झै–झगडादेखि अन्य विवादहरु महटवाले नै मिलाउदै आएका छन, महटवाले मिलाउन नसकेका विवाद मात्रै अघि बढ्ने हो, उनले भने, यसले राज्यलाई पूर्णरुपमा सहयोग गरेकै छ ।
‘अहिले हरेक विवाद, झै–झगडाहरु महटवाले नै मिलाउँदै आउनुभएको छ’ उनले भने ‘ति महटवालाई कानुनी मान्यता दिएर, महटवाले मिलाउन नसकेको विवादहरु मात्रै न्यायीक समितिमा पठाउने गरी ब्यवस्था मिलाउनुपर्छ ।’
यसले थारु संस्कृति संरक्षण गर्न मद्दत पुग्ने छ । थारुहरुका अगुवाहरुले स्थानीय सरकारकासँगको समन्वयमा कार्य गर्न सहयोग पुगोस् र सहज होस् भनेर कानुन निर्माण गर्न लागेको प्रदेश नं. ५ का प्रदेश सचिवालय सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
सरकारीस्तरबाट नभए पनि गैरसरकारी रुपमा यस बिषयलाई नीतिगत व्यवास्थापन गरिने उनले बताए । सुझावका आधारमा कानुन निर्माणको प्रक्रिया अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *