गुमेको साख फर्काउने दाउमा कांग्रेस

फिचर मुख्य खबर

घोराही, २६ जेठ । नेपाली कांग्रेसले गत निर्वाचनमा गुमेको साख फर्काउने दाउमा आफ्ना गतिविधि बढाउन थालेको छ । जनतालाई कांग्रेसको नीति र सिद्धान्तलाई बुझाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान गुमेको साख फर्काउने दाउमा रहेको देखिन्छ ।
कांग्रेसको पहिलो चरणको जागरण कार्यक्रम शनिबार समापन गरिएको छ । बैशाख २५ गते देशभरी एकसाथ सुरु भएको जागरण अभियान शनिबार सरकारविरुद्ध प्रदर्शन गर्दै समापन गरिएको हो ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको कार्यक्रमअन्तर्गत ¥यालीसहित आमसभा गरेर समापन गरिएको छ ।
पहिलो चरणअन्तर्गतको एकमहिने जागरण अभियान सञ्चालनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत केन्द्रीय प्रतिनिधि भएर आएका छन् । दशवटै स्थानीय तहमा जागरण अभियानमा खटिएका थिए ।
जिल्ला सभापति कीर्ति बहादुर खड्काको सभापतित्वमा भएको समापन कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस कमजोर पार्टी नभई व्यक्तिमा भएका कमीकमजोरीका कारण पार्टीले यसपटकको निर्वाचनमा पराजय भोग्नुपरेको बताएका थिए ।
आफ्ना कमीकमजोरीलाई सबैले मनन् गर्दै सच्याउनुपर्ने उनले सुझाव दिए । पार्टी नेतृत्व नसुध्रिदाँसम्म कांग्रेस बलियो बन्न नसक्ने जिकिर गरे । पार्टीलाई फेरि पुनर्जीवन दिन गाउँतहसम्म यसरी नै निरन्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्यकर्ताको मनोबल बढाउने खालका गतिविधि लिएर आउनु पर्ने बताए ।
कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताहरुले नेतृत्वको कार्यशैली कमजोर र स्पष्ट हुन नसकेका कारण पार्टीले गति लिन नसकेको गुनासो गरेका थिए ।
संघीय संरचना अनुसार पार्टीको विधान महासमितिबाट अनुमोदन भएपनि जिल्ला तथा क्षेत्रीय कमिटीहरु अझै पनि साविक गाविस तथा नगरपालिकाबाट सञ्चालित रहनु विडम्बना भएको बताएका थिए ।
बस्नेतले जिल्लामा लामो समयदेखि योगदान दिँदै आएका नेता कार्यकर्ताको चासो गुनासोलाई जस्ताको तस्तै केन्द्रीय समितिमा पेश गरेर त्यसलाई कार्यान्वयन गराउन आफूले हर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा समितिका पदाधिकारी, भातृ संघसंगठन, शुभेच्छुक संघसंस्था एवं सम्पूर्ण क्रियाशील सदस्यहरु तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
अब कांग्रेसले भदौ २४ गते विपी जयन्तीको अवसर पारेर असोज ७ गतेसम्म दोस्रो चरणअन्तर्गत १५ दिने जागरण अभियान चलाउने छ । दोस्रो चरणको अभियानमा पनि कांग्रेसले तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रहरुमा केन्द्रीय प्रतिनिधि खटाएर कार्यक्रमहरु सम्पन्न गर्नेछ ।
तेस्रो चरणअन्तर्गत पुस ७ गते सुरु हुने १० दिने जागरण अभियान राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर समापन गरिने तयारी गरेको छ । कार्यक्रममा कांग्रेस नेताहरु राजु खनाल,
योगेन्द्र चौधरी, सुशीला चौधरी, कमल किशोर घिमिरे, क्षेत्रीय सभापति भूपबहादुर डाँगी, तरुण दलका टिका घर्ती लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *