प्रतिष्ठान सकस

सम्पादकीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सकस देखिएको छ । प्रतिष्ठानमा देखिएका समस्या र भएका गतिविधिहरुमा रहेर प्रतिष्ठानमा अहिले सकसपूर्ण बनेको छ । दङ्गाली जनताको लामो संघर्षपछि स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक तथा वाह्य समस्याले जेलिएको देखिन्छ ।
पूर्णरुपमा प्रतिष्ठान सञ्चालनमा हुन नपाउँदै प्रतिष्ठानमा विभिन्न अल्झनहरु देखिएका छन् । प्रतिष्ठानमा क्रियाशील नहुँदै देखिएका र देखाईका विषयवस्तुले दङ्गालीको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा अवश्य पनि समस्या देखाउने नै छ ।
अहिले प्रतिष्ठानमा दुई विषयले बढी नै चर्चा पाएका छन् । अस्पतालमा कार्यरत डाक्टरहरुको सामूहिक राजीनामा र मेडिकल अधिकृतको राजीनामा स्वीकृतको विषय र अर्काे प्रतिष्ठान बचाऊ समितिको आन्दोलन र उपकुलपतिको राजीनामा मागको विषयले धेरै नै चर्चा बटुलेको छ । दुवै विषयमा आफ्ना–आफ्ना तर्क प्रस्तुत हुँदै आएका छन् । यसले अहिले प्रतिष्ठानलाई चर्चामा ल्याएको छ ।
जसका कारण सेवाग्राहीहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । प्रतिष्ठान प्रशासनले नीति विपरीत डाक्टरहरुले कार्य गरेको भनेर कारवाही स्वरुप उनीहरुसँग भएको करार सम्झौता भंग गर्नु र उपकुलपति,
रजिष्टारको कार्य शैलीको विरोधमा सामूहिक राजीनामा दिने र त्यहि निहूँ पारेर प्रतिष्ठान बचाऊ समितिको नाममा आन्दोलन गर्नुले प्रतिष्ठान नै संकटमा पार्ने होकी भन्ने देखिन्छ ।
राज्यले स्थापना गरेको संस्थालाई सबै मिलेर विकास र प्रवद्र्धन गर्न सक्नुपर्छ । राजनीतिक आस्था र विचारका आधारमा प्रस्तुत हुनुहुँदैन । अहिलेको घटनाक्रमले प्रतिष्ठानमा राजनीतिले दाउ हेरेको हो की भन्ने देखाएको छ ।
समितिले प्रतिष्ठान सुधार र पूर्ण सञ्चालनको माग गर्दा उपयुक्त हुने देखिन्छ । तर व्यवस्थित गर्ने विषयमा प्राथमिकता हुनुपर्ने हो तर सिधै राजीनाकोे मागले राजनीति प्रष्ट देखाएको छ ।
प्रतिष्ठान पदाधिकारीले पनि प्रतिष्ठानलाई पारदर्शी, जिम्मेवार र सेवामुखी बनाउनेतर्फ जानुपर्छ त्यो नगरेर बलमिचाई गरेमा विवाद सिर्जना बढ्ने हुन्छ ।
निहीत स्वार्थका लागि अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्यामा पारिनु हुँदैन । पदाधिकारी गलत हुन भने कारवाही गरिनुपर्छ । बाह्य तत्वले प्रतिष्ठानमा राजनीति घुसाउन खोजेको छ भने त्यसको पनि अन्त्य गरेर स्वास्थ्य संस्था स्वास्थ्य संस्थाकै रुपमा सञ्चालन गर्ने र गराउने वातावरण निर्माण हुन जरुरी छ ।
आन्दोलन र आवश्यकताले स्थापना गरेको संस्थालाई बरवादी गराउनु हुँदैन । ग्रामीण क्षेत्रलाई स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्थायित्व गराउन र त्यसलाई क्रियाशील बनाउन सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *