प्रतिष्ठान अध्ययन गर्न टोली दाङमा

मुख्य खबर

घोराही, २५ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उत्पन्न विवाद समाधानका लागि स्वास्थ्य राज्यमन्त्रीको नेतृत्वमा अध्ययन टोली दाङ आएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको नेतृत्वमा विवाद अध्ययनका लागि टोली बिहीबार घोराहीमा आएको हो । टोलीले बिहीबारदेखि अध्ययन थालेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएदेखि नै कर्मचारी आन्दोलनले उपचार सेवा प्रभावित हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईले सबै सरोकारवाला पक्षसँग जानकारी दिन सुरु गरेको हो ।
टोलीले प्रतिष्ठानका पदाधिकारी, आन्दोलित कर्मचारी, प्रमुख जिल्ला अधिकारीसहित घोराही उपमहानगरपालिकाका प्रमुख, प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरुसँग विवादका विषयमा जानकारी लिएको छ । कर्मचारीहरुको आन्दोलन किन उत्पन्न भयो, उपचार सेवा किन रोकियो, कर्मचारीका मागहरु के–के हुन, प्रतिष्ठानको ऐनमा के छ र सरोकारवालाहरुले गर्ने समन्वय के हुन्छन् ? भन्ने बारेमा राज्यमन्त्री यादवको टोलीले जानकारी दिएको छ । पुस ३० गतेदेखि काम रोकेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन् ।
तत्कालिन उपक्षेत्रीय अस्पताल विकास समितिबाट भर्ना भएका कर्मचारी स्वतः प्रतिष्ठानमा समायोजन हुने व्यवस्था भएको केही महिना म्याद थप गरेर विभिन्न बहानामा निष्कासन गर्न थालेको भन्दै ६२ जना कर्मचारीहरु काम रोकेर आन्दोलनमा छन् भने सरकारका करार कर्मचारीहरुले पनि जागिर सुनिश्चितताको माग गर्दै आन्दोलनमा होमिएका छन् । करिब ८० जना बढी कर्मचारीहरु काम छोडेर प्रतिष्ठानमै धर्नामा बसेपछि प्रसूति सेवा ठप्प छ भने अस्पताल दुर्गन्धित बनेको छ । कर्मचारी आन्दोलनलाई समाधान गर्न प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित स्थानीय सरकार, प्रतिष्ठान, सरोकार समितिका पदाधिकारी र कर्मचारीहरु बीच एक सातासम्म निरन्तर प्रयास भए पनि निष्कर्षमा नपुग्दा अहिले विवाद मन्त्रालय हुँदै संसदीय समितिमा समेत पुगेको हो । स्वास्थ्य मन्त्रालयको टोलीले अध्ययन सुरु गरेको छ भने संसदीय समितिले सांसद खगराज अधिकारीको संयोजकत्वमा छानबीन टोली गठन गरेको छ । लामो समयसम्म आन्दोलन जारी रहदा र उपचार प्रभावित हुँदा बिरामीहरु उपचारका लागि प्रतिष्ठानमा जान छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *