प्रतिपक्षले राम्रा काम देखेनः पोख्रेल

फिचर मुख्य खबर राजनीति समाज

तुलसीपुर, ८ असोज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सरकारका राम्रा काम प्रतिपक्षले देख्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले धेरै राम्रा काम गरेको भन्दै प्रतिपक्ष काँग्रेसले त्यो देख्नै नसकेको बताए ।
नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघ प्रदेश नम्बर ५ को प्रथम भेलालाई मंगलबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले विकासै हुन सकेन भनेर विपक्षीले जनतामा भ्रमको खेती गरेको बताए । ‘सरकारले कामै गरेन भनेर जनतामा निराशा छाउने भ्रमको खेती भइरहेको छ, निराशाको खेती गर्नेहरु सरकारमा भएपनि निराशाको नै खेती गर्छन्, उनले भने ‘भ्रमको खेती गर्नेहरु सधै त्यहि गरिरहन्छन् ।’
दाङमा विकास भएन भनेर विभिन्न समयमा आफूले टिप्पणी सुन्ने गरेको बताउँदै सरकारका राम्राभन्दा नराम्रा कामको बढी प्रचार भएको बताए । ‘राम्रा काम देख्ने वुद्धि कहिले होला पलाउने ? खै कहिलै सुनिएन त राम्रा काम भयो भनेर ? उनले भने ‘सरकारमा आफू हुँदा स्वर्ग देख्ने अरु हुँदा नर्क देख्ने परम्पराको अन्त्य कहिले हुने ?’
दाङमा पछिल्लो समय विकास निर्माणले गति लिएपनि जनतामा विकासै भएन भनेर गलत प्रचार भएको उनले बताए । ‘कुनै समय दाङमा दुईवटा पुल थिए, अहिले ३० भन्दा बढी पुल निर्माण भइसके, केही निर्माणको क्रममा छन्, यो पनि विकास नभएकै होला हैन्,
उनले भने ‘दिनदिनै सडक कालोपत्रे भएका छन्, गाउँ–गाउँमा सडकका ट्रयाक खोलिएका छन्, अब पनि कसरी विकास भएन भनेर भन्न सकेको ?’

मुख्यमन्त्री पोख्रेलले रकम अभावकै कारण विकास निर्माण हुन सकेन भन्नु गलत भएको भन्दै विकास निर्माणका लागि रकम अभाव नरहेको बताए । उनले ठेकेदारप्रति इंगित गर्दै भने ‘दाङमा ठेकेदारकै कारण विकासको गति सुस्त रहेको हो,
सरकारको कारण होइन् सरकारले आवश्यक रकम त उपलब्ध गराएकै छ ।’ नेपाल हेभि इक्युपमेन्ट अपरेटर संघका प्रदेश संयोजक भरत चन्दको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले तिब्र विकास निर्माणका लागि प्रविधिको प्रयोग नै अनिवार्यता रहेको बताए ।
‘मानवीय स्रोत साधनको प्रयोगले मात्र विकासले गति लिन सक्दैन्’, उनले भने ‘अब प्रविधिको प्रयोगले मात्रै तिब्र विकास सम्भव छ र अपेरटरकोहरुको साथ र सहयोगले मात्रै विकास निर्माण गर्न सकिन्छ ।’
कार्यक्रममा नेपाल हेभि इक्युपमेन्ट अपरेटर महासंघका केन्द्रीय अध्यक्ष लोकमान खत्रीले राष्ट्रको विकास निर्माण गर्न आफूहरु लागि परे पनि सरकारले आफ्नो मुद्दामा उदासिन बनेको बताए ।
‘सरकारले अहिलेसम्म बिमा रकम ५ लाखमै सीमित गरेको छ, १० लाखसम्म बिमा रकम व्यवस्था हुनुपर्छ, लाइसेन्स वितरण प्रणाली पनि सहजरुपमा हुन सकेको छैन्’ उनले भने ‘लाइसेन्स वितरणमा निश्चित मापदण्ड नहुँदा अपरेटर समस्यामा छन्, मापदण्ड सही बनाइयोस् । कार्यक्रममा संघका केन्द्रीय महासचिव भवानीप्रसाद पुरुषले अपरेटरहरुका मागमा राज्यको वेवास्ता हुँदा अपरेटर पेशा छोड्ने अवस्थामा पुगेको बताए ।
‘देशमै केही गर्छु, राष्ट्र निर्माणमा जुट्छु भन्नेहरुलाई सरकारले वेवास्ता गर्ने गरेको छ उनले भने ‘अनि कसरी हुन्छ त विकास ?’ संघका दाङ अध्यक्ष चन्द्र डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दाङसहित देशभरका अपरेटरहरुको सहभागिता रहेको थियो । संघमा प्रदेश नम्बरमा ५ मा २ हजार बढी अपरेटर आवद्ध भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *