प्रजातान्त्रिक समाजवाद नै काँग्रेसको स्पष्ट कार्यदिशा

फिचर मुख्य खबर राजनीति समाज

घोराही, २ असार ।
प्रजातान्त्रिक समाजवाद नै काँग्रेसको स्पष्ट कार्यदिशा रहेको शनिबार घोराहीमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रजातान्त्रिक विचार समाज दाङको आयोजनामा वर्तमान राजनीतीक अवस्था र नेपाली कांग्रेसको कार्यदिशा विषयक विचार गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रजातान्त्रिक विचार समाज दाङका अध्यक्ष किशोर पोख्रेलको अध्यक्षता एवं नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले पार्टीलाई सुदृढ र बलियो बनाउन नेतादेखि कार्यकर्ता सबै अनुशासित स्वभाविमानी र नैतिकवान वन्नुपर्ने बताएका थिए । प्रमुख अतिथि खड्काले पार्टीलाई एक ढिक्का बनाएर लैजान भाषणमा मात्र केन्द्रित नभई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले मुलुक प्रयोगशालामा परिणत भएको बताउदै कम्युनिष्टहरुले देशलाई विभिन्न सिस्टम प्रयोग गर्ने प्रयोगशाला बनाइरहेको बताएका छन् । मुलुक अहिले अत्यन्त अप्ठेरो अवस्थामा रहेको बताउँदै मन, बचन र कर्मले पार्टीका लागि जिम्मेवारी वहन गर्नुपर्ने बेला आएको उनले बताए ।
मुलुकमा काँग्रेस कमजोर हँुदा प्रजातन्त्र र लोकतन्त्र नै कमजोर हुने भएकाले वर्तमान अवस्थामा काँग्रेसभित्रको अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्दे काँग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता रहेको गौतमले जोड दिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले काँग्रेसलाई बलियो बनाउन नेतादेखि कार्यकर्तासम्मको सोंच परिवर्तन गर्न जरुरी रहेको, गुट र उपगुटबाट पार्टीलाई मुक्त बनाउनुपर्ने, पार्टीको चुनावभन्दा अन्य चुनावलाई फरक ढंगले लैजानुपर्ने, अप्ठेरो अवस्थामा पार्टीलाई जोगाउन वौद्धिक जगतले मुख खोलेर सही दिशानिर्देश गर्नुपर्ने, व्यक्तिमा भोट हाल्ने प्रवृतीको अन्त्य गर्दै रुखमा भोट हाल्ने सोंचको विकास गर्न जरुरी रहेको, सक्रिय सदस्यता वितरणलाई मापदण्ड बनाएर वितरण गर्नुपर्ने, वर्तमान समयमा भैरहेका विकृति र विसंगतिका विरुद्ध पार्टीले खबरदारी गर्नुपर्ने, पार्टी संगठन संरचना र कार्यक्रम गाउँमुखी, जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रजातान्त्रिक विचार समाज दाङकी उपाध्यक्ष वसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वीपी चिन्तन केन्द्र दाङका अधयक्ष विनोद पोख्रेलले प्रजातान्त्रिक संस्थाहरु जति बलियो भए मुलुकमा प्रजतान्त्र लोकतन्त्र उति बलियो हुने भएकाले प्रजातान्त्रिक संस्थाहरु बलियो बन्नुपर्ने बताएका थिए । आफैमा अलमल परेको काँग्रेसले प्रजातान्त्रिक संस्थाहरुलाई कसरी सक्रिय बनाउने भन्ने प्रश्न उठिरहेका बेला वौद्धिक जगतले काँग्रेसलाई सही दिशानिर्देश गर्नुपर्ने उनले बताए ।
नेपाली काँग्रेस निवर्तमान जिल्ला सचिव कमल किशोर घिमिरेले मुलुकमा लोकतन्त्र अप्ठेरोमा परेका बेला नेपाली काँग्रेसलाई चारैतिरबार्ट एक्ल्याउने प्रयास भैरहेको वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगी, नेपाल संस्कृत विश्वविद्यालयका सह–प्रशासक डा हिमलाल पन्थी, प्रजातन्त्रवादी प्राध्यापक संघका जिल्ला संयोजक प्राध्यापक दिनेश भट्टराई, प्रजातान्त्रिक कानुन व्यवसायी संघका जिल्ला उपाधयक्ष गोपालप्रसाद भुसाल, नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष अनिता केसी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य शुलोचना गौतम, गणेशमान प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसी राना, यादव सेवा समाज दाङका अध्यक्ष भगवानदास यादव, लगायतले बोलेका थिए । कार्यक्रममा बिष्णुमणी दाहाल ले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण केशवराज पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *