सपना बोहरा
घोराही, १७ फागुन । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सभापति डा. केदारनरसिंह केसीले लोकतन्त्रको संरक्षण र विकासका लागि प्रजातान्त्रिक सिद्धान्तमा दृढता आवश्यक रहेको बताएका छन् ।
लोकतन्त्रका कुरा गर्ने तर व्यवहारमा लागू नगर्ने प्रवृत्तिका कारण देशको ठूलो प्रजातान्त्रिक पार्टी कमजोर भएको भन्दै कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीका नेतादेखि कार्यकर्ताहरू पार्टीको सिद्धान्त अडिक हुनुपर्ने बताएका थिए । ‘प्रजातन्त्र नमान्नेहरूले नै देशमा प्रजातन्त्रको मुकुण्डो लगाएर शासन गरिरहेका छन्’ प्रजातान्त्रिक विचार समाज दाङको तेस्रो साधारणसभा तथा प्रजातान्त्रिक विचार समाज लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै केसीले भने ‘त्यसलाई प्रजातन्त्रवादीले उदाङ्गो पार्नुपर्छ ।’
प्रजातान्त्रिक विचारलाई व्यवहारमा ल्याउनसके मात्र प्रजातान्त्रको विकास हुने बताएका थिए । प्रजातान्त्रिक विचारलाई बलियो बनाउन विचारको लडाई भएको बताए । प्रजातन्त्रलाई बलियो बनाउनका लागि हरेक व्यक्तिहरूले प्रजातन्त्रलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले प्रजातन्त्र विचारलाई आत्मसात् गर्नुपर्ने बताए । ‘म प्रजातन्त्रवादी हुँ भन्ने तर व्यवहारमा नदेखाउने प्रवृत्ति छ’ कार्यक्रममा उनले भने ‘त्यस्तो व्यक्ति प्रजातन्त्रवादी हुनै सक्दैन् ।’
प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय महासचिव गोकर्ण अर्याल, प्रजातान्त्रिक विचार समाज लुम्बिनी प्रदेशका अध्यक्ष शंकरदिवस मजगैयाँ, प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश अध्यक्ष अकलदेव मिश्र, प्रजातान्त्रिक विचार समाज कर्णाली प्रदेश अध्यक्ष ध्रुवबहादुर मल्ल, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल प्रेस युनियन पूर्वअध्यक्ष मुरारीकुमार शर्मा, नवलपरासी जिल्ला अध्यक्ष रामबिलाश पौडेल, दाङका निवर्तमान अध्यक्ष किशोर पोख्रेललगायतले बोलेका थिए ।
प्रजातान्त्रिक विचार समाज दाङका जिल्ला उपाध्यक्ष गोपालप्रसाद भुसालको स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसैबीच महासंघको अधिवेशनले शंकरदिवस मजगैयाँको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यस्मिति चयन गरेको छ ।