पोषणका लागि खाद्य सुरक्षा

मुख्य खबर समाज

 
घोराही, २ मंसिर पोषण सुरक्षाका लागि खाद्य सुरक्षालाई बलियो बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । दाङमा पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम सञ्चालन गर्दै आएको ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले आइतबार घोराहीमा कृषि र पशु सेवाका विषयमा गरेको समीक्षा कार्यक्रममा सरोकारवालाहरूले खाद्य सुरक्षालाई बलियो बनाए मात्रै पोषणमा सुधार ल्याउन सकिने बताएका हुन् ।
व्यक्ति स्वस्थ भएमात्रै सामाजिक र देशको विकास दीगो हुने भन्दै खाद्य र पोषण सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले संविधानका खाद्य सुरक्षालाई अधिकारका रूपमा स्थापित गरेको भन्दै घर–घरबाट पोषणयुक्त खाद्यान्नको उत्पादन थाल्नुपर्ने बताए ।
सन्तुलित र पोषणयुक्त खानाले मात्रै व्यक्ति स्वस्थ हुने भएकाले घरमै अग्र्यानिक खाद्यवस्तुहरूको उत्पादन गरेर पोषणमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । रैथाने बालीको संरक्षण र खेती गरी पोषिलो खाना खाएर निरोगी बन्ने अभियानलाई मिसनका रूपमा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. वेदबहादुर केसीले पोषिलो खाना नै स्वस्थ जीवनको आधार भएको बताए । खाद्य सुरक्षा नै पोषणको आधार भएको भन्दै पशुपंक्षी पालनमा पनि अभियानमुखी मिसन बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सुआहाराका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत सेतलाल डाँगीले कुपोषणकै कारण मानिसको स्वास्थ्यमा विभिन्न समस्याहरू आउने बताए ।
त्यसैगरी पोषण अधिकृत लिलाबहादुर नेपालीले एक घर एक करेसाबारीको अवधारणा ल्याउन आवश्यक रहेको बताए । खाना खाने नाममा सन्तुलित नहुँदा पनि फाइदा नगर्ने भन्दै स्वास्थ्यलाई आवश्यक पर्ने खानालाई सन्तुलित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न गाउँबाट आएका किसानहरूले कृषकलाई सरकारले लगानी नै गर्न नसकेको बताएका छन् । खेती गर्न चाहे पनि सरकारले पर्याप्त सहयोग गर्न नसकेको भन्दै उनीहरूले कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *